• बिहिबार, १ असोज २०८३
  • मधेसमा खडेरीको प्रभाव घटाउन कृषि बाली परिवर्तन गर्न सुझाव

    मधेसमा खडेरीको प्रभाव घटाउन कृषि बाली परिवर्तन गर्न सुझाव

    सबलनेपाल संवाददाता
    साउन १२ २०८२, सोमबार

    काठमाडौं ।मधेस प्रदेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन् । मधेस लगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धान खेती हुँदै आएकामा खडेरीले रोपाईँमा समस्या पर्दै आएको छ । यस कारण खाद्य सुरक्षा जोखिम बढ्ने आँकलनकाबीच सुख्खा स्थान अनुकुल खेती गर्नुपर्ने कृषि विज्ञ डा. कृष्ण पौडेलले  बताए ।

    काठमाडौंमा आज आयोजित जलवायु न्याय सम्बन्धी कार्यक्रममा धारणा राख्दै कृषि विज्ञ पौडेलले मधेस तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको  बताए । कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसायनले माटोको उर्वर शक्ति गुमाएको र त्यसले वातावरण तातो बनाएर हालको खडेरीको समस्या निम्तिएको डा. पौडेलको भनाइ छ ।

    सोही कारण आगामी दिनमा कृषि प्रणाली परिवर्तन गरि तराई क्षेत्रको वातारण चिसो बनाउन हरियाली कायम तर्फ अग्रसर हुनुपर्ने उनकाे भनाई छ । कृषि बालीमा सिर्जित समस्या समाधानका लागि भन्दै सरकारले घोषणा गरेको डिप बोरिङ बनाउने घोषणाले तराईलाई मरभूमी बनाउन सक्ने भएकाले वैकल्पिक उपायतर्फ लाग्नुपर्ने उनकाे भनाइ थियो ।

    यस्तै, कार्यक्रममा वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पती समेत प्रभावित भएकाले ति क्षेत्रका मुद्दा समेत उजागर हुनुपर्ने  बताए । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मद्दा उठाउन बाटो देखाएको उनले बताए ।

    यस्तै, अर्का वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकार लगायत सरोकारवालाले भावी पुस्ताको अधिकारको समेत ध्यान दिनुपर्ने बताउनुभयो । दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन समेत जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने वरिष्ठ अधिवक्ता चापागाईंको भनाई छ । सञ्चारीका समूहकी अध्यक्ष कमला पन्थीले जलवायू न्यायबाट विशेषगरि महिलाहरु प्रभावित भएको  बताए । सुख्खा भएसँगै पानीका लागि लामो यात्रा गर्दा महिलाहरु प्रभावित हुने गरेको उहाँको भनाइ छ । सञ्चारीका समूह र एक्सनएडकले संयुक्त अयोजनामा सो कार्यक्रम भएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij