• बुधबार, ३१ भाद्र २०८३
  • नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग

    नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग

    सबलनेपाल संवाददाता
    भाद्र १६ २०८३, मंगलबार
    काठमाडौँ:
    नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नाइमाले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको हो।
    विपद्को घडीमा संस्थाका सदस्य कम्पनीहरूले सुरुवाती चरणदेखि नै आर्थिक, यातायात तथा लजिस्टिक सहयोगमार्फत उद्धार तथा राहत कार्यमा योगदान पुर्‍याउँदै आएको नाइमाले जनाएको छ।
    नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व भएको बताएका छन्। “यस विपद्‌मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनु भएका हाम्रा सम्पूर्ण सदस्य कम्पनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,” अध्यक्ष वैद्यले भने, “सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सक्छ।”
    विज्ञप्तिमार्फत संस्थाले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
    यसका साथै, खोज, उद्धार तथा राहत कार्यमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको उच्च सम्मान गर्दै नाइमाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमताअनुसार प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह समेत गरेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij