• बिहिबार, १ असोज २०८३
  • नाडा अटो शो २०२६ भव्यताका साथ सम्पन्न, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट घोषित

    नाडा अटो शो २०२६ भव्यताका साथ सम्पन्न, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट घोषित

    सबलनेपाल संवाददाता
    भाद्र १४ २०८३, आइतबार

    काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार काठमाडौंको भृकुटीमण्डपमा सफलतापूर्वक सम्पन्न भएको छ।

    आर्थिक सुस्तता र प्रतिकूल मौसमका बाबजुद पनि दर्शकहरूको उल्लेख्य सहभागिता रहेको यस मेलामा नयाँ सवारीसाधन र विशेषगरी विद्युतीय सवारी (ईभी) को उत्साहजनक प्रदर्शन रह्यो भने बीवाईडी, यामाहा लगायतका पाँच स्टल उत्कृष्ट घोषित भएका छन्।

    भदौ ९ गतेदेखि १४ गतेसम्म चलेको यस प्रदर्शनीमा २०० भन्दा बढी स्टलहरू राखिएका थिए। मेलामा २४ वटा यात्रुवाहक (प्यासेन्जर) भेहिकल, १९ वटा लाइट कमर्सियल भेहिकल, १२ वटा दुईपांग्रे ब्राण्ड तथा ३३ वटा बैंक, वित्तीय संस्था र सेवा प्रदायकहरूको सहभागिता रहेको थियो। यस पटकको मेलामा बीवाईडी, टाटा, हुन्डाई, नेटा, अवतार, जिकर, चेरी, डोङफेङ लगायतका ब्राण्डले ल्याएका नयाँ मोडल र विद्युतीय सवारीसाधनहरू अवलोकनकर्ताको मुख्य आकर्षणको केन्द्र बनेका थिए। मेलामा प्यासेन्जर सवारीदेखि कमर्सियल सवारी, अटो कम्पोनेन्ट, र लुब्रिकेन्ट्ससम्मका उत्पादनहरू प्रदर्शन गरिएका थिए।
    सवारीसाधनको खरिदबिक्रीलाई सहज बनाउन मेलामा बैंक तथा वित्तीय संस्थाहरूबीच पनि कडा प्रतिस्पर्धा देखिएको थियो। ग्राहकलाई आकर्षित गर्न बैंकहरूले सस्तो ब्याजदर, सहज कर्जा सुविधा, विशेष छुट अफर र सहज किस्ताबन्दी (EMI) जस्ता सुविधाहरू सार्वजनिक गरेका थिए, जसले ग्राहकलाई सवारीसाधन किन्न थप सहज बनाएको थियो।
    नाडाका अनुसार देशको अर्थतन्त्र सुस्त रहेको र मेलाको सुरुवाती दिनमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपको प्रभाव परे तापनि अवलोकनकर्ताको उपस्थिति निकै उत्साहजनक रह्यो। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विषम परिस्थितिका बाबजुद पनि अटोमोबाइल व्यवसायी, अवलोकनकर्ता र सरोकारवालाबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गरे। उनले भने, “परिस्थितिले हामीलाई कमजोर बनाउन सक्छ, तर हामी आफू कमजोर बन्न सक्दैनौं।” उप्रेतीले यो मेला सवारीसाधन बिक्री गर्ने थलो मात्र नभई नेपालको अटोमोबाइल क्षेत्रको भविष्य र नयाँ प्रविधिको प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च बनेको तथा यसले रोजगारी र उद्यमशीलतालाई समेत प्राथमिकता दिएको बताए।
    मेलाको अन्त्यमा नाडाले गठन गरेको तीन सदस्यीय निर्णायक समितिले विभिन्न विधामा पाँच उत्कृष्ट स्टलहरू छनोट गरी पुरस्कृत गरेको छ। उत्कृष्ट घोषित भएका स्टलहरू यस प्रकार छन्:
    • प्यासेन्जर भेहिकलतर्फ: साइमेक्स इन्क प्रा.लि. (BYD)
    • दुईपांग्रे सवारीतर्फ: एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि. (YAMAHA)
    • कमर्सियल भेहिकलतर्फ: सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा)
    • अटो कम्पोनेन्टतर्फ: अटोपार्ट्स प्रा.लि. (मिसिलिन टायर)
    • बैंक तथा वित्तीय संस्थातर्फ: माछापुच्छ्रे बैंक


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij