• बुधबार, ३१ भाद्र २०८३
  • डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त

    डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त

    सबलनेपाल संवाददाता
    चैत्र २४ २०८२, मंगलबार

    काठमाडौं, २४ चैत — डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन्। यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चा भए पनि तत्कालीन राजनीतिक समीकरणका कारण उनी उक्त पदमा पुग्न सकेका थिएनन्।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भट्टलाई गभर्नर बन्न नदिने रणनीति अपनाएको थियो। नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले उनको नाम सिफारिस गरे पनि प्रक्रिया विवादमा परेपछि अन्ततः डा. विश्वनाथ पौडेल गभर्नर नियुक्त भएका थिए। त्यसक्रममा भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा समेत स्वीकृत भएको थिएन, जसका कारण उनी पुनः जिम्मेवारीमा फर्किएका थिए।

    हालैको राजनीतिक परिवर्तनपछि भएको निर्वाचनमा बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएसँगै भट्टलाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरिएको हो। उनले गत कात्तिकमा राष्ट्र बैंकबाट अनिवार्य अवकाश पाएका थिए।

    भट्ट राष्ट्र बैंकमा कार्यकारी निर्देशक रहँदा कर्जा सूचना केन्द्रका अध्यक्ष, धितोपत्र बोर्डका सञ्चालक तथा विभिन्न वित्तीय संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले विकास, वित्त र नीति निर्माणका क्षेत्रमा अनुसन्धानात्मक योगदान दिएका छन्।

    योजना आयोगको उपाध्यक्षका रूपमा भट्टले विकास योजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनको जिम्मेवारी सम्हाल्नेछन्। साथै, उनी सरकारका मुख्य आर्थिक सल्लाहकारसमेत हुन्।

    हाल विकास प्रशासनमा देखिएको कमजोरी, स्रोत अभाव, आयोजना छनोटमा अव्यवस्था र प्रभावकारी अनुगमनको अभाव जस्ता चुनौतीबीच उनले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेछ। विशेषगरी १६औं आवधिक योजनाको प्रभावकारी कार्यान्वयन, स्रोत व्यवस्थापन र दीर्घकालीन विकास लक्ष्य हासिल गर्नु उनका लागि मुख्य परीक्षा हुने देखिन्छ।

    नयाँ जनमतसहित बनेको स्थायी सरकारका अपेक्षा पूरा गर्दै विकास प्रक्रियालाई गति दिनु भट्टको प्रमुख दायित्व रहनेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij