• आइतबार, २५ असोज २०८३
  • सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे

    सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी फुट्दा लेदोसहितको भीषण बाढी, दुईवटा झोलुंगे र एक पक्की पुल बगे

    सबलनेपाल संवाददाता
    असोज २५ २०८३, आइतबार
    गोरखा। गोरखाको उपल्लो क्षेत्रस्थित चुमनुब्री गाउँपालिका ३ फिलिममा सुक्खा पहिरोले बूढीगण्डकी नदीको बहाव थुनेपछि लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ।
    आइतबार बिहानै नदीको बहाव रोकिएको खबर पाएपछि खटिएको नेपाली सेनाको रुद्रध्वज गणको टोलीले पहिरोका कारण नदी थुनिएको पुष्टि गरेको थियो। पछि पहिरोको बाँध फुटेर आएको लेदोसहितको ठूलो बाढीले तल्लो तटीय क्षेत्रमा व्यापक भौतिक क्षति पुर्‍याएको छ। बाढीले चुमनुब्रीको न्याकचेत सिर्दिबास र धार्चेको माछिखोला–केरौजा जोड्ने दुईवटा झोलुंगे पुल बगाउनुका साथै गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको भागमा समेत क्षति पुर्‍याएको छ।
    यसबाहेक धार्चे गाउँपालिका ३ सल्लेरीमा निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको पावर हाउस तथा आसपासका ८ देखि १० वटा घर टहराहरू बाढीले बगाएको छ भने अन्य २२ भन्दा बढी घरहरू उच्च जोखिममा परेका छन्। बाढीको जोखिममा परेका चुमनुब्री ३ जगत क्षेत्रका ६ जना स्थानीयलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ र हालसम्म मानवीय क्षतिको खबर प्राप्त भएको छैन।
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो बाढीको प्रकृति भदौमा आएको रसुवा–भोटेकोशी बाढीसँग मिल्दोदोजुल्दो रहेकाले वास्तविक कारण र थप क्षति पत्ता लगाउन drone सहितको प्राविधिक टोली माथिल्लो क्षेत्रमा परिचालन गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij