• बिहिबार, १ असोज २०८३
  • नेपाल प्रिमियर लिग २०२५ को ओटीटी प्रसारण अधिकार डिशहोमलाई, अन्य माध्यमबाट प्रसारण गर्न मनाही

    नेपाल प्रिमियर लिग २०२५ को ओटीटी प्रसारण अधिकार डिशहोमलाई, अन्य माध्यमबाट प्रसारण गर्न मनाही

    सबलनेपाल संवाददाता
    मंसिर ८ २०८२, सोमबार

    काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को ओभर–द–टप (ओटीटी) प्रसारणसम्बन्धी सार्वजनिक सूचना जारी गर्दै आधिकारिक प्लेटफर्मबाहेक अन्य माध्यमबाट खेल प्रसारण वा पुनःप्रसारण नगर्न आग्रह गरेको छ।

    क्यानले २०८२ मंसिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिगका खेलहरूको ओटीटी प्रसारण अधिकार भारत बाहेक अन्य सबै देशका लागि डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) लाई प्रदान गरिएको स्पष्ट गरेको छ। डिशहोमको DishHome Go एप डाउनलोड गरी सम्पूर्ण खेल हेर्न सकिने जानकारी क्यानले दिएको छ।

    क्यानका अनुसार, एनपीएल २०२५ को सम्पूर्ण डिजिटल तथा ओटीटी अधिकार डिशहोमलाई प्रदान गरिएको भएकाले DishHome Go बाहेकका कुनै पनि डिजिटल प्लेटफर्म—जस्तै युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स (ट्विटर), टेलिग्राम तथा अन्य वेब/मोबाइल एप—बाट खेल प्रसारण, पुनःप्रसारण, क्लिप बिक्री/वितरण, रेकर्डिङ वा कुनै पनि किसिमको प्रयोग अनधिकृत तथा गैरकानूनी मानिनेछ।

    सूचनामा भनिएको छ, “अधिकार प्राप्त डिशहोम बाहेक अन्य कुनै माध्यमबाट खेलसामग्रीको अनधिकृत बिक्री, वितरण, सम्पादन वा प्रयोग दण्डनीय छ।” क्यानले दर्शक, विज्ञापनदाता, मिडिया साझेदार र सरोकारवालालाई केवल आधिकारिक प्लेटफर्ममार्फत खेल हेर्न अनुरोध गरेको छ।

    क्यान र डिशहोमले अनधिकृत लिंक तथा साइटमार्फत खेल हेर्दा व्यक्तिगत वा वित्तीय विवरण चोरी तथा साइबर अपराधमा पर्न सक्ने जोखिम रहने चेतावनी पनि दिएका छन्। यदी कुनै स्थानमा खेलको अनधिकृत प्रसारण भएको थाहा पाएमा तुरुन्त क्यान वा डिशहोमलाई जानकारी गराउन आग्रह गरिएको छ।

    क्यान र डिश मिडिया नेटवर्क लिमिटेडले संयुक्त रूपमा जारी गरेको सूचनामा अनधिकृत प्रसारणमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने जानकारी दिइएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij