• सोमबार, १० कार्तिक २०८३
  • बाढीको प्रभावका बाबजुद तीन महिनामा सवा १६ अर्बको विद्युत् निर्यात, असोजमै झण्डै ६ अर्ब आम्दानी

    बाढीको प्रभावका बाबजुद तीन महिनामा सवा १६ अर्बको विद्युत् निर्यात, असोजमै झण्डै ६ अर्ब आम्दानी

    सबलनेपाल संवाददाता
    कार्तिक ९ २०८३, आइतबार
    काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा नेपाल विद्युत् प्राधिकरणले १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। विनाशकारी भोटेकोशी बाढीले दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्‍याए पनि प्राधिकरणले असोज महिनामा मात्रै भारततर्फ झण्डै ६ अर्ब रुपैयाँको विद्युत् बिक्री गर्न सफल भएको छ।
    प्राधिकरणको तथ्यांकअनुसार, असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी भएको छ। यो आम्दानी गत वर्षको असोजको तुलनामा ९६ करोड २० लाख रुपैयाँ र चालु वर्षको भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढी हो। प्राधिकरणले भारतको हरियाणा र बिहारमा द्विपक्षीय सम्झौता तथा भारतीय ऊर्जा विनिमय बजार (IEX) मार्फत यो विद्युत् बिक्री गरिरहेको छ।
    यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ। बाढीका कारण त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुगेपछि रोकिएको निर्यातलाई प्राधिकरणले वैकल्पिक आयोजनाको विद्युत् बिक्री गर्ने अनुमति पाएपछि सुचारु गरेको हो।
    हालै भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट निर्यात अनुमति प्राप्त भएसँगै भारततर्फ विद्युत् निर्यात गर्न स्वीकृत नेपालको कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij