• बुधबार, ३१ भाद्र २०८३
  • नाडा अटो शोमा दर्शकको घुइँचो: शनिबार मात्रै ३५ हजारद्वारा अवलोकन

    नाडा अटो शोमा दर्शकको घुइँचो: शनिबार मात्रै ३५ हजारद्वारा अवलोकन

    सबलनेपाल संवाददाता
    भाद्र १४ २०८३, आइतबार
    काठमाडौं ।
    भृकुटीमण्डपमा जारी १६औं संस्करणको ‘नाडा अटो शो’ मा शनिबार दर्शकको उल्लेख्य भीड लागेको छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार शनिबार सार्वजनिक बिदाको दिन मात्रै करिब ३५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन्।
    मङ्गलबारदेखि सुरु भएको यस मेलाको पहिलो दिन करिब ३० हजारले अवलोकन गरेका थिए। तर, बुधबार र बिहीबार वर्षा र खराब मौसमका कारण दर्शकको सङ्ख्यामा कमी आएको थियो। शुक्रबारदेखि पुनः बढ्न थालेको दर्शकको चाप शनिबार उत्साहजनक देखिएको आयोजकले जनाएको छ। शनिबार बिदाको दिन भएकाले कर्पोरेट क्षेत्रका कर्मचारी र नयाँ सवारी खरिद गर्ने योजनामा रहेका ग्राहकहरूको बाक्लो उपस्थिति थियो।
    विद्युतीय सवारी (EV) मुख्य आकर्षण
    मेलामा विशेषगरी नयाँ विद्युतीय कार, मोटरसाइकल तथा स्कुटरप्रति दर्शकको उच्च आकर्षण देखिएको छ। प्रदर्शनीमा करिब दुई दर्जन नयाँ मोडल सार्वजनिक भएका छन्। विद्युतीय गाडीहरूतर्फ टाटा पञ्च ईभी, बीवाईडी सिल, ओमोडा ई५, एमजी४, दीपल, सेरेस ३ र जिकर एक्स जस्ता ब्रान्डका स्टलमा अवलोकनकर्ताको बाक्लो भीड छ। यस्तै, सुजुकी जिम्नी, हुन्डाई भेन्युजस्ता पेट्रोल गाडी र रोयल इन्फिल्ड, यामाहा लगायतका दुई पाङ्ग्रे सवारीमा पनि दर्शकको राम्रो आकर्षण देखिएको छ।
    १२० भन्दा बढी स्टल र आकर्षक अफर
    अटो शोमा २४ वटा चार पाङ्ग्रे, १९ वटा दुई पाङ्ग्रे, १२ वटा कमर्सियल भेइकल र ३३ वटा स्पेयर पार्ट्सका ब्रान्डहरू सहभागी छन्। लुब्रिकेन्ट्स, टायर, ब्याट्री, ग्यारेज उपकरण, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसहित कुल १२० भन्दा बढी स्टलहरू राखिएका छन्। नयाँ मोडलका सवारीमा कम्पनीहरूले ल्याएका आकर्षक छुट, एक्सचेन्ज बोनस र वित्तीय सुविधाले ग्राहकलाई थप आकर्षित गरेको छ। ३० लाखदेखि १.५ करोडसम्म मूल्यका सवारीसाधन उपलब्ध रहेको यो मेला भदौ १६ गतेसम्म सञ्चालन हुनेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij