• बुधबार, ३१ भाद्र २०८३
  • वित्तीय प्रणालीबाट सवा खर्ब खिच्दै राष्ट्र बैंक

    वित्तीय प्रणालीबाट सवा खर्ब खिच्दै राष्ट्र बैंक

    सबलनेपाल संवाददाता
    चैत्र २७ २०८२, शुक्रबार

    काठमाडौं-  नेपाल राष्ट्र बैंक ले वित्तीय प्रणालीबाट एक खर्ब २५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले ५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट तान्न लागेको हो।

    राष्ट्र बैंकका अनुसार पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि त्यसको व्यवस्थापन गर्न यस्तो कदम चालिएको हो। बिहीबारसम्म प्रणालीमा करिब ५२ अर्ब रुपैयाँ बराबरको तरलता रहेको जनाइएको छ।

    यसअघि बुधबार मात्रै बैंकले ५६ दिन अवधिको २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको थियो। तर, छोटो अवधिमै पुनः ठूलो रकम खिच्ने निर्णयले बजारमा तरलता सन्तुलन गर्ने प्रयास देखिएको छ।

    केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट स्थायी निक्षेप र निक्षेप संकलनमार्फत राखिएको रकम परिपक्व भएपछि पुनः तान्न नयाँ उपकरण प्रयोग गरेको जनाएको छ। अधिक तरलता हुँदा बैंकहरूले अल्पकालका लागि केन्द्रीय बैंकमा रकम राख्ने प्रचलन रहेको छ।

    निक्षेप संकलन उपकरणमा कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकताका आधारमा रकम बाँडफाँट गरिन्छ। यसले अन्तरबैंक ब्याजदर नियन्त्रण तथा वित्तीय स्थायित्व कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा र रिपो जस्ता उपकरण प्रयोग गर्दै आएको छ। हाल बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ।

    वित्तीय प्रणालीमा तरलता सन्तुलन राख्ने उद्देश्यसहित गरिएको यस कदमले बजार ब्याजदर र कर्जा प्रवाहमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij