• बिहिबार, १ असोज २०८३
  • अन्तर्वार्ता

    आईटी शिक्षा मात्रै होइन, भविष्य निर्माणको यात्रामा लाइफ कम्प्युटर : रमेश पोखरेल (अन्तर्वार्ता)

    आईटी शिक्षा मात्रै होइन, भविष्य निर्माणको यात्रामा लाइफ कम्प्युटर : रमेश पोखरेल (अन्तर्वार्ता)

    कक्षा १० देखि १२ को अवधि सबैभन्दा निर्णायक हुन्छ। यही उमेरमा विद्यार्थीहरूमा नवीन सोच, उत्साह र प्रयोग गर्ने जिज्ञासा उच्च हुन्छ। उनीहरू वेब डिजाइन, कोडिङ जस्ता सीपमा उल्लेखनीय प्रगति गर्न सक्छन्।

    दीपा रेग्मी
    असार ८ २०८२, आइतबार

    काठमाडाैं । बिगत १३ वर्षदेखि सूचना प्रविधिको क्षेत्रमा युवा पुस्तालाई व्यवहारिक रूपमा सक्षम बनाउँदै आएको लाइफ कम्प्युटरले नेपालको शैक्षिक क्षेत्रमा पृथक पहिचान बनाएको छ। काठमाडौँको बागबजार, १६ खुट्टे र कुमारीपाटीमा शाखा सञ्चालन गर्दै आएको यस संस्थाले खासगरी एसईई परीक्षा दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गर्दै आएको वेब प्रतियोगिता अहिले राष्ट्रिय स्तरमै चर्चित कार्यक्रम बनेको छ।

    सन् २०८१ को सिजनमा देशभरिबाट ९८१ जना विद्यार्थी सहभागी बनेका छन्। उनीहरूले वेबसाइट निर्माण गर्दै कोडिङ, डिजाइन, प्रस्तुतिकरण र सोचको गहिराइ प्रस्तुत गरेर प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको अन्तिम चरण असार ९ गते राष्ट्रिय नाचघर, जमलमा आयोजना हुँदैछ।

    यस अभिनव प्रयासका अगुवा तथा संस्थापक–सीईओ रमेश पोखरेलसँग सबल नेपालकी सम्पादक दीपा रेग्मीबाट गरिएको सम्पादित अंशः

    राष्ट्रियस्तरको वेबसाइट प्रतियोगिता सुरु गर्ने सोच कसरी आयो ?

    हामीले यो प्रतियोगिता सुरु गर्दा एउटै सोच लिएका थियौं — विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने। एसईई दिएर बसेका विद्यार्थीहरूमाथि केन्द्रित भएका थियौं, किनभने उनीहरूसँग समय पनि हुन्छ र प्राविधिक सीप सिक्ने उत्साह पनि।

    वेबसाइट बनाउन सिक्ने प्रक्रियामै उनीहरूको सोच, सिर्जनशीलता र आत्मविश्वासमा उल्लेखनीय वृद्धि हुन्छ। भविष्यमा उनीहरू जुनसुकै पेसामा लागे पनि आईटी सीपले आत्मनिर्भर बनाउँछ। यही सोचले हामीलाई अघि बढायो।

    एसईई दिएका विद्यार्थीहरूलाई मात्र लक्षित गर्नुको कारण के हो ?
    हामीलाई लाग्छ — कक्षा १० देखि १२ को अवधि सबैभन्दा निर्णायक हुन्छ। यही उमेरमा विद्यार्थीहरूमा नवीन सोच, उत्साह र प्रयोग गर्ने जिज्ञासा उच्च हुन्छ। उनीहरू वेब डिजाइन, कोडिङ जस्ता सीपमा उल्लेखनीय प्रगति गर्न सक्छन्। प्लस टु सकेका विद्यार्थीहरूका लागि हामीले फरक कार्यक्रम — कोडिङ कम्पिटिसन पनि सञ्चालन गरिरहेका छौं, जसमा अझ गहिरो प्राविधिक विषय समेटिएको हुन्छ।

     सुरुमा पुरस्कारमा ल्यापटप दिने भनिएको कुरामा धेरैले शंका गरे, त्यसबेला तपाईंलाई कस्तो लाग्यो ?

    त्यो एकदमै सही हो — सुरुमा धेरै अभिभावक र विद्यार्थीहरूले शंका गरे। “साच्चै ल्यापटप दिन्छन् त ?” भन्ने सोच व्यापक थियो। तर, सिजन १ बाटै हामीले पारदर्शितासाथ पुरस्कार वितरण गर्‍यौं। स्टेजमै ल्यापटप हस्तान्तरण गर्‍यौं, सबै प्रक्रिया सार्वजनिक गर्‍यौं।

    त्यसपछि भने आम अभिभावक, विद्यार्थी र आईटी समुदायले हाम्रो कार्यक्रमप्रति विश्वास गर्न थाले। आज त स्कूलहरूले आफैँ आग्रह गर्छन् — “हाम्रो विद्यालयका विद्यार्थीलाई पनि सहभागी गराउनुस्” भनेर। यसमा निरन्तर पारदर्शिता र इमानदारी हाम्रो मुख्य आधार रह्यो।

     प्रतियोगिताको वर्तमान संरचना र विजेता छनोट प्रक्रिया कस्तो छ ?

    यस सिजनमा ९८१ वटा वेबसाइट प्राप्त भएका छन्। ती सबैको सुरुआती मूल्याङ्कन हाम्रो आईटी टिमले गर्छ — कोडिङ, डिजाइन, रङ संयोजन, सामग्री, र क्रिएटिभिटीका आधारमा। यदि वेबसाइट कपी पाइएको खण्डमा त्यसलाई स्वतः अस्वीकृत गरिन्छ। त्यसपछि टप २० छानिन्छन्, जसलाई आफ्नो वेबसाइट सुधारेर पुनः पेश गर्न दिइन्छ। त्यहाँबाट टप १० छनोट हुन्छन्। अन्तिम मूल्याङ्कनमा डिजाइन, कन्टेन्ट, युजर एक्सपेरियन्स, र प्रजेन्टेसन हेरेर निर्णय गरिन्छ। असार ९ मा आयोजित फिनालेमा विजेताहरूले प्रत्यक्ष वेबसाइट प्रजेन्टेसन गर्नेछन्। मूल्याङ्कन मापदण्ड समेत सार्वजनिक गरिनेछ, पारदर्शिताका लागि।

     प्रतियोगिताबाट विद्यार्थीहरूले व्यवहारिक रूपमा के–के सिकिरहेका छन्, यसको दीर्घकालीन असर कस्तो देखिन्छ ?
    विद्यार्थीहरूले कोडिङ, डिजाइन, प्रजेन्टेसन, समस्या समाधान, रचनात्मकता जस्ता सीप सिकिरहेका छन्। आज स्कूलमा सिकेको यिनै सीपले भोलि उनीहरूलाई रोजगारी, स्टार्टअप, वा फ्रिलान्सिङतर्फ डोर्याउँछ।

    हाम्रा अघिल्ला सिजनका विजेताहरू अन्तर्राष्ट्रिय कम्पनीमा काम गरिरहेका छन्, कसैले फेसबुकमा बग रिपोर्ट गरिसकेका छन्, कसैले एयरबसका इन्जिन टेष्ट गर्न प्रयोग हुने सफ्टवेयर बनाएका छन्। यसले देखाउँछ — यसको प्रभाव गहिरो र दीर्घकालीन छ।

    लाइफ कम्प्युटरको दृष्टिकोण अन्य कम्प्युटर शिक्षालयहरूभन्दा फरक के छ ?
    हामी केवल कम्प्युटर कोर्स सिकाउने संस्था होइनौं — हामी आईटीमैत्री समाज निर्माण गर्ने अभियानमा छौं। हाम्रो सोच छ — प्रत्येक विद्यालय, कार्यालय र संस्था डिजिटल बन्नु आवश्यक छ। त्यही सोचअनुसार हामीले बागबजार, १६ खुट्टे र कुमारीपाटी शाखा सञ्चालन गरेका छौं। बच्चादेखि ६० वर्षसम्मका व्यक्तिहरूलाई तालिम दिइरहेका छौं। उमेर होइन, उत्साह नै सिकाइको मापदण्ड हो भन्नेमा हामी विश्वास गर्छौं।

     अबको भविष्य योजना के होरु प्रतियोगितालाई अझ कहाँसम्म पुर्याउने सोच छ  ?
    हाल यो कार्यक्रम राष्ट्रिय स्तरमै फैलिसकेको छ। अब हाम्रो लक्ष्य — यसलाई सबै जिल्लामा पुर्‍याउने। ल्यापटप जस्ता पुरस्कारले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई पनि अवसर दिन सक्छ।

    भविष्यमा हामी डिजिटल पहुँच सबैका लागि भन्ने उद्देश्यमा काम गर्दैछौं। विद्यार्थीहरूलाई कम्प्युटरको अभाव नहोस् भन्ने हाम्रो सोच हो। यही विद्यार्थीहरूले भोलि फ्रिलान्सिङ गरेर, स्टार्टअप खोलेर आफू र देशलाई आत्मनिर्भर बनाउनेछन् भन्ने विश्वास लिएका छौं।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij