• आइतबार, ३१ साउन २०८३
  • भ्युजको ‘नकारात्मक’ व्यापार र संसद्‌को चीरहरण: बजारको माग कि पत्रकारिताको अवसान

    भ्युजको ‘नकारात्मक’ व्यापार र संसद्‌को चीरहरण: बजारको माग कि पत्रकारिताको अवसान

    दीपा रेग्मी
    जेष्ठ ३ २०८३, आइतबार

     दीपा रेग्मी।

    पछिल्लो समय हामीले संसद् र त्यहाँ वरपर भइरहेका गतिविधिहरू तथा त्यसलाई प्रस्तुत गर्ने मिडियाको शैलीलाई नजिकबाट नियालिरहेका छौं।  संसद जहाँ देशको कानुन बन्छ, जहाँ तीन करोड नेपालीको भविष्य र सार्वभौमिकताको बहस हुन्छ। आज त्यो थलो सूचना प्रविधिको आडमा मौलाएको सस्तो ‘कन्टेन्ट’ संकलन गर्ने थियेटर (नाटकशाला) जस्तो बन्दै गएको छ। देशको ढुकुटी रित्तिँदै गइरहेको अवस्था, परराष्ट्र नीतिमा आएका चुनौती र नागरिकका दैनिक जीविकाका सवालमा संसद्‌भित्र हुनुपर्ने बौद्धिक र नीतिगत बहसलाई आज ‘भ्युज र क्लिक’ को भोकले पूरै विस्थापित गरिदिएको छ। पत्रकारिताको नाममा मौलाएको यो ‘क्यामेरा–आतङ्क’ र ‘ट्रोल–संस्कृति’ अब विकृतिको पराकाष्ठामा पुगिसकेको छ।

    यहाँ एउटा गम्भीर  सामाजिक प्रश्न उब्जिन्छ: के मिडियाले समाज जस्तो छ त्यस्तै देखाउने हो कि समाजको सस्तो र नकारात्मक पाटोलाई मात्र बिकाएर आफ्नो दुनो सोझ्याउने हो?

     नकारात्मकताको बजार र उपभोक्ता मनोविज्ञान: संसारकै साझा रोग

    हामी प्रायः सुन्ने गर्छौं “हामी नेपालीहरू सकारात्मक कुरालाई भन्दा नकारात्मक कुरालाई बढी रुचाउँछौ र बढी सेयर गर्छौ।” यो मनोविज्ञान केवल नेपालमा मात्र होइन, विश्व बजारमै एउटा स्थापित तथ्य हो। मानव विकासको इतिहास (Evolutionary Psychology) हेर्ने हो भने पनि मानिसहरू सुरक्षित रहनका लागि सकारात्मक समाचार भन्दा ‘खतरा’ वा ‘नकारात्मक’ कुराप्रति बढी सतर्क र आकर्षित हुन्छन्। यसैलाई मिडियाको भाषामा ‘नेगेटिभिटी बायस’ (Negativity Bias) भनिन्छ। डिजिटल मिडियाका ‘अल्गोरिदम’ हरूले पनि यही मानवीय कमजोरीलाई समातेर डिजाइन गरिएका हुन्छन्।

    कुनै सांसदले शिक्षा विधेयकमाथि तीन घण्टा अध्ययन गरेर कति उत्कृष्ट संसोधन हाले, त्यसले आम नागरिकको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने समाचारले सामाजिक सञ्जालमा चर्चा पाउँदैन। तर, त्यही सांसदले संसद् भवनको ढोकामा टेक्दा खुट्टा लतपतिएको वा साडीको सप्को नमिलेको दृश्य कैद भयो भने त्यसमा लाखौँ भ्युज र हजारौँ नकारात्मक टिप्पणीको ओइरो लाग्छ।

    यही बजारको मागलाई बुझेर आजभोलिका स्वघोषित भाइरल पत्रकारहरूले नकारात्मकताको खेती गरिरहेका छन्। “जनताले यही मन पराउँछन्, त्यसैले हामीले यही देखाएका हौँ” भन्ने तर्क दिएर उनीहरू आफ्नो हर्कतलाई सही ठहर्‍याउन खोज्छन्। तर प्रश्न उठ्छ: बजारमा माग छ भन्दैमा के चौथो अंगले विष बेच्न मिल्छ?

    निकृष्ट हर्कतलाई पत्रकारिता भन्न सकिँदैन: मर्यादा र आचारसंहिताको कसि

    बजारमा सस्तो र नकारात्मक कुरा बिक्छ भन्दैमा वा कुनै भिडियोमा लाखौँ भ्युज आयो भन्दैमा त्यसलाई ‘पत्रकारिता’ (Journalism) को संज्ञा दिन पटक्कै मिल्दैन। पत्रकारिताको आफ्नै एउटा मूल्य, मान्यता, नम्स (Norms) र आचारसंहिता हुन्छ।

    पत्रकारिता भनेको समाजको कुण्ठालाई थप उचालेर भ्युज बटुल्ने धन्दा होइन; यो त समाजलाई सुसूचित गर्ने, शक्तिमा बस्नेहरूलाई जबाफदेही बनाउने र लोकतन्त्रको पहरेदारी गर्ने निष्ठाको पेसा हो।

    कुनै जननिर्वाचित प्रतिनिधिलाई मर्यादाविपरीत लखेट्नु, व्यक्तिगत जीवनमाथि हिलो छ्याप्नु, र चौबीसै घण्टा ट्रोल बनाएर मानसिक तनाव दिनु पत्रकारिताको कुनै पनि सिद्धान्तभित्र पर्दैन। यसलाई पत्रकारिता होइन, ‘डिजिटल हिंसा’ वा ‘सस्तो कन्टेन्ट क्रिएसन’ मात्र भन्न सकिन्छ। हामी पत्रकार भइसकेपछि आफ्नो सामाजिक उत्तरदायित्व के हो? हामीले खिचेको एउटा दृश्य वा लेखेको एउटा हेडलाइनले समाजलाई कता लैजाँदैछ भन्ने कुराको बोध हुन आवश्यक छ। तर, आजभोलि ‘पत्रकार’ को ट्याग झुन्ड्याएर हिँड्ने एउटा ठूलो जमाना यो जिम्मेवारीबाट पूरै विमुख भइसकेको छ।

    हिरोनी’ को उपमा र चियागफमा खोजिने सस्तो स्क्यान्डल

    यस विकृत पत्रकारिताको सबैभन्दा ठूलो प्रहार संसद्‌भित्रका महिला सांसदहरूमाथि भइरहेको छ। महिला सांसदहरूको संसद्‌मा उपस्थिति उनीहरूको प राजनीतिक संघर्ष, वैचारिक सुझबुझ र जनताको मतको परिणाम हो। तर, क्यामेरा बोकेकाहरूका लागि उनीहरू केवल एक ‘ग्ल्यामरस वस्तु’ जस्ता भएका छन्।

    कुनै महिला सांसद संसद् भवनको परिसरमा प्रवेश गर्नासाथ क्यामेरा जुम गरेर, “हेर्नुस्, हिरोनीभन्दा कम छैनन् यी सांसद!” वा “यी सुन्दरी सांसदको रूपले ततायो सदन” भन्दै हेडलाइन बनाइन्छ। यो पत्रकारिता होइन, यो चरम पितृसत्तात्मक, सतही र निकृष्ट सोचको उपज हो। उनीहरूले सदनमा उठाएका नीतिगत मुद्दालाई ओझेलमा पारेर उनीहरूको रूपरंग, फेसन र पहिरनको चर्चा गर्नु उनीहरूको राजनीतिक अस्तित्व र पदीय मर्यादामाथिको सिधा प्रहार हो।

    त्यस्तै, एउटै क्याबिनेट वा एउटै समितिमा रहेका केटा र केटी सांसदहरू सँगै बसेर चिया खानु, हाँसीमजाक गर्नु वा राजनीतिक गफ गर्नु एउटा नितान्त सामान्य शिष्टाचार हो। तर, बाहिर ढुकेर बसेका ‘भ्युजका भोकाहरू’ ले त्यसलाई अनर्थ लाग्ने गरी क्याप्सन लेखेर, शंकास्पद संगीत पृष्ठभूमिमा हालेर सामाजिक सञ्जालमा चरित्रहत्याको रूपमा पस्किदिन्छन्। यो हर्कतले पत्रकारिताको स्तरलाई रसातलमा पुर्‍याएको छ।

     साइकल, मोटरसाइकल र गाडीको ट्रोल: मुद्दा छोडेर नौटंकीको खेती

    संसद्‌मा बहस हुनुपर्ने र मिडियाले प्रश्न सोध्नुपर्ने मुख्य विषय हो सांसदले कस्तो कानुन बनाए? जनताका समस्या सदनमा कसरी उठाए? तर यहाँ चर्चाको विषय अर्कै बनाइन्छ। सांसद के चढेर आए?

    कोही सांसद जनमानसमाझ सादगी देखाउन वा आफ्नै इच्छाले सामान्य मोटरसाइकल वा साइकलमा आयो भने त्यसलाई “हेर्नुस् यसको नाटक, भोट माग्ने नयाँ फन्डा” भनेर गिज्याइन्छ।

    कोही सांसद सरकारले उपलब्ध गराएको वा आफ्नै वैधानिक कमाइको महँगो गाडीमा आयो भने “जनता भोकभोकै छन्, यिनीहरू मोज गर्दैछन्” भनेर गालीको वर्षा गराइन्छ।

    सांसदको सवारीसाधन, उसको जुत्ताको ब्रान्ड वा उसको खाजाको प्लेटमा क्यामेरा सोझ्याएर समय बर्बाद गर्नुको साटो, देशको अर्थतन्त्र किन ओरालो लाग्यो, बजार किन सुनसान छ र युवाहरू किन दिनदिनै विदेशिँदैछन् भनेर अर्थमन्त्री वा प्रधानमन्त्रीलाई प्रश्न गर्ने हिम्मत ती भाइरल पत्रकारहरूसँग छैन। किनकि, गम्भीर र तथ्याङ्कगत प्रश्न बुझ्न अध्ययन चाहिन्छ, जसमा भ्युज आउँदैन; तर कसैको लुगा वा गाडीको विषयमा ट्रोल बनाउन सजिलो हुन्छ र भ्युजको बाढी आउँछ।

    भाइरल ट्रोलको भय: डरले संसद् छोडेर भाग्दैछन् गम्भीर सांसद

    यस सस्तो र संकीर्ण पत्रकारिताको सबैभन्दा घातक र दीर्घकालीन असर अहिले संसद् र नीति निर्माणमा देखिन थालेको छ। जो सांसदहरू वास्तवमै देश र जनताका मुद्दामा गम्भीर छन्, जसले कानुनका मस्यौदाहरू अध्ययन गरेर सदनमा तर्क राख्न चाहन्छन्, उनीहरू अचेल मिडिया र क्यामेरादेखि डराउन थालेका छन्। उनीहरूमा एउटा गहिरो मानसिक भय (Camera Phobia) पैदा भएको छ।

    उनीहरूलाई डर छ कि  मिडियासँग कुरा गर्दा कतिबेला आफ्नो भनाइको एउटा सानो अंश (Clip) काटेर, प्रसङ्ग बाहिर लगेर, ब्याकग्राउन्डमा उपहासात्मक संगीत हाली टिकटक वा युट्युबमा ट्रोल बनाइने हो। पत्रकारहरूले विषयकेन्द्रित बहस गर्नुको साटो सांसदको व्यक्तिगत जीवन वा आचरणमाथि हिलो छ्यापेर भिडियो भाइरल बनाउने दाउ हेरिरहेका हुन्छन्। यही अपमानित हुने डरका कारण अध्ययनशील र बौद्धिक सांसदहरू पनि अचेल संसद् भवनको लबीमा मिडिया देख्नेबित्तिकै बाटो मोड्न वा मौन बस्न बाध्य भएका छन्। यसले गर्दा जनताले आफ्ना प्रतिनिधिको वास्तविक र परिपक्व विचार सुन्न पाएका छैनन्, र संसद् केवल ‘चिल्ला र उत्तेजक’ नारा लगाउनेहरूको मात्र अखडा बन्दै गएको छ।

    सांसदहरूको आफ्नै मर्यादा: ताली खोज्दा गुमेको गरिमा

    यहाँनेर केवल सञ्चारमाध्यम वा युट्युबरहरूलाई मात्र दोष दिएर जनप्रतिनिधिहरू उम्किन मिल्दैन। संसद् र सांसदहरूले आफैँले आफ्नो मर्यादा कति पालन गरिरहेका छन्? यो उत्तिकै आत्मसमीक्षा गर्नुपर्ने विषय हो।

    कतिपय सांसदहरू आफैँ संसद्‌लाई ‘टिकटक’ वा सस्तो लोकप्रियता (Cheap Popularity) कमाउने थलो बनाउन उद्यत देखिन्छन्। क्यामेरा देख्नेबित्तिकै, वा सदनको प्रत्यक्ष प्रसारण भइरहेको थाहा पाउनेबित्तिकै विषयवस्तुको गहिराइमा नगई, केवल सामाजिक सञ्जालमा ताली र भ्युज पाउनका लागि उत्तेजक, असंसदीय र अमर्यादित शब्दहरू प्रयोग गर्ने प्रवृत्ति स्वयम् माननीयहरूमा पनि हाबी छ। जब सांसदहरू आफैँ भाइरल हुने लोभमा संसद्‌को ओज घटाउने काम गर्छन्, तब तिनै भाइरल पत्रकारहरूलाई संसद्लाई ‘सर्कस’ बनाउने थप मसला मिल्छ। त्यसैले, मिडिया सुध्रिनुअघि सांसदहरू आफैँले पनि आफ्नो पदीय आचरण र मर्यादाको ख्याल गर्नैपर्छ।

    अबको निकास: संसद सचिवालय र नियामक निकायको दायित्व

    यो अराजकता र विद्रूपीकरण यसरी नै बढ्न दिने हो भने भोलि जनताको लोकतान्त्रिक प्रणाली, संसद् र चौथो अंग (मिडिया) सबैमाथिबाट विश्वास पूर्णतः उठ्नेछ। अब संसद सचिवालय, प्रेस काउन्सिल नेपालनेपाल पत्रकार महासंघ जस्ता नियामक निकायहरू कुम्भकर्णको निद्राबाट ब्युँझनै पर्छ।

    प्रवेशको कडा मापदण्ड: सूचना विभागको प्रेस पास वा कुनै संस्थाको परिचयपत्र बोक्दैमा जोसुकैलाई संसद्को भित्री ग्यालरी र परिसरमा क्यामेरा लिएर मर्यादाविपरीतका हर्कत गर्न दिइनु हुँदैन। संसद्को रिपोर्टिङका लागि निश्चित अन्तर्राष्ट्रिय मापदण्ड र ‘प्रेस ग्यालेरी’ को व्यवस्था कडाइका साथ लागू गरिनुपर्छ।पत्रकार र कन्टेन्ट क्रिएटरबीचको भिन्नता: भ्युज बटुल्नका लागि आफैँ नाटक मञ्चन गर्ने, सांसदहरूलाई बाटो छेकेर मानसिक उत्पीडन दिने र व्यक्तिगत आचरणमा प्रहार गर्ने ‘कन्टेन्ट क्रिएटर’ र देशको सूचना प्रवाह गर्ने ‘व्यावसायिक पत्रकार’ बीचको रेखा अब संसद् सचिवालयले स्पष्ट रूपमा कोर्नुपर्छ।

    पत्रकारिता भनेको समाजको ऐना हो, तर जब ऐनामै हिलो र धमिलोपन छ भने त्यसले समाजलाई सही बाटो र अनुहार देखाउन सक्दैन। ‘भ्युज र डलर’ को क्षणिक खेतीका लागि संसद् जस्तो गरिमामय थलोलाई रङ्गमञ्च बनाउने यो निकृष्ट विकृति तत्काल रोकिनैपर्छ। भ्युज आज आउँछ, भोलि जान्छ; युट्युब र टिकटकका ट्रेन्डहरू परिवर्तन भइरहन्छन्, तर पत्रकारिता र संसद्ले एकचोटि गुमाएको साख, मर्यादा र जनविश्वास कहिल्यै फर्किएर आउँदैन। व्यावसायिकता र मर्यादाभित्र रहेर गरिने पत्रकारिताले मात्र लोकतन्त्र र समाजको हित गर्छ। अब पनि यो विकृतिविरुद्ध नबोल्ने र नियमन नगर्ने हो भने हामी धेरै ढिलो भइसकेका हुनेछौँ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij