• बिहिबार, १ असोज २०८३
  • पवन आचार्य नेपाल औषधि आयातकर्ता संघको अध्यक्षमा निर्विरोध चयन

    पवन आचार्य नेपाल औषधि आयातकर्ता संघको अध्यक्षमा निर्विरोध चयन

    सबलनेपाल संवाददाता
    असार १० २०८२, मंगलबार

    काठमाडौं –नेपाल औषधि आयातकर्ता संघ (मियान)को अध्यक्षमा पवन आचार्य निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको आठौँ वार्षिक साधारणसभा तथा अधिवेशनले आचार्यको नेतृत्वमा आगामी तीन वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

    नयाँ नेतृत्व चयन भएसँगै संघले सरकारको औषधि मूल्य नीतिसम्बन्धी प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाएको छ। अध्यक्षमा निर्वाचित भएपछि बोल्दै आचार्यले पोषराज पाण्डे नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन अव्यावहारिक भएको आरोप लगाए। उनले भने, ‘प्रतिवेदनमा थुप्रै त्रुटिहरू छन्, जसले आयातकर्ता मात्र होइन, उपभोक्तालाई समेत प्रतिकूल असर पुर्‍याउँछ।’ उनले सरोकारवालासँग विस्तृत छलफल नगरी प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई आग्रह गरे।

    संघको नयाँ कार्यसमितिमा पृथ्वीराज वैद्य र सुमन कयाल उपाध्यक्षमा चयन भएका छन्। महासचिवमा मधु पौडेल, सचिवमा सुरेश अग्रवाल र कोषाध्यक्षमा सन्दीप खनाल निर्विरोध निर्वाचित भएका छन्।

    त्यसैगरी, सदस्यहरूमा मुकुन्द राजभण्डारी, शितोष शाह, डा.आनन्दा राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, नीरजकुमार झा, सुरज टिवटिवाल, चन्द्रशेखर रुँगटा, डा। अब्बुल हुसेन अन्सारी, राज किशोर र आनन्द चौधरी चयन भएका छन्। निर्वाचन समिति संयोजक लालबहादुर बोहराका अनुसार सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्, जसले व्यवसायीहरूबीचको एकता झल्काउँछ।

    अधिवेशनमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। विकास देवकोटा रहेका थिए। उनले औषधिको मूल्यसँगै गुणस्तरप्रति जोड दिँदै भने, ‘औषधि जस्तो संवेदनशील वस्तुको गुणस्तरमा कुनै सम्झौता हुनुहुँदैन। यसमा सबै व्यवसायीले पहिलो प्राथमिकता दिनुपर्छ।

    संघले आगामी दिनमा औषधि आयात, वितरण, मूल्य निर्धारण तथा नियमन सम्बन्धमा व्यवसायीको सरोकारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने बताएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij