• आइतबार, १४ भाद्र २०८३
  • किस्ट र भारतको मेदान्ता अस्पतालको सहकार्यमा बाल शल्यचिकित्सासम्बन्धी अन्तरक्रिया सम्पन्न

    किस्ट र भारतको मेदान्ता अस्पतालको सहकार्यमा बाल शल्यचिकित्सासम्बन्धी अन्तरक्रिया सम्पन्न

    सबलनेपाल संवाददाता
    भाद्र ८ २०८३, सोमबार
    ललितपुर ।किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामबीचको सहकार्यमा बाल शल्यचिकित्सा तथा बाल युरोलोजीसम्बन्धी विशेष शैक्षिक तथा चिकित्सकीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ‘किस्टमेदान्ता क्लिनिको सर्जिकल एक्सिलेन्स कोलाबोरेसन’ अन्तर्गत आयोजित उक्त कार्यक्रममा बालबालिकामा देखिने जटिल शल्य तथा युरोलोजिकल समस्या र तिनको आधुनिक उपचार पद्धतिबारे चिकित्सकहरूबीच ज्ञान तथा अनुभव आदानप्रदान गरिएको हो।
    कार्यक्रममा भारतको मेदान्ता अस्पतालका बाल शल्यचिकित्सक तथा बाल युरोलोजिस्ट डा. सन्दीपकुमार सिन्हाले बाल शल्यचिकित्साका आधुनिक आयाम, उपचारका क्रममा अपनाउनुपर्ने दृष्टिकोण तथा जटिल अवस्थाको व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
    अस्पतालका अनुसार नेपालमै गुणस्तरीय र विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यो साझेदारी अघि बढाइएको हो। किस्ट टिचिङ हस्पिटलमा उपलब्ध अनुभवी बहुविषयगत चिकित्सकीय टोली र क्लिनिकल संरचनालाई अन्तर्राष्ट्रिय विशेषज्ञतासँग जोडेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाइएको अस्पतालले जनाएको छ।
    यस सहकार्यमार्फत जटिल स्वास्थ्य समस्या भएका बिरामीहरूका लागि दोस्रो विशेषज्ञ राय (सेकेन्ड ओपिनियन) तथा दूरचिकित्सा (टेलिमेडिसिन) सेवासमेत नियमित रूपमा उपलब्ध गराइँदै आएको छ।
    किस्ट टिचिङ हस्पिटलले यस सहकार्यलाई शैक्षिक आदानप्रदानसँगै प्रत्यक्ष बिरामी उपचारको गुणस्तर सुधारमा केन्द्रित गर्दै आगामी दिनमा पनि अन्य विशेषज्ञ विधामा यस्ता अन्तरक्रिया र परामर्श सेवालाई निरन्तरता दिने जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij