• बिहिबार, १ असोज २०८३
  • कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

    कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

    सबलनेपाल संवाददाता
    जेष्ठ २६ २०८२, सोमबार

    मोरङ । कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थान्तरण गरिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थान्तरण र विपद् बिमा गर्ने निर्णय गरेको हो ।

    यस निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतको तुलनामा यस वर्ष मनसुन छिट्टै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न बैठक बसेको थियो ।

    बैठकले विपद्को क्षति कम गर्नका लागि विभिन्न निर्णय गरेको छ । बैठकले चालु आर्थिक वर्षमा राहत सामग्री र रकम गरेर वितरण गरिएको रु ७५ लाख ८० हजार बराबरको खर्च अनुमोदन गरेको छ ।

    यस्तै, प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना २०८२-८७ र मनसुन पूर्वतयारी प्रतिकार्य प्रदेश कार्ययोजना, २०८२ पारित गरिएको छ ।

    त्यस अवसरमा मुख्यमन्त्री कार्कीले विपद् बिमा र स्थान्तरणको विषयलाई प्राथमिकताका साथ राखेर काम गर्न निर्देशन दिए । उनले विभिन्न सङ्घसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिए ।

    मुख्यमन्त्री कार्कीले बजेट र कार्यक्षमता हेरेर विपद्को काममा तत्कालै जुट्न आग्रह गरे ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत वर्ष आगलागी, बाढीपहिरो, चट्याङ र विस्फोटमा परी प्रदेशमा मृत्यु भएका ३४ जनालाई राहत रकम वितरण गरिएको छ । यस्तै, निजी आवास बनाउन रु ८६ लाख ४० हजार सहयोग गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिए ।

    प्रदेशमा तत्कालै स्थानान्तरण गर्नुपर्ने करिब चार हजार १५१ परिवार रहेका जनाइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij