• बिहिबार, १ असोज २०८३
  • माग्ने राजा: हाँसो, पैसा र विश्वासको कथा हाेः मुनाल घिमिरे (अन्तर्वार्ता)

    माग्ने राजा: हाँसो, पैसा र विश्वासको कथा हाेः मुनाल घिमिरे (अन्तर्वार्ता)

    दीपा रेग्मी
    साउन ११ २०८२, आइतबार

    काठमाडाैं – नेपाली फिल्म उद्योगमा समर्पण, संघर्ष र अनुभवको संगालो बोकेर अगाडि बढिरहनुभएको नाम हो—मुनाल घिमिरे, जसलाई उनका निकट सहयोगी चलचित्रकर्मीहरूले मधुसुदन शर्मा नामले पनि चिन्छन्। लामो समयदेखि सामाजिक सन्देश बोकेको सामग्री निर्माणमा सक्रिय रहँदै आएका घिमिरेले प्रारम्भमा टेलिशृंखला, टेलिफिल्म र वृत्तचित्रहरूको निर्माणमार्फत फिल्मको दुनियाँमा पाइला चाल्नुभयो। यिनै अनुभवको थालनी नै पछि ठूलो पर्दातर्फ लाग्ने आधार बन्यो।

    सन् २००८ मा निर्माता र निर्देशक दुवैको हैसियतमा उहाँले निर्माण गर्नुभएको चलचित्र ‘खबरदार’ व्यंग्यात्मक सामाजिक सन्देशमूलक फिल्म थियो। यद्यपि त्यो फिल्मले व्यावसायिक रूपमा ठूलो सफलता हात पार्न नसके पनि फिल्म निर्देशनप्रतिको उहाँको समझदारी र समर्पणलाई भने नकार्न सकिँदैन। त्यसैको केही वर्षपछि ‘इच्छा’ (२०१५) चलचित्र निर्देशन गर्दै उनले प्रेम र विवाह जस्ता मानवीय संवेदनामा आधारित कथालाई प्रस्तुत गरे जसले समीक्षात्मक रूपमा केही राम्रो प्रतिक्रिया पायो।

    त्यसपछि उनले निर्देशक ऋषि लामिछानेसँग सहकार्य गर्दै आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान श्रीमती ’ जस्ता प्रोजेक्टहरू निर्माण गरे। यी प्रोजेक्टहरूले पारिवारिक भावना र सामाजिक यथार्थबीच सन्तुलन कायम गर्दै दर्शकको ध्यान तान्न सफल भए।

    अब त्यही सफल सहकार्यको निरन्तरताको रूपमा निर्माण गरिएको ‘माग्ने राजा’ चलचित्रलाई मुनाल घिमिरेको ह्याट्रिक प्रयास भनेर पनि हेर्न सकिन्छ। ३ करोडको अनुमानित बजेटमा निर्माण गरिएको यो फिल्ममा समाजको तल्लो तहको व्यक्ति एक्कासी अपार धनको मालिक भएपछि उसले सामना गर्ने द्वन्द्व र भित्री परिवर्तनको कथा समेटिएको छ।

    चलचित्रको , टिजर र ‘म त सुतेर उठेको पैसामा’ शीर्षक गीतले डिजिटल माध्यममा उल्लेखनीय चर्चा बटुलिसकेको छ, जसले फिल्मप्रति दर्शकमा उत्सुकता बढाएको छ। युटुवमा मा अपलोड भएको शीर्षक गीतलाई २० लाखभन्दा बढी दर्शकले हेरेर सकारात्मक प्रतिक्रिया दिइसकेका छन्।

    संघर्ष र आत्मावलोकनबाट परिपक्व हुँदै आएका निर्माता मुनाल घिमिरे अहिले माग्ने राजा लाई आफ्नो सबैभन्दा विश्वासिलो प्रोजेक्ट मानेर अगाडि बढिरहेका यिनै अनुभूति र फिल्म निर्माणको यात्राबारे उनीसँगै गरिएको खुला अन्तर्वार्ताका केही अंश प्रस्तुत छन्।

    ‘माग्ने राजा’ निर्माण गर्नु अघि तपाईंले निर्देशक ऋषि लामिछानेसँग दुईवटा फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ ’र ‘श्रीमान श्रीमती’ गरिसक्नुभएको छ । फेरि उहाँसँग तेस्रोपटक सहकार्य गर्नुभएको छ — किन फेरि उहाँमाथि भरोसा गर्नुभयो ?

    ऋषि लामिछानेसँगको मेरो सहकार्य कुनै आकस्मिक निर्णय होइन, यो विश्वास, परिश्रम, र साझा दृष्टिकोणको परिणाम हो। ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ दुईटै फिल्ममा हाम्रो सहकार्य निकै सहज र सफल रह्यो। उहाँसँग काम गर्दा एउटा कुरामा म सधैं आश्वस्त हुन्छु उहाँ कथालाई भित्री आत्मासम्म बुझ्नुहुन्छ, र त्यो कुरा पर्दामा गहिरो प्रभावसहित उतार्न सक्ने क्षमता उहाँमा छ । ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ जस्तो पारिवारिक र समाज–केन्द्रित फिल्मदेखि लिएर ‘श्रीमान श्रीमती’ जस्तो आधुनिक दाम्पत्य कथा, यी दुवै फिल्ममा उहाँले पात्रहरूलाई जीवन्त बनाउनु भयो। दर्शकसँग ती पात्रहरूको भावनात्मक सम्बन्ध स्थापित गर्न उहाँ निकै कुशल हुनुहुन्छ। उहाँका कामप्रति प्रतिबद्धता, टेक्निकल पक्षमा गहिरो बुझाइ, र कलाकारसँगको समन्वयशिल व्यवहारले उहाँलाई निर्देशकको रूपमा अझ फरक बनाउँछ।

     

    ‘माग्ने राजा’ मा पनि मैले उहाँसँगै सहकार्य गर्ने निर्णय यसैले गरेको हुँ कि यो कथा हास्यात्मक भए पनि सामाजिक सन्देश बोकेको छ, र यस्तो विषयवस्तुलाई सन्तुलित रूपमा दर्शकसामु प्रस्तुत गर्न ऋषिजस्तो निर्देशकको खाँचो थियो। हाम्रो अघिल्ला दुई फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए, र ‘माग्ने राजा’ मार्फत हामी हाम्रो सहकार्यलाई एक स्तर माथि पुर्‍याउने अपेक्षा राखिरहेका छौं। यो ह्याट्रिक सफल बनोस् भन्ने हाम्रो साझा इच्छा हो।

    विगतमा तपाईं आफैं निर्माता र निर्देशक बन्नुभयो, तर त्यो फिल्म खासै सफल भएन। त्यो अनुभवबाट के सिक्नुभयो ?

    मेरो निर्देशनमा बनेको त्यो फिल्म प्राविधिक हिसाबले होइन, दृष्टिकोणको हिसाबले कमजोर भयो। त्यो प्रोजेक्टमा मैले सबै जिम्मेवारी एक्लै लिएको थिएँ — कथा, निर्देशन, निर्माण सबै। यसले मेरो मनमा रहेको कथा बाहिर ल्याउने मौका त दियो, तर प्राविधिक र व्यवस्थापन पक्षमा चुक भयो। त्यो असफलताले मलाई टिम वर्कको महत्त्व, निर्देशक र निर्माता छुट्टै हुनुको फाइदा, र फिल्म निर्माणमा विविध विचारहरूको योगदान कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा गहिरो रूपमा सिकायो। ‘माग्ने राजा’ मा मैले त्यो सिकाइलाई पूर्ण रूपमा लागू गरेको छु।

     

    ‘माग्ने राजा’ करिब तीन करोडको बजेटमा बनेको फिल्म हो। यस्तो ठूलो लगानी किन गर्नुभयो, खासमा यो फिल्मले तपाईंलाई किन यति विश्वास दिलायो ?

    अहिलेको फिल्म बजारमा तीन करोड लगानी गर्नु सामान्य कुरा होइन — यो जोखिमपूर्ण हो। तर ‘माग्ने राजा’ को कथा सुन्दा नै मलाई लाग्यो, “यो फिल्म दर्शकको मनमा पर्छ।” पैसाले मानिसको स्वभाव र सम्बन्धमा ल्याउने परिवर्तन — यो एउटा गहिरो मनोवैज्ञानिक विषय हो, जुन हामीले हास्यव्यङ्ग्यको शैलीमा प्रस्तुत गरेका छौँ। हाम्रो समाजमा पैसा धेरै महत्त्वपूर्ण कुरा हो, तर त्यसले मानिसलाई कहाँ पुर्याउँछ भन्ने कुरालाई हामीले नयाँ ढंगले चित्रण गरेका छौँ। साथै, यो फिल्मको छायांकन, संगीत, पोस्ट–प्रोडक्सन सबैमा उच्च स्तरको गुणस्तर राखिएको छ। यही आत्मविश्वासका कारण मैले ठूलो लगानी गर्न सकें।

    माग्ने राजा फिल्मका ट्रेलर र गीतहरू दर्शकबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। तपाईंले यो लोकप्रियता कसरी लिँनुहुन्छ ?

    हामीले टिजर सार्वजनिक गरेपछि जुन प्रेम, प्रतिक्रिया र उत्साह दर्शकबाट पाइरहेका छौँ, त्यो अकल्पनीय छ। ‘सुतेर उठेको पैसामा’ गीतले त युट्युबमै झन्डै लाखभन्दा बढी भ्यूज पाइसक्यो। त्यही प्रकारले टाइटल गीत ‘माग्ने राजा’ ले पनि मानिसको भित्री यथार्थ कुरालाई भावुक शैलीमा उजागर गरेको छ।

    म दर्शकको यति ठूलो साथ पाएर निकै भावुक भएको छु। हाम्रो मिहिनेत सफल भएको अनुभूति हुँदैछ। यो समर्थनले हामीलाई अझ जिम्मेवार बनाएको छ र फिल्मप्रति अझ गहिरो प्रतिबद्धता दिलाएको छ।

    अहिले धेरै फिल्महरू बनेका छन्, तर केही मात्र सफल हुन्छन्। यस्तो अवस्थामा ‘माग्ने राजा’ कतिको सफल हुन्छ भन्ने तपाईंको विश्वासको आधार के हो?

    यति धेरै फिल्महरू बनेका छन् तर दर्शकको रुचि बुझेर बन्ने फिल्म कम छन्। ‘माग्ने राजा’ ले हाम्रो समाजको यथार्थ पैसा आयो भने जीवन कति परिवर्तन हुन सक्छ भन्ने कुरालाई न हतारोमा, न जबर्जस्तीमा देखाएको छ। हाम्रा पात्रहरू ‘हावा’ होइनन्, साँच्चिकै भुईँमान्छे हुन्, जो सिधा तपाईं–हाम्रो मनमा बस्छन्। मैले यो फिल्म बनाउँदा ‘म दर्शक हुँ भने के हेर्न चाहन्थेँ ?’ भन्ने सोचले काम गरेँ। त्यसैले मलाई लाग्छ, ‘माग्ने राजा’ले दर्शकको मन जित्छ। हामीले बनाएको फिल्म सस्तो रमाइलो मात्र होइन — गहिरो अर्थ राख्ने सन्देश बोकेको छ।

    अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
    ‘माग्ने राजा’ एउटा मात्र फिल्म होइन, अहिलेको समाजको मुहार हो — जहाँ पैसा आयो भने मान्छे माग्नेबाट राजा बन्न सक्छ, तर त्यो पैसाले ल्याउने परिवर्तन हामीले बोक्न सक्दैनौँ भने त्यो राजत्व पनि भारी हुन्छ। निर्देशक ऋषि लामिछानेसँगको सहकार्य, टिमको समर्पण, र दर्शकको साथले ‘माग्ने राजा’ एउटा जनभावनासँग जोडिएको फिल्म बनेको छ भन्ने हामीलाई लागेको छ त्यसकारणले गर्दा भदौ ६ गते फिल्म लाग्दैछ सम्पूर्ण दर्शकहरूलाई यो फिल्म गएर हेरिदिएर प्रतिक्रिया दिनुहुन अनुरोध पनि गर्न चाहे।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij