काठमाडौँ। काठमाडौंको कुनै एक भव्य स्टुडियो। चारैतिर झकिझकाउ बत्तीहरू बलिरहेका छन्। अगाडि लहरै देशका चर्चित सांगीतिक हस्तीहरू (कोच) आफ्नो कुर्सीमा विराजमान छन्। क्यामेराका दर्जनौं लेन्सहरू एउटै मञ्चतर्फ सोझिएका छन्। यस्तो माहोल, जहाँ पुग्दा जो कोहीको पनि मुटुको ढुकढुकी बढ्छ। तर, जब त्यो रंगीन मञ्चमा म्याग्दीको एउटा कुनाबाट आएका १२ वर्षीय बालक हातमा माइक लिएर उभिन्छन्, स्टुडियोको सम्पूर्ण कोलाहल एकाएक शान्त हुन्छ। उनी गीत गाउन थाल्छन्, अनि उनको कलिलो तर जादुमयी स्वरले त्यहाँ उपस्थित सयौं दर्शक र टेलिभिजनको पर्दाबाट हेरिरहेका लाखौं नेपालीको मुटुमा एकैपटक दस्तक दिन्छ।
ती बालक हुन् गण्डकी प्रदेश, म्याग्दी जिल्लाको मंगला गाउँपालिकाका होनहार प्रतिभा, क्रिएसन रोका मगर।
देशभरका हजारौं प्रतिस्पर्धीहरूलाई पछि पार्दै, ब्लाइन्ड अडिसन, ब्याटल राउन्ड र सेमिफाइनलका अग्निपरीक्षाहरू पार गरेर क्रिएसन आज ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ को अन्तिम ८ (फाइनल राउन्ड) मा सानका साथ उभिएका छन्। तर, योकेवलल एउटा गायन प्रतियोगितामा पाएको सफलता मात्र होइन; यो त दूरदराजको एउटा गाउँमा हुर्किएको, औपचारिक रूपमा संगीतको ‘स’ पनि नसिकेको एउटा प्राकृतिक प्रतिभाले देशको राजधानीमा आएर मारेको अद्भूत छलाङ हो। यो कथा एउटा छोराको सफलताको मात्र होइन, एउटा बाबुको वर्षौं पुरानो अधुरो सपनाको पनि हो। एउटी आमाको काँप्ने मुटु र गाउँले माटोको सुगन्धको कथा हो।
तोतेबोलीमै गुन्जिएको सांगीतिक चेत
२०७१ साल वैशाख २५ गते म्याग्दीको बरंजा (हाल मंगला गाउँपालिका वडा नम्बर ७, बीसी) मा जन्मिएका क्रिएसन सानैदेखि अरु बच्चाहरू भन्दा फरक थिए। उनको परिवार एउटा सामान्य, मध्यम वर्गीय तर शिक्षित परिवार हो। बुबा भिम बहादुर रोका कृषक हुन् भने आमा यु कुमारी रोका मंगला माध्यमिक विद्यालयमै पढाउने शिक्षिका हुन्। परिवारमा उनी कान्छा सन्तान हुन्, उनका एक दाजु र एक दिदी छन्।
आमा यु कुमारी आफ्ना पुराना दिनहरू सम्झिँदै भन्छिन्, “बाबुले राम्रोसँग बोल्न (मुख लाग्न) नथाल्दै गीत गाउन थालेको थियो। हामी एकदमै दुर्गममा जागिर खान्थ्यौं। त्यो बेला अहिलेको जस्तो इन्टरनेटको त्यति सहज पहुँच थिएन। बाबुले फिल्महरूमा बजेका गीत सुन्नेबित्तिकै तत्कालै हुबहु कपि गरिदिन्थ्यो।”
स्कुलमा पनि क्रिएसनको बानी अर्कै थियो। आफूले सुनेका गीतहरू गाउनै पर्ने, गाउन नपाए झगडा नै गर्ने उनको जिद्दी थियो। मंगला माध्यमिक विद्यालयमा अहिले कक्षा ८ मा अध्ययनरत क्रिएसन पढाइमा पनि उत्तिकै अब्बल छन्। उनी आफ्नो कक्षामा सधैँ उत्कृष्ट ३ वा ४ भित्र पर्छन्। तर, उनको आत्मा भने सधैँ संगीतसँगै जोडिन्थ्यो। अचम्मको कुरा त के छ भने, उनले कहिल्यै कतै गएर संगीतको कुनै औपचारिक कक्षा लिएनन्। न त हारमोनियमको ‘सा रे ग म’ नै सिके। उनको सांगीतिक पाठशाला भनेकै टेलिभिजनमा बज्ने ‘द भ्वाइस अफ किड्स’ जस्ता कार्यक्रम थिए। त्यही हेरेर, त्यहाँका प्रतिस्पर्धीहरूले गाएको सुनेर उनले आफूलाई निखारे, हुर्काए र आज त्यही सपनाको मञ्चमा आफूलाई उभ्याउन सफल भए।
बाबुको अधुरो सपना र एउटा सानो हारमोनियम
क्रिएसनको सफलतामा सबैभन्दा धेरै कसैको छाती गर्वले चौडा भएको छ भने ती हुन् उनका बुबा, भिम बहादुर रोका। क्रिएसनको यो गायन कला कतै बाहिरबाट आएको होइन, यो उनको रगतमै छ। भिम बहादुर आफैँ पनि गीत-संगीतका ठूला पारखी हुन्। उनी युवावस्थामा पाटन क्याम्पसमा पढ्दा काठमाडौंको गल्लीहरूमा संगीत सिक्ने ठूलो हुटहुटी बोकेर हिँड्थे।
“म पढ्ने बेला पाटन क्याम्पसमा भर्खर-भर्खर म्युजिक सिक्ने अवसरहरू खुलेको थियो। मलाई पनि सिकेर केही गर्छु, म पनि गाउने प्रयास गर्छु भन्ने ठूलो धोको थियो,” भिम बहादुर आफ्नो विगत सम्झिँदा निकै भावुक सुनिन्छन्, “तर त्यो बेला मेरो वातावरण मिलेन, मैले सिक्न पाइनँ। मेरो त्यो रहर रहरमै सीमित भयो। अहिले छोराले मेरो त्यो गुण र सपना दुवै बोकेर हिँडेको छ। मेरो अधुरो सपना आज मेरो छोराले पूरा गर्दैछ।”
बाबुछोरा गाउँमा सँगै हुँदा गीत गाउँदै रमाउँथे। छोराले भ्वाइस किड्सको ब्लाइन्ड अडिसन पार गरेपछि मात्रै, छोराको हौसला बढाउन भिम बहादुरले काठमाडौंबाटै ४-५ हजार रुपैयाँ तिरेर एउटा सानो हारमोनियम किनिदिएका छन्। “बाबुले न सिकेको छ, न मैले सिकाएको छु। यहाँ भ्वाइसमा त देशका कुनाकुनाबाट आएका सबै टोटल्ली संगीत सिकेका मात्रै बच्चाहरू छन्,” बुबा भन्छन्, “२-४ दिन त्यो हारमोनियम चलायो, फेरि यता सुटिङमा आउनुपर्यो। अहिले बाबु यहाँसम्म पुग्दा त हामी आश्चर्यचकितै छौं, हाम्रा लागि यो सोच्नै नसक्ने कुरा भएको छ।”
एउटा पुरानो मोबाइल र कुसुम मिसको त्यो गुन
क्रिएसनको भ्वाइस अफ किड्सको यात्रा सुरु हुनुको कथा पनि निकै मार्मिक छ। जब भ्वाइस अफ किड्सको डिजिटल अडिसन खुल्यो, बाबुछोरामा ट्राइ गर्ने रहर त जाग्यो। तर, एउटा सामान्य कृषक परिवारसँग उच्च गुणस्तरको भिडियो खिच्ने राम्रो स्मार्टफोन थिएन।
यहीँनेर भगवान् बनेर आइपुग्छिन् क्रिएसनको स्कुलकी शिक्षिका ‘कुसुम मिस’। कुसुम मिसले क्रिएसनको प्रतिभा चिनेकी थिइन्। उनले आफ्नै मोबाइलबाट क्रिएसनले गाएको गीत रेकर्ड गरिन् र भ्वाइस अफ किड्सको डिजिटल अडिसनका लागि पठाइदिइन्। यो कुरा आमा यु कुमारीलाई त सुरुमा थाहा पनि थिएन।
“हामीले भिडियो त पठायौं, तर लामो समयसम्म कुनै प्रतिक्रिया आएन। अडिसनको समय नै सकियो कि जस्तो लागेको थियो, आशै मारिसकेका थियौं,” आमा भन्छिन्। तर करिब एक महिनापछि आयोजकबाट भिडियो फरवार्ड गर्न म्यासेज आयो र त्यसको केही दिनपछि फोन आयो। “बधाई छ, बाबु डिजिटल अडिसनमा सेलेक्ट भयो।”
त्यो क्षण रोका परिवारका लागि संसारकै सबैभन्दा ठूलो खुसीको क्षण थियो। ३००० भन्दा बढी प्रतिस्पर्धीबाट छानिएर ७२ जना भित्र पर्दै क्रिएसन काठमाडौंको फिजिकल (ब्लाइन्ड) अडिसनका लागि छानिएका थिए। गाउँको एउटा सानो स्कुलबाट पठाइएको त्यो भिडियोले आज एउटा इतिहास रचिसकेको छ।
आमाको काँप्ने मुटु: नर्भस हुन्छ कि भन्ने पिर
स्टेजमा छोराले गीत गाइरहँदा दर्शकदीर्घामा बस्ने आमाको मुटुको ढुकढुकी कस्तो हुन्छ? यु कुमारीको अनुभव सुन्दा जो कोही अभिभावकको आँखा रसाउँछ।
“बाबु जब स्टेजमा जान्छ, मेरो मुटु चाहिँ भित्रभित्रै काँप्न थाल्छ। हर्ट टु हर्ट कनेक्सन, आमा भनेको यस्तो पो हुँदो रहेछ,” उनी भन्छिन्। क्रिएसन स्वभावले निकै लजालु र कम बोल्ने छन्। आमालाई सधैँ एउटै डर लाग्थ्यो । कतै बाबु नर्भस भएर स्टेजमा गीत बिगार्ने पो हो कि?
तर क्रिएसनले स्टेजमा गएपछि कहिल्यै बिगारेनन्। मञ्चमा उक्लिएपछि उनी भित्रको त्यो लजालुपन एकाएक हराउँछ र एउटा परिपक्व गायकको जन्म हुन्छ। “हामीले ब्लाइन्डमा सेलेक्ट भए पछाडि त्यति धेरै ठूलो सपना देखेका थिएनौं। बाबु त्यो स्टेज मात्रै चढ्यो भने पनि हाम्रो एउटा सपना पूरा हुन्छ भन्ने सोचेका थियौं,” आमा भन्छिन्, “तर आज सयौं संगीत सिकेका बच्चाहरूसँग कुनै पनि संगीतको ‘स’ पनि नसकिकनै बाबुले फाइनलसम्मको यात्रा तय गर्दा एकदमै छाती फुलेर आएको छ।”
गण्डकी प्रदेशको शान: ‘बेनीको बजार’ले जितेको मन
सेमिफाइनलको मञ्चमा जब क्रिएसन नेपाली मौलिक परम्परागत पोसाकमा सजिएर स्टेजमा उक्लिए, माहोल नै अर्कै बन्यो। उनले म्याग्दीकै लोकप्रिय र ऐतिहासिक लोकभाका ‘बेनीको बजार…’ गुन्जाए। उनको गायनमा रहेको त्यो प्राकृतिक मिठास, ठेट पहाडी लय, र अद्भूत आत्मविश्वासले दर्शकलाई मात्र होइन, कोचहरूलाई समेत मन्त्रमुग्ध बनायो।
सुरुवाती चरणदेखि नै कहिले आधुनिक त कहिले लोकभाका गाएर कोच वङ्देन शेर्पाको टोलीबाट आफूलाई बलियो प्रतिस्पर्धी प्रमाणित गरेका क्रिएसनले सेमिफाइनलको प्रस्तुतिमार्फत आफ्नो गाउँ, आफ्नो माटो र सम्पूर्ण गण्डकी प्रदेशको प्रतिनिधित्व गरे। गाउँको एउटा सामान्य स्कुलमा पढ्ने, कहिल्यै कुनै सांगीतिक कक्षा नलिएको एउटा बालकले आज देशकै प्रतिष्ठित मञ्चमा उभिएर गण्डकी प्रदेशको शिर उचो बनाएका छन्। उनको त्यो प्रस्तुतिले प्रमाणित गरिदियो— प्रतिभा सहरका ठूला संगीत विद्यालयमा मात्र हुँदैन, यो त गाउँका पाखापखेरा र हावापानीमा पनि लुकेर बसेको हुन्छ।
“मलाई भोट गरिदिनुहोला” : एउटा गाउँले प्रतिभाको पुकार
आफ्नो लजालु मुस्कानसहित क्रिएसनले आम दर्शकसँग एउटै आग्रह गरेका छन्:
“थाहा छैन के चाहन्छौ… मन दुख्छ कि दुख्दैन…” (गीतको भाकामा)
“नमस्ते! म क्रिएसन रोका मगर, १२ वर्षको। प्लिज मलाई भोट गरिदिनुहोला। खल्तीबाट भोट गरिदिनुहोला, थ्याङ्क्यु!”
यो केवल एउटा प्रतिस्पर्धीले प्रतियोगिता जित्न गरेको भोटको अपिल मात्र होइन; यो त एउटा यस्तो निश्छल बालकको पुकार हो जसले आफ्नो प्राकृतिक गला र प्रतिभालाई देशसामु पस्किएको छ। उनी भन्छन्, “मलाई ठूलो भएर गायक नै बन्नु छ। यहाँबाट नभए पनि मेरो लक्ष्य भनेकै संगीत हो।”
तपाईंको भोट: एउटा सपनाको उडान
क्रिएसन अन्तिम ८ मा पुगिसकेका छन्। अब यहाँबाट अगाडिको यात्रा तय गर्न र भ्वाइस किड्सको ट्रफी उचाल्न उनको जादुमयी स्वर मात्र पर्याप्त छैन। अब उनलाई खाँचो छ । तपाईंको, मेरो र हामी सबैको अमूल्य भोटको।
उनी अहिले भोटिङ राउन्डमा छन्। क्रिएसनलाई जिताउनु भनेको केवल एउटा व्यक्तिलाई जिताउनु होइन। यो त म्याग्दीको त्यो विकट गाउँलाई जिताउनु हो। यो त संगीत सिक्न नपाएर मनमै रहर गुम्साएका ती कृषक बाबु भिम बहादुरको पाटन क्याम्पसदेखिको सपनालाई जिताउनु हो। यो त कुनै पनि स्रोत, साधन र औपचारिक शिक्षा नभईकन पनि आफ्नै बलबुँतामा अघि बढ्न खोज्ने नेपालका हजारौं प्राकृतिक प्रतिभाहरूलाई हौसला दिनु हो।
आमा यु कुमारी हात जोड्दै भन्छिन्, “अहिलेसम्म हजुरहरूले यति धेरै माया दिनुभयो। मैले त चिनेजानेकाले माया मात्रै गर्लान्, भोट त कहाँ पाइएला र सोचेको थिएँ, तर देशभरबाट टन्न भोट दिनुभएको रहेछ। अबको फाइनल राउन्डमा अझै बढी कसरत गर्नुपर्नेछ। म एउटी शिक्षिका हुँ, बिहान १० बजेदेखि ४ बजेसम्म स्कुलमै हुन्छु। एउटी गृहिणी हुँ, घरको काम पनि भ्याउनुपर्छ। सबैलाई घर-घर गएर सम्पर्क गर्न नसकौँला। तर जो-जोसम्म मेरो यो आवाज पुगेको छ, कृपया मेरो बाबुलाई भोट गरेर अगाडि बढाइदिनुहोला।”
गण्डकी प्रदेशका गौरव, म्याग्दीका उदीयमान तारा क्रिएसन रोका मगरलाई अहिले नै Khalti एपमार्फत सकेजति भोट गरौं। खल्ती एप भित्र गएर ‘The Voice Kids Season 5’ मा Kriyasan Roka को प्रोफाइलमा क्लिक गरी आफ्नो अमूल्य भोट दिनुहोस्।
तपाईंको एउटा भोटले एउटा गाउँले प्रतिभाको भविष्य उज्यालो बनाउन सक्छ। तपाईंको एउटा भोटले एउटा बाबुको वर्षौं पुरानो सपना साकार पार्न सक्छ। आउनुहोस्, क्रिएसनलाई भोट गरौं, मौलिकतालाई जिताऔं! प्रतिभालाई न्याय गरौं।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि