• बिहिबार, १ असोज २०८३
  • नेपाली सिनेमाको नक्सामा नयाँ हस्ताक्षर: ‘माग्ने राजा’

    नेपाली सिनेमाको नक्सामा नयाँ हस्ताक्षर: ‘माग्ने राजा’

    दीपा रेग्मी
    भाद्र १० २०८२, मंगलबार

    नेपाली चलचित्रले केवल हलभरि हाँसो छर्न मात्र होइन, दर्शकको मनभित्र गहिरो चेतना बोकेर फर्किन पनि सक्छ भन्ने बलियो प्रमाण बनेको छ ‘माग्ने राजा’। निर्देशक ऋषि लामिछानेले यस फिल्ममार्फत आफूलाई ‘सिरियस कमेडी’ शैलीमा ब्रान्ड निर्देशकका रूपमा स्थापित गर्न सफल भएका छन्। सामाखुसीको सिटी स्क्वारमा बेलुकी ७ बजेको शोमा करिब ८५ प्रतिशत हल भरिएको थियो। दर्शक हलभित्र निरन्तर हाँसिरहेका थिए, तर त्यो हाँसोको छायामुनि राजनीति, समाज र मानव जीवनबारे गहिरा प्रश्नहरू बोकेर हलबाट बाहिरिएका थिए। यही त ऋषि लामिछानेको सफलता हो ।मनोरञ्जन र सन्देशको सन्तुलनलाई एकै क्यानभासमा उतार्ने अद्वितीय दृष्टि।

    फिल्मले सुरुमा ऋणको भारी बोकेर बाँचिरहेका मगन्त नारायण अर्थात कुबेर शर्मालाई देखाउँछ, जो अचानक करोडौंको मालिक बन्छन्। पैसाले ल्याउने क्षणिक विलासीपन, त्यसपछिको सत्ताको राजनीति र समाजको कठोर यथार्थ यी सबैलाई फिल्मले हास्य, व्यंग्य र जीवन्त संवादमार्फत प्रस्तुत गरेको छ। सबैभन्दा गहिरो प्रभाव भने अन्त्यतिर आएको Right to Reject को प्रसंगले छोड्छ, जसले मन नपर्ने उम्मेदवारलाई अस्वीकार गर्ने नागरिक अधिकारलाई केवल सिनेमाको दृश्य होइन, आजको नेपालको कठोर राजनीतिक यथार्थप्रति व्यंग्यात्मक तर शक्तिशाली टिप्पणी बनाइदिन्छ।

    कलाकारहरूको अभिनय
    मुख्य भूमिकामा केदार घिमिरे ‘मगन्त नारायण अर्थात कुबेर शर्मा ’ ले फेरि एकपटक प्रमाणित गरे कि उनी नेपाली हास्य ,व्यंग्य सिनेमाको मेरुदण्ड हुन्। उनको अभिनयमा केवल हाँसो मात्र छैन, संघर्ष र पीडाभित्र लुकेको गहिरो यथार्थ पनि स्पष्ट झल्किन्छ। माग्ने पात्रलाई पर्दामा जिउँदो बनाउने उनको क्षमता साँच्चिकै अद्वितीय छ।

    वर्षा सिवाकोटीले माग्ने नारायणसँग गाँसिएको भावनात्मक पक्षलाई निकै प्रभावकारी ढंगले प्रस्तुत गरेकी छन्। उनका भाव, संवाद र संवेदनशील प्रस्तुतीले दर्शकलाई कथा र पात्रसँग भावनात्मक रूपमा जोड्छ।

    विल्सन विक्रम राई ‘तक्मे बुढा’ ले हलभरि निरन्तर हाँसो छरिदिए। उनको हावभाव र संवादको टाइमिङले फिल्मलाई हल्का र रमाइलो बनाइरह्यो, जसले दर्शकलाई सुरुदेखि अन्त्यसम्म तानेर राख्यो।

    शिशिर वाङ्देल मेयरको भूमिकामा विश्वसनीय देखिए। माग्ने र मेयरबीचको द्वन्द्व अझ स्पष्ट खिचिएको भए उनको भूमिकाले अझै ठूलो प्रभाव पार्थ्यो। तर पनि अभिनयमा उनले आफ्नो उपस्थिति गहिरो बनाएका छन्।

    आर्यन सिग्देल छोटो भूमिकामा भए पनि दर्शकलाई चकित पार्ने उपस्थिति देखाए। उनको छोटो समयको अभिनय नै स्मरणीय बन्न पुगेको छ।

    यी सबै कलाकारहरूलाई यसरी जीवन्त र संतुलित ढंगले प्रस्तुत गर्ने श्रेय अन्ततः निर्देशक ऋषि लामिछानेलाई नै जान्छ। उनी कलाकारको बलियो अभिनयलाई सही ठाउँमा प्रयोग गर्दै, हाँसोभित्र चेतना, र मनोरञ्जनभित्र गहिरो संदेश घोल्न सफल भएका छन्। यही कारण, ‘माग्ने राजा’ मात्र फिल्म नभई, ऋषि लामिछाने ब्रान्डको परिचय पत्र बनेको छ।

    संगीत र प्राविधिक पक्ष
    फिल्मको संगीतले कथालाई थप रमाइलो र जीवन्त बनाउन ठूलो योगदान दिएको छ। विशेषगरी “सुतेर उठेको पैसामा” जस्तो गीतले हलमा उत्साह थप्यो, दर्शकलाई सहजै गुनगुनाउन सक्ने खालको ऊर्जा दियो। गीतहरूले केवल मनोरञ्जन मात्र गरेनन्, माग्ने पात्रको चरित्र र परिस्थितिसँग मेल खाँदै कथालाई थप प्राणवान बनाए।

    ब्याकग्राउण्ड स्कोर केही दृश्यमा अलिक उचालिएको महसुस भए पनि समग्रमा कथाको लयसँगै सन्तुलित रुपमा बग्छ। भावनात्मक दृश्यमा स्कोरले गहिराइ थप्छ भने हास्य दृश्यमा हाँसो झन् प्रखर बनाउन सहयोग गर्छ।

    सिनेम्याटोग्राफीतर्फ पनि फिल्म प्रशंसनीय छ। क्यामेराको प्रयोग सफा, क्लिन र प्रवाहिलो देखिन्छ। दृश्यहरूले कथालाई सहजै अगाडि बढाएका छन् र राजनीतिक व्यंग्यमा आधारित कथालाई पनि भिजुअल्ली आकर्षक बनाउन सफल भएका छन्। रंगछटा, फ्रेमिङ र प्रकाशको संयोजनले नेपाली सिनेमामा प्राविधिक स्तरमा आएको प्रगति झल्काएको छ।

    सबल पक्ष
    ‘माग्ने राजा’को सबभन्दा ठूलो सबल पक्ष यसको कथा–वस्तु र त्यसलाई प्रस्तुत गर्ने तरिका हो। नेपाली राजनीतिको धमिलो यथार्थ, नेताहरूको सत्तासंघर्ष र जनताले भोग्नु परेको विडम्बनालाई निर्देशक ऋषि लामिछानेले हल्का हास्य–व्यंग्यको चश्माबाट यति सरल र प्रभावकारी ढंगले उतारेका छन् कि दर्शक हाँस्दै–हाँस्दै गम्भीर प्रश्नहरूसँग जुध्न बाध्य हुन्छ। माग्ने पात्र रातारात राजामा रूपान्तरण हुँदा देखिने व्यंग्यात्मक यथार्थले मात्र मनोरञ्जन दिँदैन, बरु समाजलाई ऐनाजस्तै देखाइदिन्छ। यसै कारण, फिल्म हेरेपछि हलबाट बाहिरिँदा दर्शक केवल रमाइरहेका हुँदैनन्, बरु “हाम्रो राजनीति किन यस्तो छ?” भन्ने सोच पनि मनमा बोकिरहेका हुन्छन्।

    यस बाहेक, कलाकारहरूको सशक्त अभिनयले पनि फिल्मलाई सबल बनाएको छ। केदार घिमिरेको माग्ने पात्रले कथालाई मेरुदण्ड दिएको छ भने वर्षा सिवाकोटीले भावनात्मक गहिराइ थपेकी छन्। विल्सन विक्रम राईले निरन्तर हाँसो छरिदिँदा फिल्मको लय कहिल्यै खस्किँदैन। गीत–संगीतले हलमा उत्साह थप्छ, विशेषगरी “सुतेर उठेको पैसामा” जस्तो गीतले दर्शकलाई सजिलै तान्छ। प्राविधिक पक्षमा पनि फिल्म पछाडि छैन—सफा सिनेम्याटोग्राफी, सुगम सम्पादन र उपयुक्त ब्याकग्राउण्ड स्कोरले सम्पूर्ण कथालाई जीवन्त बनाएका छन्।

    सधैं सहायक पात्रका रूपमा चिनिँदै आएका ‘माग्ने बुढा’ केदार घिमिरे यसपटक ‘माग्ने राजा’मा केन्द्रमा उभिँदा, उनले दिएको प्रभाव यति बलियो छ कि दर्शकलाई छक्का पञ्जा श्रृंखलामा उनी भरेका प्राणसमेत क्षणभर बिर्साइदिन्छ। यो मात्र केदार घिमिरेको अभिनय क्षमताको जीत होइन, यो निर्देशक ऋषि लामिछानेको साहसिक दृष्टिको विजय पनि हो। कुनै समयका स्टार आर्यन सिग्देललाई पनि छायामा पार्दै उनले माग्ने बुढालाई फिल्मको मेरुदण्ड बनाइदिएका छन्। यही प्रयोगले दर्शकलाई चकित मात्र पारेको छैन, नेपाली फिल्ममै नयाँ परिभाषा थपिदिएको छ। सिनेमाभरि संवादहरूले हलमा हाँसो छर्छन्, तर त्यो हाँसो सतही होइन—देशको कथा, आम नेपालीको पीडा र यथार्थ बोकेको हाँसो हो। हाँस्दै–हाँस्दै मन छुने, सोच्न बाध्य पार्ने र परिवारसहित नहेरी बस्नै नसकिने यस्तो सिनेमा नेपाली फिल्म उद्योगकै गौरव हो भन्न सकिन्छ।

    समग्रमा ‘माग्ने राजा’ हाँसाउँदै चेतना जगाउने, रमाइलोसँगै गहिरो प्रश्न सोध्ने र हलबाट बाहिरिँदा दर्शकलाई नयाँ सोचका साथ फर्काउने चलचित्र बनेको छ। यी सबै तत्त्वलाई सन्तुलित ढंगले प्रस्तुत गर्नेमा निर्देशक ऋषि लामिछानेको दृष्टि नै फिल्मको अन्तिम बल हो। उनले कलाकारलाई सही ठाउँमा चम्काउन, हास्य र सन्देशबीच सन्तुलन मिलाउन र नेपाली सिनेमालाई एकैसाथ मनोरञ्जन र चेतनाको नयाँ उचाइमा पुर्‍याउन सक्षम भएको देखिन्छ। यही कारण, ‘माग्ने राजा’ केवल एउटा चलचित्र मात्र होइन, नेपाली समाज र राजनीति बुझ्ने एउटा प्रबन्धपत्रझैँ अनुभूत हुन्छ।

    सुधारको आवश्यकता
    फिल्म समग्रमा मनोरञ्जन र सन्देश दुबै पक्षमा प्रभावकारी छ। तर, केही ठाउँमा अझ मजबुत बनाउन सकिने सम्भावना देखिन्छ। विशेषतः अन्त्यतिर आउने सम्पत्ति शुद्धीकरण र चुनावी प्रसंगमा माग्ने र मेयरबीचको द्वन्द्वलाई अझ तर्कसंगत र गहिरो रूपमा प्रस्तुत गर्न सकिएको भए कथा झन् ‘टाइट’ र प्रभावशाली हुन्थ्यो।

    यद्यपि, यी साना कमजोरीहरूले फिल्मको सम्पूर्ण प्रभाव घटाएका छैनन्। बरु यसले दर्शकलाई अझ सोच्न बाध्य बनाएको छ। हाँसो र व्यंग्यका बीचमा उठाइएका यस्ता सामाजिक र राजनीतिक प्रसंगहरूले चलचित्रलाई साधारण मनोरञ्जन भन्दा पर उठाएर चेतना दिने स्तरमा पुर्‍याएका छन्।     

    अन्त्यमा
    ‘माग्ने राजा’ केवल हलमा बसेर दुई घण्टा हाँस्ने चलचित्र मात्र होइन, हाँसोभित्र लुकेको समाज र राजनीति सम्बन्धी गहिरो सन्देश बोक्ने चेतनामूलक सिर्जना हो। फिल्मले दर्शकलाई रमाइलोमा डुबाउँछ, तर हलबाट बाहिरिँदा सोच्न बाध्य पनि बनाउँछ—राजनीति किन यति जटिल छ, जनताले आफ्नो अधिकार कसरी उपभोग गर्न सक्छन्, र पैसामात्र जीवनको सबथोक होइन भन्ने गहिरो बोध दिलाउँछ। यही कारण, दर्शकले टिकटको मूल्य खेर गएको महसुस नगरी बरु अर्को सिक्वेल ‘माग्ने महाराज’ को प्रतीक्षामा मन तानिएको अनुभव गर्छन्।

    तर यस सबैभन्दा ठूलो उपलब्धि भनेको, ‘माग्ने राजा’ले नेपाली सिनेमामा नयाँ आशा र आत्मविश्वास जगाएको छ। विशेषगरी निर्देशक ऋषि लामिछानेले यस फिल्ममार्फत प्रमाणित गरेका छन् कि उनी अब केवल एउटा फिल्म निर्देशक मात्र होइन, ब्रान्ड निर्देशक को परिचयमा उदाएका छन्। कलाकारलाई सशक्त बनाउन सक्ने क्षमता, हाँसो र चेतनालाई समानान्तर अघि बढाउने दृष्टि, र नेपाली कथा–वस्तुलाई विश्वसनीय ढंगले प्रस्तुत गर्ने उनको शैली नै ‘माग्ने राजा’लाई विशेष बनाएको छ। यसैले यो चलचित्र नेपाली सिनेमामा एउटा महत्वपूर्ण माइलस्टोनका रूपमा स्मरणीय बन्ने निश्चित छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij