• बिहिबार, १ असोज २०८३
  • सहकारीका कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

    सहकारीका कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

    सबलनेपाल संवाददाता
    बैशाख १६ २०८२, मंगलबार

    कञ्चनपुर -बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका छन्। मिल सञ्चालन गरेर उहाँले मासिक रु एक लाख बढी आम्दानी गर्दै आएका छन् ।

    सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट चौधरीले रु २० लाख ऋण लिएर मिल सञ्चालन गरेको बताए। मिलमा गहुँको पिठो बनाउने, तोरीको तेल निकाल्ने, धान कुटानी गरी चामल निकाल्ने उपकरण राखेका छन् । ‘पटकपटक गरी सहकारीबाट रु २० लाखजति ऋण लिएका हौँ’, उनले भने ‘सहकारीबाट लिएको ऋणमध्ये रु १८ लाख आम्दानीको रकमले तिर्न भ्याएका छौँ, अब रु दुई लाखमात्रै बाँकी छ, त्यो पनि दुई तीन महिनामा चुक्ता गर्ने योजना छ ।’

    व्यवसाय गर्ने पैसा नहँुदा विगतमा खेतबारीमा दिन बिताउने गरेको उल्लेख गर्दै चौधरीले खेतबारीबाट उत्पादन हुने अन्नले खानमात्रै पुग्ने, खर्चका लागि अभाव हुने गरेको बताए। सहकारीमा आबद्ध भएर ऋण लिएर मिल सञ्चालन गरेपछि पैसाको अभाव नभएको उनको भनाई छ ।

    ‘महिनामा रु एक लाख ५० हजार जति आम्दानी हुन्छ’, उनले भने ‘मिलमा काम गर्ने कामदारको ज्याला, उपकरण मर्मत, विद्युत्को महसुल खर्च कटौती गरी महिनामा ७० हजारजति बचत हुने गरेको छ ।’ बचत भएको रकम चौधरीले सहकारीमा जम्मा गर्दै आएको जानकारी दिए ।

    उनको अनुसार मिलको आम्दानी भएको रकमले उहाँले गाउँमा चार कठ्ठा जग्गा खरिद गर्नुका साथै दुई छोराले धनगढीमा उच्च शिक्षा अध्ययन गराइरहेका छन् । सीमा क्षेत्र नजिकै भएकाले मिलमा कुटानी–पिसानीका लागि भारतीय गाउँ टाटरगञ्जका नागरिक पनि आउने उनका जानकारी दिए ।

    दैनिक भारतीयको चार क्विन्टलजतिको गल्ला कुटानी–पिसानीको काम हुने गरेको चौधरीले बताउनुभयो । नेपाली र भारतीयको गरी दैनिक १० क्विन्टल गल्ला कुटानी–पिसानीको हुने गरेको छ । नजिक अरु कुटानी–पिसानीका मिल नहुँदा ग्राहकको घुइँचो लाग्ने गरेको उहाँको भनाइ छ । ‘तोरीको तेल पेल्न, कुटानी–पिसानी गर्ने भारतीय अधिक आउने गरेका छन्’, चौधरीले भने , ‘भारतीय क्षेत्रमा रहेका मिलले लिने रकमभन्दा यहाँ सस्तो हुँदा उहाँहरू यता आउनुहुन्छ ।’ मिलमा ‘ब्रान’ छाडेमा कुनै शुल्क नलिएर धान कुटानी गरिदिने गरेको उनले बताए ।

    गहुँ पिसानी गरेको प्रतिकिलो रु डेढ, मकैको रु अढाइ, तोरीको तेल निकालेको रु सात लिने गरेका जनाउँदै चौधरीले धान कुटानी गरेपछि आउने ब्रान र तोरीको तेल पेलेर निस्कने पिना(खली) बेचेर अतिरिक्त आम्दानी हुने बताए ।

    आम्दानी भएको रकम बचतमार्फत बजार क्षेत्रमा जग्गा खरिद गरी पक्की घर निर्माण गर्ने योजना रहेको उनले उल्लेख गरे । ग्राहकलाई चाहेकोबेला सेवा दिने भएकाले मिलमा ग्राहकको कमी नहुने उनको बुझाई छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij