• बुधबार, ३१ भाद्र २०८३
  • अटो बजारमा २० अर्बको छलाङः नाइमा एक्स्पोमा ईभीको राज, बीवाईडी र टाटाले मारे बाजी

    अटो बजारमा २० अर्बको छलाङः नाइमा एक्स्पोमा ईभीको राज, बीवाईडी र टाटाले मारे बाजी

    सबलनेपाल संवाददाता
    भाद्र १ २०८३, सोमबार

    काठमाडौं । सुस्ताएको अर्थतन्त्र र मन्दीको मारमा परेको अटोमोबाइल बजारलाई ‘बुस्टर डोज’ दिँदै ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। ६ दिनको छोटो अवधिमै करिब २० अर्ब रुपैयाँ बराबरका साढे ७ हजारभन्दा बढी सवारीसाधन बुकिङ हुनुले अटो बजारमा फेरि उत्साहजनक रौनक फर्किएको प्रस्ट संकेत गरेको छ।

    बजारको ट्रेन्डः ‘इन्ट्री लेभल’ ईभीमा ग्राहकको मरिहत्ते
    भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म चलेको यस महाकुम्भमा १८ लाखदेखि ४ करोड रुपैयाँसम्मका गाडीहरू प्रदर्शनीमा थिए। तर, यसपटक मेला पूर्णतः ‘ईभीमय’ बन्यो। विशेषगरी ३० देखि ३५ लाख रुपैयाँ बजेटका ‘इन्ट्री लेभल’ विद्युतीय गाडी (ईभी) मा उपभोक्ताको ओइरो लाग्यो। आयोजकका अनुसार एक्स्पोमा ५ हजार ५०० चारपांग्रे र २ हजारको हाराहारीमा दुईपांग्रे सवारीसाधन बुकिङ भएका छन्।

    चारपांग्रे बजारमा ईभी ब्रान्डहरूबीच कडा टक्कर देखियो, जसमा बीवाईडी ले १ हजारभन्दा बढी गाडी बुकिङ गर्दै आफूलाई अग्रस्थानमा उभ्याएको छ। त्यसैगरी अन्य ब्रान्डहरूको व्यापारिक प्रदर्शन यस्तो रह्यो:

    बीवाईडी: १,०००+

    टाटा र चेरी: ७००+ (प्रत्येक)

    किया: ७००+

    वुलिङ: ४४३

    आईकार: ४२१

    ओमोडा जेको: ३५०

    उता दुईपांग्रेतर्फ पनि विद्युतीय र प्रिमियम ब्रान्डकै क्रेज उच्च देखियो। एथर, याडिया र सीएक्स मोटो जस्ता ईभी ब्रान्डसँगै सीएफ मोटो, ट्राइम्फ र रोयल इन्फिल्डको बुकिङ सर्वाधिक रहेको नाइमाले जनाएको छ।

    १ लाख ८० हजार दर्शक, व्यवसायीले काटे केक
    ५५ ब्रान्डका ४४ वटा नयाँ मोडल ‘अनभिल’ (सार्वजनिक) गरिएको यस मेलालाई करिब १ लाख ८० हजार दर्शकले अवलोकन गरेका थिए। लामो समयदेखि व्यापार सुक्दा निराश बनेका अटोमोबाइल व्यवसायीहरूले ग्राहकको यो अकल्पनीय क्रेज र उत्साहजनक बुकिङसँगै एक्स्पो स्थलमै केक काटेर ‘सेलिब्रेसन’ गरेका छन्। बुकिङ भएका गाडीहरू डेलिभरी हुँदासम्म नेपाली अटो बजारले नयाँ उचाइ लिने व्यवसायीहरूको दाबी छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij