• बिहिबार, १ असोज २०८३
  • मृत्युको संघारबाट फर्केर आफैलाई ‘थ्याङ्क यु’ भन्दै मुस्कुराएकी श्रेशु: जसले आफ्नै कपडा पसल खोल्दै ग्राहकलाई भन्छिन्, “धेरै लुगा नकिन्नुस्, दुःखको साथी सुन जोड्नुस्!”

    मृत्युको संघारबाट फर्केर आफैलाई ‘थ्याङ्क यु’ भन्दै मुस्कुराएकी श्रेशु: जसले आफ्नै कपडा पसल खोल्दै ग्राहकलाई भन्छिन्, “धेरै लुगा नकिन्नुस्, दुःखको साथी सुन जोड्नुस्!”

    दीपा रेग्मी
    असार २७ २०८३, शनिबार

    काठमाडौँ। काठमाडौंको व्यस्त र कोलाहलपूर्ण बजार, जहाँ हरेक मानिस कुनै न कुनै दौडमा सामेल छ। पुँजीवादको यो निर्दयी र अन्धो भिडमा सबैलाई एउटै कुराको हतारो छ जसरी हुन्छ आफ्नो सामान बिकाउने, धेरैभन्दा धेरै नाफा कमाउने र ग्राहकको खल्ती रित्याउने। सडकका भित्तादेखि सामाजिक सञ्जालका पानाहरूसम्म विज्ञापनका ठूला-ठूला होर्डिङ बोर्ड र भिडियोहरूले हरेक दिन, हरेक प्रहर चिच्याइ-चिच्याइ भनिरहेका हुन्छन्, “यो किन्नुस्, त्यो किन्नुस्, तपाईंलाई यो नभई हुँदैन!” बजारले मानिसलाई आवश्यकताभन्दा बढी चाहनाको दास बनाइरहेको छ। तर, यही निरन्तरको होडबाजी र स्वार्थपूर्ण व्यापारिक कोलाहलको बीचमा एउटी यस्ती फरक, विद्रोही र अद्भूत पात्रको उदय भएको छ, जसले व्यापारको परम्परागत नियम र मनोविज्ञानलाई नै उल्ट्याइदिएकी छिन्।

    उनी हुन् श्रेशु आचार्य। उनी काठमाडौंको सुकेधारा आसपास क्षेत्रमा एउटा सानदार र भव्य लेडिज कपडा पसल खोल्ने अन्तिम तयारीमा छिन्। तर, उनी आफ्नो पसलको मार्केटिङ गर्न फेसबुक लाइभ र टिकटकमा आएर आफ्ना सम्भावित ग्राहकलाई नै एउटा यस्तो अचम्मको सल्लाह दिन्छिन्, जसले जो कोहीलाई पनि सोच्न बाध्य बनाउँछ। उनी भन्छिन्, “दराजमा नअट्ने गरी जथाभावी लुगा नकिन्नुस्। चारवटा सस्तो र नटिक्ने लुगा किन्नुभन्दा एउटा राम्रो र गुणस्तरीय लुगा किन्नुस्। बाँकी पैसा जोगाउनुस् र आपतका लागि सुनचाँदी किन्नुस्।”

    एउटी कपडा व्यापारीले, जसले भर्खरै नयाँ पसल खोल्न लागेकी छिन्, आफ्नै व्यापार घाटामा पार्ने गरी ग्राहकलाई लुगा नकिन्न र सुनचाँदी जोड्न किन सल्लाह दिइरहेकी छिन्? यो केवल एउटा सामान्य भनाइ होइन। यो त एउटा यस्तो गहिरो जीवनदर्शन हो, जसको जरा उनको आफ्नै विगतको कहालीलाग्दो भोगाइमा जोडिएको छ। यो प्रश्नको उत्तर खोज्दै जाँदा उनको जीवनको एउटा यस्तो दर्दनाक र कहालीलाग्दो पाना पल्टिन्छ, जसले जो कोहीको पनि मन भारी बनाउँछ र आँखा रसाउँछ।

    मानिसको जीवन सधैं उज्यालो घाम लागेको, समथर र फराकिलो राजमार्ग जस्तो हुँदैन। कहिलेकाहीँ जीवनमा यस्ता अप्रत्याशित र अँध्यारा घुम्तीहरू आउँछन्, जसले मानिसलाई सिधै मृत्युको मुखमा पुर्याइदिन्छन्। श्रेशुको जीवनमा पनि एउटा यस्तो समय आएको थियो, जसले उनलाई मृत्युको चिसो ढोकासम्मै पुर्यायो। लामो समयदेखि सुगर (मधुमेह) जस्तो जटिल रोगबाट ग्रसित उनी आफ्नो उपचारको क्रममा एउटा गलत उपचार को फन्दामा पर्न पुगिन्। गलत रोगको पहिचान, गलत सल्लाह र गलत उपचारको त्यो गम्भीर गल्तीले उनलाई शारीरिक र मानसिक रूपमा यसरी थला पार्यो कि उनी जीवन र मृत्युको नितान्त कठिन दोसाँधमा पुगिन्।

    त्यो यस्तो कहालीलाग्दो समय थियो, जतिबेला उनलाई लागेको थियो। “अब सायद म यो धर्तीमा रहन्न। मेरो जिन्दगीको यात्रा, मेरा सपनाहरू र मेरा चाहनाहरू सबै यहीँ सकिँदैछन्।” मृत्युको त्यो चिसो संघारमा उभिँदा मानिसहरू प्रायः हार मान्छन्। सबै आशाहरू टुट्छन्। तर, श्रेशु भित्रको त्यो अदम्य साहस र जिजीविषाले उनलाई हार मान्न दिएन। अस्पतालको त्यो सेतो ओछ्यानमा जीवनसँग संघर्ष गरिरहँदा उनले आफ्ना छोराको निर्दोष अनुहार सम्झिइन्। श्रीमान् र सिङ्गो परिवारको माया सम्झिइन्। परिवारका हरेक सदस्यको ख्याल राख्नुपर्ने, उनीहरूका लागि पनि आफू जसरी पनि बाँच्नुपर्ने र यो लडाइँ जित्नुपर्ने दायित्वबोधले उनलाई भित्रैदेखि एउटा अद्भूत र अकल्पनीय शक्ति दियो।

    सबैभन्दा महत्त्वपूर्ण र मन छुने कुरा त के छ भने, त्यति ठूलो संकट र शारीरिक पीडामा छटपटाउँदा पनि, जीवनको कुनै आश नहुँदा पनि उनले आफ्नो इमानदारीको दामन कहिल्यै छोडिनन्। उनले न कहिल्यै कसैलाई ठगिन्, न कसैको एक पैसा खाइन्, न त कसैलाई अप्ठ्यारोमा नै पारिन्। उल्टै, आफू चरम गाह्रोमा पर्दा पनि, आफ्नो जीवनको ठेगान नहुँदा पनि अरुलाई जोगाउन र आफ्ना ग्राहकको लगानी सुरक्षित गर्न उनी एउटा बलियो ढाल बनेर उभिइन्। आज जब त्यो कालो बादल पूर्ण रूपमा फाटेको छ र उनी सफलताको उज्यालो घाममा मुस्कुराइरहेकी छिन्, उनी ऐना अगाडि उभिन्छिन् र आफ्नो प्रतिबिम्बलाई हेर्दै गर्वका साथ भन्छिन्।‌ “थ्याङ्क यु, श्रेशु!” हो, ज्युँदो रहन, गलत मान्छेको त्यो भयानक चक्रब्युहबाट निस्कन र जस्तोसुकै परिस्थितिमा पनि आफ्नो इमानदारी नछाड्न सकेकोमा उनले आफैलाई दिएको यो ‘धन्यवाद’ नै उनको जीवनको सबैभन्दा ठूलो र अमूल्य कमाइ हो।

    मृत्युलाई यति नजिकबाट छामेर फर्किएपछिको त्यो कठोर विगतले उनको मनलाई यति सग्लो, सफा र विशाल बनाइदियो कि, आज उनी कोही पनि मानिस गलत ठाउँमा परेर नठगियोस्, कसैको पनि दुःखको कमाइ नडुबोस् र कसैलाई पनि अप्ठ्यारो नपरोस् भन्ने कुरामा सधैं चनाखो रहन्छिन्। आजभोलि उनी फेसबुक लाइभमा आउँदा होस् वा कसैले बाटोमा हिँड्दा वा अफिसमै भेट्दा होस्, उनी एउटी दिदी, एउटी आमा वा एउटी मिल्ने साथीजस्तै दिल खोलेर सल्लाह दिन्छिन्।

    उनी सानो किराना पसल चलाउने सामान्य व्यापारीदेखि लिएर ठूला कर्पोरेट हाउस चलाउने र करोडौंको कारोबार गर्ने व्यवसायीसम्मलाई एउटै कुरा भन्छिन्, “देखावटी जिन्दगी नबाँचौं। दुःख पर्दा, भोलि पर्सि गाह्रोसाह्रो पर्दा कोही अगाडि सर्दैन। आफन्त र नजिकका भनिएकाहरू पनि तर्किन्छन्। त्यो बेला तपाईंको सबैभन्दा नजिकको साथी भनेको तपाईंले आफ्नो पसिना बगाएर जोगाएका धनसम्पत्ति र स्वार्थ बिनाको सम्बन्ध मात्र हो।”

    हाम्रो जस्तो राजनीतिक र आर्थिक रूपले अस्थिर अर्थतन्त्र भएको देशमा नगद पैसाको अवमूल्यन कति छिटो हुन्छ भन्ने कुरा उनले राम्रोसँग बुझेकी छिन्। त्यसैले, आपतकालीन अवस्थामा तुरुन्तै नगदमा परिणत गर्न सकिने सुनचाँदीलाई उनी विशेषगरी महिलाहरूको साँचो ‘आर्थिक सुरक्षा’ र संकटको सारथी मान्छिन्। सुनचाँदीबारे उनको बुझाइ र अनुमान (प्रेडिक्सन) यति सटिक हुन्छ कि, मानिसहरू उनलाई एउटी साँचो सल्लाहकारका रूपमा विश्वास गर्छन्।

    श्रेशुको यो वैचारिक उचाइ र व्यावसायिक सफलता रातारात चम्किएको चिठ्ठा वा कसैले दया गरेर दिएको उपहार पक्कै होइन। धेरैलाई लाग्न सक्छ उनी काठमाडौं जस्तो व्यापारिक र सुविधासम्पन्न केन्द्रमा जन्मिएकी हुन्, तर वास्तविकता नितान्त फरक छ। उनको जन्म काठमाडौंको दक्षिणकाली (फर्पिङ) को एउटा शान्त, सुन्दर र सम्पन्न परिवारमा भएको हो। फर्पिङको त्यही हरियाली र पारिवारिक न्यानोपनमा हुर्किएकी उनी जम्मा १८ वर्षको कलिलो उमेरदेखि नै व्यावसायिक क्षेत्रको कठिन मैदानमा पाइला राख्न अघि बढिन्।

    सुरुमा एउटा ट्राभल एजेन्सीमा महिनाको जम्मा ५ हजार रुपैयाँ तलबमा काम सुरु गरेकी उनले त्यहाँ अहोरात्र मिहिनेत गरिन्। बिहानदेखि बेलुकासम्म खटेर मार्केटिङ, अकाउन्टिङ, टिकटिङदेखि ग्राहक सेवासम्मका हरेक साना-ठूला पाटोहरू उनले सिकिन्। निरन्तरको संघर्षपछि, आजभन्दा २० वर्ष अगाडि जम्मा ५० हजार रुपैयाँ धरौटी राखेर उनले आफ्नो छुट्टै ‘थ्याङ्क यु ट्राभल’ को सुरुआत गरेकी थिइन्। कुनै ठूलो विश्वविद्यालयको किताबी ज्ञानभन्दा पनि जीवनको प्रत्यक्ष भोगाइ, ठक्कर र निरन्तरको संघर्षबाट उनले ट्राभल व्यवसायको गहिरो सीप हासिल गरिन्। ग्राहकप्रतिको अगाध इमानदारी र सेवाभावले गर्दा नै कोरोना महामारीको त्यो चरम संकटमा, जब सिङ्गो विश्व ठप्प थियो र मानिसहरू घरभित्र थुनिएका थिए, उनले आफ्नो ज्यानको पर्वाह नगरी धेरै नेपालीलाई सुरक्षित रूपमा जापान उडाउने र गन्तव्यमा पुर्याउने साहसिक काम गरिन्।

    तर, एउटै मात्र व्यापारमा खुम्चिएर बस्न उनको चलायमान र दूरदर्शी स्वभावले मान्दैन। उनी ‘मल्टी-बिजनेस’ (बहु-व्यवसाय) गर्न एकदमै रुचाउँछिन्। एउटै क्षेत्रमा मात्र भर पर्दा भोलि देशको परिस्थिति बिग्रिएर वा कुनै विश्वव्यापी संकट आएर व्यवसाय धराशायी हुन सक्छ भन्ने कुरा कोभिडको समयमा उनले नजिकबाट देखेकी छिन्। त्यही भएर एउटा व्यवसायमा मन्दी आउँदा अर्कोले धान्न सकोस् भन्ने रणनीतिक सोचका साथ उनी अहिले फेसन र कपडाको दुनियाँमा होमिएकी छिन्।

    आफ्नी देउरानी र निकट सहकर्मी मुकिताको बलियो साथ लिएर उनले भारतको सुरत र अहमदावाद जस्ता कपडा उत्पादनका ठूला केन्द्रहरूबाट सोझै गुणस्तरीय कपडा (फेब्रिक) ल्याउने तयारी गरेकी छिन्। बिचौलियाको अन्त्य गर्दै ती राम्रा कपडाहरू नेपाली बजारमा एकदमै सर्वसुलभ मूल्यमा उपलब्ध गराउने उनको लक्ष्य छ। कपडा पसलको लागि उनको व्यापारिक सिद्धान्त एकदमै स्पष्ट र पारदर्शी छ। “सय रुपैयाँको सामानलाई दुई सयमा बेचेर, ग्राहकलाई लुटेर मलाई रातारात धनी हुनु छैन। म सय रुपैयाँको सामान एक सय पाँच रुपैयाँमा बेच्छु, तर एक जनालाई होइन, हजारौंलाई बेच्छु।” थोरै नाफा (मार्जिन) राखेर धेरै बिक्री गर्ने र व्यवसायमा नगद प्रवाह लाई निरन्तरता दिने उनको यो नीतिले आम उपभोक्तालाई सस्तोमा गुणस्तरीय पहिरन लगाउने अवसर त दिनेछ नै, सँगसँगै बजारमा एउटा इमानदार प्रतिस्पर्धाको पनि विकास गर्नेछ।

    श्रेशुको जीवनकथाले महिला सशक्तिकरणको साँचो र व्यावहारिक अर्थ पनि बोल्छ। ठूला-ठूला सेमिनार हलमा माइक समातेर दिइने खोक्रो भाषणले मात्र महिला सशक्तिकरण हुँदैन भन्ने उनले प्रमाणित गरेकी छिन्। उनी आफ्ना फलोअर्सलाई, विशेषगरी महिलाहरूलाई सिकाउँछिन्‌ अरुको भर नपर्नुस्, आफ्नो भाग्य आफै लेख्नुस् र आफ्नो साम्राज्य आफै खडा गर्नुस्। समाजमा महिलाहरू किन सबल हुनुपर्छ? किनकि आर्थिक रूपमा परनिर्भर महिलाले समाजका हरेक परिस्थितिमा, परिवारका हरेक अन्यायमा मौन रहेर सम्झौता गरेर बाँच्नुपर्ने बाध्यता हुन्छ। जब एउटी महिलाले सानै भए पनि आफ्नै मिहिनेतले व्यवसाय गर्छिन्, दुई पैसा कमाउँछिन्, त्यसलाई फजुल खर्च नगरी जोगाउन सिक्छिन् र आपतका लागि सुनचाँदी जस्तो सम्पत्ति जोड्छिन्, तब उनले आफ्नो जीवनको निर्णय आफै गर्न सक्ने अद्भूत र अजेय तागत प्राप्त गर्छिन्। आर्थिक रूपमा सबल महिलालाई कसैले पनि हेप्न वा दबाएर राख्न सक्दैन।

    आजको आधुनिक युगमा ‘ब्रान्ड’ भनेको केवल कुनै महँगो टेलिभिजन विज्ञापन वा ठूलो होर्डिङ बोर्डमा टाँसिएको चम्किलो लोगो मात्र पक्कै होइन। साँचो अर्थमा ब्रान्ड भनेको त मानिसले त्यो नाम सुन्ने बित्तिकै उनीहरूको हृदय र दिमागमा आउने एउटा अटुट विश्वास र अपनत्वको अनुभूति हो। आज श्रेशु आचार्य केवल एउटी व्यापारी वा सामाजिक सञ्जालमा बोल्ने महिला मात्र रहेकी छैनन्, उनी आफैमा एउटा बलियो, विश्वसनीय र परोपकारी ‘ब्रान्ड’ भइसकेकी छिन्।

    नयाँ कपडा पसल सुरु गर्दै गर्दा पनि, बजारमा यति धेरै प्रतिस्पर्धा हुँदा पनि उनको अनुहारमा कुनै डर वा चिन्ता नहुनुको एउटै कारण हो । उनको इमानदारी, उनको सफा मन र परिवारप्रतिको अगाध समर्पण। उनलाई थाहा छ, ग्राहकले उनको सामान मात्र होइन, उनको नियत किन्छन्। मृत्युको मुखबाट फर्केर आफैलाई धन्यवाद दिँदै आफ्नै पीडालाई शक्तिमा बदल्ने र हजारौं नेपालीलाई आर्थिक अनुशासन सिकाउने यी साहसी र कर्मठ महिलाको जीवनकथा जो कोहीका लागि पनि एउटा खुला र प्रेरणादायी विश्वविद्यालय हो। भोलिका दिनमा उनको कपडा पसलले व्यापार मात्र गर्ने छैन, यसले इमानदारीको नयाँ मानक स्थापित गर्नेछ र हजारौंलाई जीवन जिउने कला सिकाउनेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij