• बिहिबार, १ असोज २०८३
  • एनटिभीकी पहिलो महिला क्यामेरापर्सन विष्णु पन्थीलाई विशेष सम्मान

    एनटिभीकी पहिलो महिला क्यामेरापर्सन विष्णु पन्थीलाई विशेष सम्मान

    सबलनेपाल संवाददाता
    पुष २९ २०८२, मंगलबार

    काठमाडौँ, २७ पुस ।चन्द्रागिरि नगरपालिकास्थित कमला कार्की स्मृति प्रतिष्ठान ले आफ्नो दशौँ स्मृति दिवसको अवसरमा नेपाल टेलिभिजन (एनटिभी) की पहिलो महिला छायाकार विष्णु पन्थीलाई विशेष सम्मान गरेको छ।
    आइतबार नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित भव्य समारोहका बीच पत्रकारिता तथा सञ्चारको प्राविधिक क्षेत्रमा उनले पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै प्रतिष्ठानले उनलाई सम्मानपत्र र ताम्रपत्र प्रदान गरेको हो।

    नेपालको सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनको इतिहासमा पहिलो महिला छायाकारका रूपमा आफ्नो छुट्टै पहिचान बनाएकी पन्थी लामो समयदेखि यस क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। परम्परागत रूपमा पुरुषप्रधान मानिने छायांकन क्षेत्रमा महिलाहरूको पनि सशक्त र सक्षम उपस्थिति सम्भव छ भन्ने तथ्यलाई व्यवहारमै प्रमाणित गरेबापत उनलाई यो वर्षको विशिष्ट सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

    सम्मान ग्रहणपछि मन्तव्य राख्दै पन्थीले भनिन्,“एनटिभीमा काम सुरु गर्दा दिनहरू चुनौतीपूर्ण थिए। तर आज यस्तो सम्मान पाउँदा मेरा संघर्षहरू सार्थक भएको अनुभूति भएको छ। यसले मलाई अझ जिम्मेवार भएर काम गर्न र नयाँ पुस्ताका महिलाहरूलाई यस क्षेत्रमा आउन प्रेरणा दिन थप ऊर्जा दिएको छ।”

    प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट व्यक्तित्वहरू तथा स्थानीय समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका अन्य व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

    विगत एक दशकदेखि कमला कार्की स्मृति प्रतिष्ठानले स्वर्गीय कमला कार्कीको स्मृतिमा महिला सशक्तीकरण, सामाजिक सेवा तथा प्रतिभाको कदर गर्दै विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij