काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आयोजनामा बृहत् शैक्षिक विमर्श ‘इक्यान एडुक्लेभ ४.०’ सुरु भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै इक्यानका निवर्तमान अध्यक्ष राज भट्टराईले वैदेशिक अध्ययन अब ‘विदेश जाने’ विषयमा मात्र सीमित नरही नेपाली समाजको शिक्षा, रोजगारी, अन्तरपुस्ता गतिशीलता र विश्वव्यापी नागरिकतासँग जोडिएको ठूलो सामाजिक रणनीति बनिसकेको बताएका छन्।
भट्टराईले नेपालमा अन्तर्राष्ट्रिय शिक्षाको उदय आफैँमा एउटा महत्त्वपूर्ण सामाजिक परिघटना भएको उल्लेख गरे। सन् २०१० पछिको अवधिलाई नेपालको शैक्षिक गतिशीलताको निर्णायक मोडका रूपमा चित्रण गर्दै उनले भने, “विगतमा सीमित सम्भ्रान्त (इलिट) वर्गको शैक्षिक विशेषाधिकारका रूपमा रहेको अन्तर्राष्ट्रिय शिक्षा अहिले व्यापक मध्यम वर्गको साझा आकाङ्क्षामा रूपान्तरण भएको छ।”
शैक्षिक परामर्श क्षेत्र (कन्सल्टेन्सी) लाई विदेश विद्यार्थी पठाउने व्यवसायका रूपमा मात्र नबुझी, विश्वव्यापी शैक्षिक प्रणाली (ग्लोबल एजुकेसन इकोसिस्टम) सँग नेपाललाई जोड्ने संस्थागत पूर्वाधार (इन्फ्रास्ट्रक्चर) का रूपमा बुझ्नुपर्नेमा उनले जोड दिए।
कुनै समय भारत मात्र नेपाली विद्यार्थीको स्वाभाविक र अपरिहार्य शैक्षिक गन्तव्य रहेकोमा आज अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, जापान, कोरियालगायतका देशहरूसम्म फैलिएको भट्टराईले बताए। यसलाई भौगोलिक गन्तव्यको विस्तारका रूपमा मात्र नभई, स्थानीय अवसरको सीमाभन्दा बाहिर ज्ञान, सीप, व्यावसायिक गतिशीलता र जीवनका नयाँ सम्भावनाहरू खोज्ने नेपाली समाजको चेतनाको विस्तारका रूपमा हेरिनुपर्ने उनको भनाइ छ।
विद्यार्थीको माग, विदेशी विश्वविद्यालयको आपूर्ति, अध्यागमन प्रणाली र विश्वव्यापी श्रम बजारबीच समन्वय गर्नकै लागि इक्यानजस्ता संस्थागत संरचनाको उदय भएको उनले स्पष्ट पारे।
शिक्षा क्षेत्रमा भइरहेको यति ठूलो रूपान्तरणलाई समग्र रूपमा बुझ्न र भविष्यबारे गम्भीर संवाद गर्न ‘एडुक्लेभ’ को जन्म भएको भट्टराईले प्रस्ट पारे। विगतमा शैक्षिक ‘इकोसिस्टम’ खण्डित रहेको र गतिविधिहरू भए पनि गम्भीर संवाद नभएको अवस्थामा सरकार, राजनीतिक दल, प्राज्ञिक क्षेत्र, उद्योग, मिडिया र युवा पुस्तालाई एउटै बौद्धिक थलोमा ल्याउनु एडुक्लेभको मुख्य उद्देश्य रहेको उनले बताए। “हाम्रो उद्देश्य सबैलाई एउटै निष्कर्षमा पुर्याउनु होइन, सही प्रश्न उठाउनु हो,” भट्टराईले भने।
एडुक्लेभले विगतका समस्यामा मात्र सीमित नरही बदलिँदो विश्वव्यापी परिदृश्य, ‘नलेज इकोनोमी’ र ‘स्टडी इन नेपाल’ को सम्भावनामाथि पनि निरन्तर बहस गर्दै आएको छ।
साथै, नयाँ पुस्ता (जेन-जी) लाई केवल जनसाङ्ख्यिक वर्गका रूपमा मात्र नहेरी राज्यप्रतिको उनीहरूको बदलिँदो अपेक्षा र राजनीतिक मनोविज्ञानका रूपमा बुझ्नुपर्ने आवश्यकता कार्यक्रममा औँल्याइएको छ। “हाम्रा संस्थाहरूले भविष्यको नेतृत्व गर्ने पुस्तालाई सुनिरहेका छन् त?” भन्ने प्रश्न एडुक्लेभले निरन्तर उठाइरहेको र नेपालको पछिल्लो युवा आन्दोलनलाई बुझ्न पनि यस्ता विमर्श महत्त्वपूर्ण रहेको भट्टराईले स्मरण गराए।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
विपदमा जोडिएको मानवीय नाता: छोटो सूचनामै १०७ जनाले दिए रगत
-
बाढीपहिरो प्रभावितलाई १५ लाख सहयोग गर्ने इक्यानको घोषणा, ३०औं स्थापना दिवसका कार्यक्रम स्थगित
-
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान
-
रसुवा बाढी: टिमुरेबाट ११६ जनाको सकुशल उद्धार, राहत र उद्धार कार्य तीव्र पारिएको प्रधानमन्त्रीको भनाइ
-
चीनको तिब्बतबाट आएको भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति : तटीय क्षेत्रमा उच्च सतर्कता, उद्धारमा सेनाको हेलिकप्टर
-
विदेश जाने विद्यार्थीलाई गन्तव्यसम्मै सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता
-
स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ सुरु: नीतिगत स्थिरता र स्वदेशी उत्पादनमा जोड
-
सवारी साधनलाई विलासिताको वस्तु नठान्न सरकारलाई व्यवसायीको आग्रह, अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको माग
-
नाडा अटो शो २०२६ को तयारी पूरा: भोलि उद्घाटन हुँदै, दुई स्थानमा पार्किङ
-
किस्ट र भारतको मेदान्ता अस्पतालको सहकार्यमा बाल शल्यचिकित्सासम्बन्धी अन्तरक्रिया सम्पन्न