• बुधबार, ३१ भाद्र २०८३
  • ५०औं वर्षमा नाडाको ऐतिहासिक छलाङ : ‘मेड इन नेपाल’ र अत्याधुनिक प्रविधिको सङ्गम बन्दै अटो शो

    ५०औं वर्षमा नाडाको ऐतिहासिक छलाङ : ‘मेड इन नेपाल’ र अत्याधुनिक प्रविधिको सङ्गम बन्दै अटो शो

    अटो बजारको मन्दी चिर्न आउँदैछ १८औं नाडा अटो शो

    सबलनेपाल संवाददाता
    भाद्र १ २०८३, सोमबार
    काठमाडौँ। अटोमोबाइल क्षेत्रको महाकुम्भ मानिने १८औं नाडा अटो शो २०२६ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ५०औं वर्षगाँठ (स्वर्ण जयन्ती) को विशेष अवसर पारेर हुन लागेको यो प्रदर्शनीमा सुस्ताएको नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाउने र विद्युतीय सवारीसाधनलगायत नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने मुख्य लक्ष्य राखिएको छ।
    यसपटकको अटो शोमा परम्परागत सवारीसाधनको प्रदर्शनीभन्दा केही फरक र अत्याधुनिक आकर्षणहरू थपिएका छन्। भविष्यको यातायात प्रविधिलाई नजिकबाट नियाल्न दर्शकहरूका लागि विशेष रूपमा ‘जीआई ह्युमनोइड’ र ‘जीओ २ क्वाड्रुपेड’ रोबोट प्रदर्शन गरिनेछ। यसका साथै, ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ प्याभिलियनमार्फत स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन तथा सामग्रीहरूलाई प्राथमिकताका साथ छुट्टै स्थानमा राखिनेछ, जसले नेपाली उत्पादनको सामर्थ्य र सम्भावनालाई उजागर गर्नेछ।
    करिब ३ लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस बृहत् प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। नाडा अटो शो समितिका सभापति अनूपकुमार बरालका अनुसार स्वर्ण उत्सव संस्करणलाई ऐतिहासिक बनाउन २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेइकल र ३० वटा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुनेछन्। यसबाहेक पार्टपुर्जा, टायर र ब्याट्रीका लागि ७० वटा स्टल छुट्याइएको छ भने १० वटा वित्तीय एवं बीमा कम्पनीहरू पनि यसमा जोडिएका छन्।
    एचपी लुब्रिकेन्ट्सको शीर्ष प्रायोजनमा आयोजना हुने यस मेलाको आधिकारिक टिकटिङ पार्टनर ‘खल्ती’ एप रहेको छ, जसमार्फत अग्रिम टिकट बुकिङ गर्दा दर्शकले ५० प्रतिशतसम्म क्यासब्याकको सुविधा पाउनेछन्। यातायात व्यवस्थापनलाई सहज बनाउन नेपाल पुलिस क्लब र नेशनल ट्रेडिङ परिसरमा पार्किङको व्यवस्था गरिएको छ भने त्यहाँबाट मेलास्थलसम्म आउजाउ गर्न विशेष सटल बस सेवा सञ्चालन हुनेछ
    मेलास्थलमा पूर्ण सीसीटीभी सुरक्षा निगरानी, अपाङ्गतामैत्री व्हीलचेयर सेवा, आपत्कालीन स्वास्थ्य टोली र ट्राफिक सूचना डेस्कको समेत प्रबन्ध मिलाइएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले यस वर्षको अटो शोलाई विगतभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र अर्थतन्त्रको औद्योगिक विकास झल्काउने किसिमले प्रस्तुत गरिने बताएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij