• बिहिबार, १ असोज २०८३
  • भदौ २४ घटनाबारे रवि लामिछाने को स्पष्टीकरण: “म भागेको होइन, पार्टी संलग्न छैन”

    भदौ २४ घटनाबारे रवि लामिछाने को स्पष्टीकरण: “म भागेको होइन, पार्टी संलग्न छैन”

    सबलनेपाल संवाददाता
    चैत्र ११ २०८२, बुधबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले भदौ २४ को घटनामा आफू र आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताएका छन्।

    जाँचबुझ आयोगसमक्ष दिएको बयानमा उनले उक्त दिनको घटनालाई लिएर स्पष्ट पार्दै भनेका छन् कि कुनै पनि विध्वंसात्मक गतिविधिमा पार्टीको भूमिका नरहेको छ। साथै, यदि कोही संलग्न भएको भेटिए कडा कारबाही गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

    लामिछानेका अनुसार उनी नख्खु कारागार बाट भागेका होइनन्। बरु कारागार प्रशासन र सुरक्षा निकायको आग्रहमा बाहिरको तनावपूर्ण अवस्था व्यवस्थापन गर्न उनलाई बाहिर पठाइएको थियो।

    उनले सुरुमा अदालतको आदेशबिना बाहिर ननिस्कने अडान लिएको बताए पनि भीडको दबाबका कारण आफू बाहिर पुग्न बाध्य भएको जिकिर गरेका छन्। त्यसपछि नजिकैको भवनको बार्दलीबाट उनले भीडलाई शान्त रहन र सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका थिए।

    उनले आफूलाई कारागार प्रशासनकै निर्णयअनुसार भीडको जिम्मा लगाइएको दाबी गर्दै, उक्त घटनामा आफ्नो इच्छाविपरीत बाहिर जानु परेको बताएका छन्।

    कारागारबाट बाहिरिएपछि उनी शुभेच्छुकहरूको सहयोगमा सुरक्षित स्थानमा पुगेका थिए र त्यसपछि सुरक्षा निकायलाई आफ्नो अवस्थाबारे जानकारी गराएका थिए। केही दिनपछि, सुरक्षाको प्रत्याभूति पाएपछि उनी पुनः कारागार फर्किएको पनि उनले बताएका छन्।

    यस घटनाबाट सिक्दै उनले कारागार सुधारका लागि खुला कारागार नीति लागू गर्न, कैदीबन्दीको मानसिक स्वास्थ्य तथा कानुनी परामर्श प्रणाली सुदृढ गर्न र पुनर्समीक्षा संयन्त्र स्थापना गर्नुपर्ने सुझाव दिएका छन्।

     

     लामिछानेको बयानको पूर्णपाठ

    मिति २०८२ भाद्र २३ गतेसम्म कारागारको अवस्था सामान्य नै थियो । तर भदौ २४ गते करिब दिउँसो साढे १२ बजे कारागारका नाइकेहरूले मलाई कार्यालयमा बोलाई सुरक्षा निकायका प्रतिनिधिहरूले कारागार बाहिर असामान्य अवस्था सिर्जना भएको, ठूलो भीड जम्मा भएको र मलाई परिवार तथा पार्टीको जिम्मा लगाइ बाहिर पठाउनुपर्ने अवस्था आएको जानकारी गराए ।

    मैले अदालतको आदेशबिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरें । तथापि, जेल प्रशासनले भीडलाई म स्वयंले सम्झाउन सक्ने भन्दै पटक-पटक आग्रह गरेपछि म कारागार प्राङ्गणमै रहेर भीडलाई सम्बोधन गर्न तयार भएँ र माइकको व्यवस्था गर्न भनें ।

    प्रहरी आत्तिएको अवस्थामा भीडले मलाई धकेल्दै बाहिर पुर्‍यायो । त्यसपछि म कारागार छेउको रेस्टुरेन्टको बार्दलीमा चढी भीडलाई शान्ति, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गर्दै सम्बोधन गरें ।

    कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नहुँदै भीडले मलाई कारागार बाहिर लगे ।

    पछि मैले कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन प्रक्रियामा मेरो कुनै सहभागिता थिएन, त्यसैले सो पत्रको सम्बन्धमा जेल प्रशासन स्वयं जवाफदेही हुनुपर्छ भन्ने मेरो धारणा हो ।

    वास्तवमा मलाई कारागार प्रशासनकै निर्देशनमा भीडको जिम्मा लगाइयो र म निस्किन नचाहँदा नचाहँदै जबरजस्ती बाहिर पठाइयो ।

    भदौ २४ को घटनामा मेरो र मेरो पार्टीको संलग्नता नरहेको स्पष्ट पार्दै मैले र राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका नखेलेको जनाएका छौं, र यदि कोही संलग्न भेटिए कडा कारबाही गरिनेछ भन्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    कारागारबाट बाहिरिएपछि शुभेच्छुकहरूको सहयोगमा कलाकार रामकृष्ण ढकालको गाडीमार्फत म सुरक्षित स्थानमा पुगेँ र तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका प्रमुखहरूलाई आफ्नो अवस्थाबारे जानकारी गराएँ ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij