• सोमबार, १० कार्तिक २०८३
  • मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”

    मन्त्री भइसकेकी श्रद्धा श्रेष्ठ पर्यटन बोर्डको सीइओको दौडमा, भन्छिन् “म पद बोकेर निष्क्रिय बस्ने मान्छे होइन”

    दीपा रेग्मी
    असोज १२ २०८३, सोमबार

    काठमाडौँ। नेपालको राजनीतिक र प्रशासनिक वृत्तमा एउटा अलिखित तर अत्यन्तै जब्बर नियम स्थापित छ। त्यो नियम हो ‘एकपटक सत्ताको सिँढी चढेर मन्त्री भइसकेपछि सधैँ माथिल्लै ओहोदामा बस्नुपर्छ, शक्ति केन्द्रकै वरिपरि घुम्नुपर्छ र राज्यको दोहन गरिरहनुपर्छ।’ हाम्रो समाजले पनि यस्तै भाष्य निर्माण गरिदिएको छ। एकपटक मन्त्री वा ठुलो पदमा पुगेको व्यक्ति फेरि सामान्य नागरिकको जीवनमा फर्किनु, पुरानै पेसामा लाग्नु वा खुला प्रतिस्पर्धामा उत्रिनुलाई यहाँ ‘इज्जत गएको’ वा ‘सकिएको’ अर्थमा बुझिन्छ। पूर्वविशिष्टको पगरी गुथेर राज्यको ढुकुटीबाट आजीवन सुविधा लिने, सल्लाहकार, राजदूत वा अन्य कुनै राजनीतिक नियुक्ति ताक्ने र ‘माननीय’ कहलिनमै रमाउने परिपाटी यहाँ यति सामान्य भइसकेको छ कि, सत्ताबाट बाहिरिएर काम खोज्ने कुरा सुन्दा मात्रै पनि धेरैलाई अचम्म लाग्छ।

    तर, नेपाली राजनीतिको यही परम्परा, बलियो ‘इगो’ र ‘भीआईपी सिन्ड्रोम’ को अग्लो पर्खाललाई एकजना पूर्वमन्त्रीले भत्काइदिएकी छन्। उनले आफ्नो एउटै कदमबाट सिङ्गो समाजलाई गतिलो झापड मात्र दिएकी छैनन्, राजनीतिलाई पेसा बनाउनेहरूका लागि एउटा ठुलो पाठ पनि सिकाएकी छन्।

    नेपाल पर्यटन बोर्ड (एनटीबी) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि केही समयअघि खुला दरखास्त आह्वान भयो। साढे तीन दर्जन जतिले आवेदन दिए। ती फाइलहरूबिच एउटा यस्तो नाम समावेश थियो, जसले पर्यटन बोर्डको कार्यालय भृकुटीमण्डपदेखि सिंहदरबारको शक्ति केन्द्रसम्म एउटा नयाँ र रोचक बहस छेडिदियो। त्यो नाम अरू कसैको थिएन, पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठको थियो।

    एउटा पूर्वमन्त्रीले कुनै संस्थाको कार्यकारी पदका लागि अन्य सर्वसाधारण आवेदकसँगै लाइनमा उभिएर परीक्षा दिने, अन्तर्वार्ताको तयारी गर्ने र खुला प्रतिस्पर्धामा भाग लिने कुरा नेपाली समाजका लागि ‘अत्यन्तै अनौठो’ र पत्याउनै गाह्रो घटना बन्यो। सामाजिक सञ्जालदेखि चियापसलका गफहरूमा एउटै प्रश्न उठ्न थाल्यो। “मन्त्री भइसकेको मान्छेले त्योभन्दा तल्लो पोस्टमा किन काम गर्न खोजेको होला? के उनलाई पूर्वमन्त्रीको इज्जतको ख्याल भएन? मन्त्री भइसकेपछि फेरि सीइओ किन?”

    धेरैका लागि यो ‘पदबाट तल झरेको’ वा ‘हैसियत बिर्सेको’ विषय थियो। कतिपयले त यसलाई राजनीतिक स्टन्टको रूपमा पनि अर्थ्याउन खोजे। तर, समाजले उठाएका यी तमाम प्रश्नहरूलाई श्रद्धा श्रेष्ठले निकै स्वाभाविक रूपमा लिइन्। उनले मौनता साँधेर बसिनन्, बरु सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा यस्तो सटिक र शक्तिशाली जवाफ फर्काइन्, जसले नेपाली समाजको पदलोलुप मानसिकतालाई नराम्ररी चिमोट्यो।

    उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रस्ट शब्दमा लेखेकी छन्, “मेरो लागि यसको उत्तर सरल छ। पद कति ठुलो छ भन्नेभन्दा पनि आफ्नो अनुभव, ज्ञान र क्षमतालाई कहाँ सबैभन्दा प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो।”

    उनको यो भनाइले नेपाली राजनीति र समाजमा एउटा नयाँ विमर्शको ढोका खोलेको छ। के मन्त्री पद भनेको जीवनभर भजाएर खाने विशेषाधिकार हो? के राज्यले एकपटक दिएको जिम्मेवारीलाई भर्याङ बनाएर सधैँभरि राज्यकै काँधमा चढिरहनुपर्छ? पक्कै होइन। मन्त्री पद त निश्चित समयका लागि राज्य र जनताले सुम्पेको एउटा सार्वजनिक जिम्मेवारी मात्र हो। त्यो जिम्मेवारी सकिएपछि एउटा असल नागरिक आफ्नो पुरानै दैनिकी र व्यावसायिक कर्ममा फर्किनुपर्छ भन्ने लोकतान्त्रिक संस्कारलाई उनले व्यवहारमै उतारेर देखाइदिएकी छन्।

    नेपालको राजनीतिमा धेरै मानिसहरू राजनीतिलाई नै ‘पेसा’ बनाएर आउँछन्। उनीहरूको आम्दानीको स्रोत पनि राजनीति हुन्छ र जीवनको अन्तिम लक्ष्य पनि सत्ता नै हुन्छ। तर, श्रद्धा श्रेष्ठको राजनीतिक प्रवेशको कथा अलिक फरक थियो। उनी कुनै परम्परागत राजनीतिक पृष्ठभूमिबाट आएकी, वर्षौंसम्म पार्टीको झोला बोकेकी वा गुटको राजनीति गरेर उदाएकी नेतृ थिइनन्।

    आफ्नो फेसबुक स्टाटसमा उनले यो कुरालाई एकदमै प्रस्टसँग खुलाएकी छन्, “म कुनै राजनीतिक पृष्ठभूमि (पोलिटिकल ब्याकग्राउन्ड) बाट आएको होइन। मैले अन्तरिम मन्त्रिपरिषद्मा राजनीतिक यात्रा अघि बढाउने उद्देश्यले प्रवेश गरेको पनि थिइनँ। देशको एउटा असाधारण परिस्थितिमा जेन-जी (नयाँ पुस्ता) का भाइबहिनीहरूले मेरो अनुभव र योगदान आवश्यक छ भनेर आग्रह गर्नुभयो। उहाँहरूको विश्वासलाई सम्मान गर्दै मैले त्यो जिम्मेवारी स्वीकार गरेँ।”

    नेपालको पछिल्लो राजनीतिक इतिहासलाई फर्केर हेर्ने हो भने, जतिबेला देशमा राजनीतिक उथलपुथल थियो, पुराना दलहरूप्रति चरम वितृष्णा थियो र एउटा सङ्क्रमणकालीन अवस्थाबाट देश गुज्रिरहेको थियो, त्यतिबेला विज्ञ र प्राविधिक व्यक्तिहरूको खोजी भएको थियो। समाजका विभिन्न तप्का र विशेषगरी युवा पुस्ता (जेन-जी) ले परम्परागत राजनीतिज्ञहरूको सट्टा काम गर्न सक्ने व्यावसायिक अनुहारहरूलाई अगाडि सार्न दबाब दिएका थिए। त्यही विशेष परिस्थितिमा उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सुम्पिएको थियो। युवा पुस्ताको म्यान्डेट बोकेर मन्त्रालय पुगेकी उनले आफूलाई दिइएको निश्चित जिम्मेवारी कुशलतापूर्वक पूरा गरिन् र चुपचाप त्यहाँबाट बिदा भइन्।

    “हामीलाई दिइएको निश्चित म्यान्डेट पूरा गर्‍यौँ र त्यो अध्याय समाप्त भएपछि म पुनः नागरिक जीवन र आफ्नो व्यावसायिक क्षेत्रतर्फ फर्किएको छु,” उनले भनेकी छन्।

    मन्त्री पदको मात र सत्ताको नशाबाट बाहिर निस्केर एउटा सामान्य नागरिकको जीवनमा फर्किनु अनि फेरि आफ्नै पुरानो पेसामा लाग्नु विश्वका विकसित लोकतान्त्रिक देशहरूमा एकदमै सामान्य मानिन्छ। बेलायत, अमेरिका वा नर्डिक देशहरूमा हिजोका प्रधानमन्त्री वा मन्त्रीहरू आज विश्वविद्यालयमा पढाइरहेका हुन्छन्, कफी सप चलाइरहेका हुन्छन् वा कुनै कर्पोरेट हाउसमा काम गरिरहेका हुन्छन्। तर, नेपालजस्तो देश जहाँ एउटा वडाध्यक्ष जित्नेले पनि जिन्दगीभर रवाफ देखाउँछ, त्यहाँ एउटी पूर्वमन्त्रीले सीइओको फारम भर्नु भनेको साँच्चिकै एउटा ठुलो वैचारिक क्रान्ति हो।

    कतिपयले उनले सीइओमा आवेदन दिनुलाई ‘मन्त्री भइसकेको मान्छे तल झर्यो’ भनेर विश्लेषण गरे। तर, वास्तविकता र उनको पेसागत इतिहास हेर्ने हो भने कथा ठिक उल्टो छ। पर्यटन क्षेत्र भनेको श्रद्धा श्रेष्ठको रगत र पसिना बगेको क्षेत्र हो। उनी राजनीतिमा जानुअघि पनि यही क्षेत्रमा स्थापित नाम थिइन्।

    उनको पृष्ठभूमि हेर्दा जो कोही पनि प्रभावित हुन्छ। राजनीतिमा प्रवेश गर्नुअघि उनी स्वयं नेपाल पर्यटन बोर्डकै वरिष्ठ प्रबन्धक (सिनियर म्यानेजर) का रूपमा कार्यरत थिइन्। उनले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियकरण गर्न, ब्रान्डिङ गर्न र विभिन्न सङ्कटका बेला पर्यटन क्षेत्रलाई उकास्न ठुलो भूमिका खेलेकी छन्। पोखराको पर्यटन बोर्ड प्रमुख हुँदा उनले देखाएको कार्यकुशलतादेखि लिएर दिगो पर्यटन परियोजना र कोभिड-१९ को विश्वव्यापी महामारीका बेला ‘टुरिजम क्राइसिस म्यानेजमेन्ट’ सम्ममा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्।

    त्यसैले, पर्यटन बोर्डको सीइओको दौडमा उनी सामेल हुनु भनेको कुनै नयाँ जागिरको खोजीमा भौँतारिनु होइन, न त यो कुनै हैसियत बिर्सेर तल झरेको कदम हो। यो त विशुद्ध रूपमा आफ्नो दुई दशक लामो विज्ञता भएको आफ्नै ‘घर’ मा फर्किनु हो।

    उनले आफ्नो स्पष्ट दृष्टिकोण राख्दै लेखेकी छन्, “पर्यटनसँगको मेरो सम्बन्ध दुई दशकभन्दा पुरानो हो। नेपाल पर्यटन बोर्डमा काम गर्दादेखि पर्यटन प्रवर्द्धन, मार्केटिङ, ब्रान्डिङ, रणनीति, गन्तव्य विकास र सङ्कट व्यवस्थापनसम्मका क्षेत्रमा काम गर्ने अवसर पाएको छु। त्यसैले सीइओ पदमा आवेदन दिनु मेरो लागि कुनै पदबाट तल झर्नु होइन, बरु आफ्नो अनुभव र विशेषज्ञता रहेको क्षेत्रतर्फ फर्किनु हो।”

    नेपालमा धेरै पूर्वमन्त्रीहरू आफूलाई कुनै ठुलो ‘थिङ्क ट्याङ्क’ वा सल्लाहकारको रूपमा मात्र प्रस्तुत गर्न चाहन्छन्। मन्त्री भइसकेपछि अब आफूले काम गर्ने होइन, अरूलाई अर्ती उपदेश दिने हो भन्ने भ्रम धेरैमा छ। काम आफैँले फिल्डमा खटेर गर्नुभन्दा पनि सेमिनार र गोष्ठीहरूमा प्रमुख अतिथि बनेर भाषण छाँट्ने प्रवृत्ति यहाँ हाबी छ। तर, श्रद्धा आफूलाई सिद्धान्तकार (थिओरिस्ट) भन्दा पनि कार्यान्वयनकर्ता (एक्जिक्युटर/इम्प्लिमेन्टर) मान्छिन्।

    उनको यही स्वभावले उनलाई अरूभन्दा अलग बनाएको छ। “म आफूलाई सधैँ एक्जिक्युटर वा इम्प्लिमेन्टरको रूपमा हेर्छु। योजना बनाउने मात्र होइन, त्यसलाई परिणाममा रूपान्तरण गर्नु मेरो विश्वास हो,” उनको यो भनाइले उनी कुर्सीमा बसेर निर्देशन दिने मात्र होइन, फिल्डमै खटेर नतिजा देखाउन चाहने जुझारु व्यक्ति हुन् भन्ने प्रमाणित गर्छ।

    उनले नेपाली समाजको खोक्रो इज्जत र पूर्वविशिष्टहरूको मानसिकतामाथि प्रहार गर्दै जुन तर्क राखेकी छन्, त्यो साँच्चै नै मननयोग्य छ। उनले लेखेकी छन्, “म पूर्वमन्त्रीको पदवी बोकेर जीवनभर निष्क्रिय बसिरहने व्यक्ति होइन। भविष्यमा कुनै न कुनै ‘माननीय’ पद वा सम्मानजनक जिम्मेवारी सहजै प्राप्त हुन सक्ला। तर प्रश्न यो हो— त्यसले मेरो अनुभव, क्षमता र विशेषज्ञतालाई वास्तवमै कति उपयोग गर्न सक्छ?”

    उनको यो एउटै प्रश्नले ती सम्पूर्ण नेता, पूर्वमन्त्री र प्रशासकहरूलाई निरुत्तर बनाइदिएको छ, जो केवल ‘पद’ र ‘सुविधा’ का लागि राज्यको मुख ताकेर बसेका छन्। उनलाई ‘पूर्वमन्त्री’ भनेर चिनिनुमा कुनै गर्व छैन, जति गर्व नेपालको पर्यटन क्षेत्रमा केही ठोस परिवर्तन र परिणाम दिन सक्ने व्यक्तिका रूपमा चिनिनुमा छ। यो भनेको कामप्रतिको अगाध माया र आफ्नो पेसाप्रतिको चरम सम्मान हो।

    नेपाल पर्यटन बोर्डको सीइओ छनोटको यो प्रक्रिया अब एउटा सामान्य जागिरको अन्तर्वार्ता वा परीक्षा मात्र रहेन। यो नेपालको सिङ्गो प्रणाली, व्यावसायिकता र लोकतान्त्रिक संस्कारको एउटा ठुलो लिटमस टेस्ट बनेको छ। राजनीतिक भागबन्डा, नातावाद र कृपावादले गाँजेको हाम्रो प्रणालीले एउटा यस्तो उम्मेदवारलाई कसरी लिन्छ जसले आफ्नो राजनीतिक जलप उतारेर विशुद्ध व्यावसायिक धरातलमा उभिने साहस गरेकी छन्? यो हेर्न बाँकी नै छ।

    तर, नतिजा जेसुकै आओस्, श्रद्धाले प्रतिस्पर्धाको नतिजालाई सहज रूपमा स्वीकार गर्ने उच्च व्यावसायिकता (प्रोफेसनलिजम) भने पहिल्यै देखाइसकेकी छन्। उनले निकै शालीनतापूर्वक भनेकी छन्, “निर्णय निष्पक्ष र व्यावसायिक प्रक्रियाबाट होस्। अवसर पाए जिम्मेवारीपूर्वक काम गर्नेछु, नपाए पनि पर्यटन क्षेत्रमा मेरो योगदान निरन्तर रहनेछ। किनकि मेरो लागि पद गन्तव्य होइन, काम र परिणाम नै गन्तव्य हो।”

    अन्ततः, श्रद्धा श्रेष्ठको यो साहसिक कदमले नेपालमा एउटा नयाँ मानक (बेन्चमार्क) खडा गरिदिएको छ। राजनीतिलाई पेसा ठान्नेहरूलाई यसले राजनीति केवल एउटा सेवा हो र निश्चित समयपछि आफ्नो वास्तविक पेसामा फर्किनुपर्छ भन्ने सन्देश दिएको छ। यदि पर्यटन बोर्डको यो छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र राजनीतिक हस्तक्षेपमुक्त हुन सक्यो भने, यसले भविष्यमा राजनीतिबाट बाहिरिएका अन्य इमानदार र योग्य व्यक्तिहरूलाई पनि आफ्नो व्यावसायिक करियरमा फर्किन र देश निर्माणमा प्राविधिक योगदान दिन पक्कै प्रेरित गर्नेछ।

    साँच्चै नै, जब कोही व्यक्तिले आफ्नो ‘इगो’, ‘विशेषाधिकार’ र खोक्रो ‘प्रतिष्ठा’ भन्दा माथि उठेर ‘देशको आवश्यकता’ र ‘आफ्नो विज्ञता’ लाई चुन्छ, तब यस्तै सुन्दर र प्रेरणादायी कथाहरूको जन्म हुन्छ। मन्त्रीको ट्याग भिरेर राज्यको दोहन गर्न लालायित हुनेहरूको भिडमा, आफ्नो अनुभव र योग्यताको बलमा खुला प्रतिस्पर्धाबाट देशको पर्यटन क्षेत्र हाँक्न तम्सिएकी श्रद्धा श्रेष्ठको यो कदमले हरेक स्वाभिमानी र काममा विश्वास गर्ने नेपालीलाई एकपटक गर्वले “वाउ!” भन्न बाध्य बनाएको छ। उनको यो स्पिरिटलाई सलाम!


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij