• बुधबार, ३१ भाद्र २०८३
  • ६१ दुर्गम स्थानका मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिने

    ६१ दुर्गम स्थानका मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिने

    सबलनेपाल संवाददाता
    फाल्गुन २० २०८२, बुधबार

    काठमाडौं, २० — आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग ले दुर्गम तथा हिमाली जिल्लाहरूका लागि विशेष ढुवानी योजना कार्यान्वयनमा ल्याएको छ। भौगोलिक कठिनाइका कारण सडक पहुँच नपुगेका स्थानहरूबाट मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन हेलिकप्टर प्रयोग गरिने भएको हो।

    आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार मतदानअघि नै हुम्ला र डोल्पाका अति दुर्गम २७ स्थानमा हेलिकप्टरबाट मतपत्र, कर्मचारी तथा सुरक्षाकर्मी पुर्‍याइसकिएको छ। तीमध्ये डोल्पाका २३ र हुम्लाका ४ मतदान केन्द्र रहेका छन्।

    मतदान सम्पन्न भएपछि भने ताप्लेजुङदेखि दार्चुलासम्मका १५ जिल्लाभित्र पर्ने ६१ दुर्गम स्थानबाट मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिनेछ। ती स्थानहरूमा सडक सञ्जालको अभाव तथा लामो पैदल दूरीका कारण हवाई माध्यम रोजिएको आयोगले जनाएको छ।

    अन्य सडक सञ्जालले जोडिएका क्षेत्रमा भने सवारी साधनबाटै मतपेटिका ढुवानी गरिनेछ। यसका लागि आयोगले देशभरका ७७ जिल्ला प्रशासन कार्यालयलाई आवश्यक बजेट पठाइसकेको जनाएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायहरूको समन्वयमा मतपेटिका सम्बन्धित १६५ मतगणना स्थलमा पुर्‍याइनेछ।

    आयोगले दुर्गम क्षेत्रका मतदाताको सहभागिता सुनिश्चित गर्दै मतदान सामग्रीको सुरक्षित व्यवस्थापनमा विशेष ध्यान दिएको बताएको छ

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij