• बुधबार, ३१ भाद्र २०८३
  • चारपांग्रे रोबोटदेखि विन्टेज शोसम्म – नाडा अटो शो २०२५ मा सबथोक!

    चारपांग्रे रोबोटदेखि विन्टेज शोसम्म – नाडा अटो शो २०२५ मा सबथोक!

    सबलनेपाल संवाददाता
    साउन २० २०८२, मंगलबार

     

    काठमाडौं– नेपाल अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुन लागेको नाडा अटो शो २०२५ को तयारी तीव्र पारिएको छ। यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने यस प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ।

    नाडाका अध्यक्ष करण कुमार चौधरीले एक पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै यस वर्षको अटो शो “प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजन” हुने बताएका छन्। उनका अनुसार, यो केवल प्रदर्शनी मात्र नभई अटो व्यवसायीहरूको चाड हो, जुन वर्षेनी उल्लासपूर्वक मनाइँदै आएको छ। उनले थपे, “गत वर्ष हामीले अटोमोबाइल क्षेत्रको वजन देखाउने प्रयास गरेका थियौं, यसपटकको शोबाट भविष्यको मोबिलिटी, प्रविधि र समग्र अटो क्षेत्रको सम्भावनालाई अझ वास्तविक रूप दिन चाहन्छौं।”।                 

    ‘Go For More’ भन्ने मूल नारासहित आयोजना हुन लागेको यस शोले दर्शकहरूलाई स्मार्ट, दिगो र नवप्रवर्तनमुखी सवारी समाधानको अनुभव गराउने उद्देश्य राखेको छ। शोमा विशेष रूपमा चारपांग्रे रोबोट, भविष्यको शहरी हवाई मोबिलिटी को प्रारम्भिक झलक, साथै स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्सको प्रदर्शनी प्रस्तुत गरिनेछ।

    प्रदर्शनीमा देश तथा विदेशका १२५ भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहनेछ। १९ वटा चारपांग्रे ब्राण्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी ब्राण्ड, ४ वटा दुईपांग्रे सवारी साधनका ब्राण्ड, साथै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक कम्पनीहरूका स्टल रहनेछन्। आयोजकले करिब एक लाखभन्दा बढी आगन्तुकको उपस्थिति रहने अपेक्षा गरेको छ।

    यसपटकको प्रमुख आकर्षण मध्ये विन्टेज मोटर शो पनि रहनेछ, जसमा Marris Minor, Flat, Peugeot, Beetle, Mini Cooper, Mercedes Benz, Toyota RT40, VW Bus, Mazda Familia, Toyota Corolla लगायतका ऐतिहासिक तथा दुर्लभ गाडीहरू प्रदर्शनीमा देख्न पाइनेछ।

    साथै, अटो शोमा दैनिक भाग्यशाली विजेताहरूको घोषणा गरिनेछ, जसले एक वर्षसम्म निःशुल्क ल्यूब्रिकेन्ट सेवा प्राप्त गर्नेछन्। शो अवधिभर आपतकालीन स्वास्थ्य टोली, महानगरीय ट्राफिक प्रहरीको सूचना डेस्क, सुरक्षा निगरानी र अग्निनियन्त्रणको व्यवस्था पनि गरिएको छ।

    टिकट ‘खल्ती एप’ मार्फत अग्रिम रूपमा किन्न सकिनेछ, जसमा भदौ २ गतेसम्म २० प्रतिशत क्यासब्याक प्राप्त हुनेछ।

    शोका साझेदार संस्थाहरूमा Title Sponsor: M Unitree MAW Vriddh, Co–Sponsor: Shikhar Insurance Company Ltd, Powered By: Campa Cola, Mobility Partner: Yango, Exclusive Ticketing Partner: Khalti by IME, Official Internet Partner: WorldLink, Surveillance Partner: CCTV Nepal, Fire Safety Partner: Himalayan Safety Solutions Pvt. Ltd, Hospital Partner: Kist Hospital, Hospitality Partner: The Plaza, र Door Prize प्रायोजक: Nepal Lube Oil Limited रहेका छन्।

    नाडा अटो शो २०२५ को आयोजना व्यवस्थापन M Global Exposition & Management Services Pvt. Ltd. ले गर्नेछ। आयोजकका अनुसार यो प्रदर्शनी नेपालको अटोमोबाइल इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो बन्नेछ, जसले स्मार्ट मोबिलिटी र दिगोपनको युगतर्फको यात्रालाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij