• बुधबार, ३१ भाद्र २०८३
  • फूलसँग खेल्दाखेल्दै नर्सरी व्यवसाय सुरु गरेकी सविना

    फूलसँग खेल्दाखेल्दै नर्सरी व्यवसाय सुरु गरेकी सविना

    सबलनेपाल संवाददाता
    असार २५ २०८२, बुधबार

    खोटाङ – फूल कसलाई मन नपर्ला र ? केटाकेटी होस् या वृद्धवृद्धा जोकोहीलाई मनपर्छ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई कसजू पनि फूलको सौखिन रहेका थिए ।

    घर आँगन सजाउने रहरले एउटा, दुईवटा बोट रोप्दारोप्दै घर आसपास फूलले ढाक्यो । अन्ततः त्यही सौख व्यवसायमा परिणत भयो । दुईवर्ष अघि उनले ‘सहयोगी पुष्प नर्सरी’ नै दर्ता गरे ‘यही व्यवसाय गर्छु भनेर सोचेकै थिइँन’, उनी भन्छन्, ‘फूल रोप्दारोप्दै व्यवसाय गर्नुपर्ला कि भन्ने सोच आएर नर्सरी व्यवसाय दर्ता गरेकी हुँ ।’

    उनको नर्सरीमा हाल १०० बढी प्रजातिका फूलका बिरुवा छन् । प्रति बिरुवा रु १५० देखि रु दुई हजार ५०० सम्मका फूलका बिरुवा उहाँको नर्सरीमा पाइन्छ । बगनबेली, लालुपाते, बेगुनिया, एजेलिया, गोदाबारी, पिटोनिया, भर्विना, ग्लाग्सोनिया, सिजेनियम, लिलियम, यन्थोरियम, डेन्थस, गजनिया, जर्भेरा, क्रिसमस ट्री, गोलक्रस, साइकस, सल्फेरा, सिपोटियम, स्नोह्वाइट, चाईना डललगायत प्रजातिका फूलका बिरुवा नर्सरीमा ढकमक्क छन् ।

    उत्पादन भएकामध्ये सबैभन्दा बढी बगनबेली, लालुपाते, बेगुनिया र एजेलिया प्रजातिका फूलका बिरुवा बिक्री हुने गरेको उनले बताए ।ग्राहकको माग बढ्दै गएपछि रु चार लाख लगानीमा सुरु गरेको पुष्प व्यवसाय यस वर्षदेखि थप विस्तार गर्ने तयारीमा छन् ।

    आम्दानीसमेत दिन थालेपछि व्यवसाय थप विस्तार गर्ने तयारीमा रहेको उनले बताए । ‘मलाई फूलसँग खेल्न रमाईलो लाग्छ । धेरैजसो समय फूलको बगानमै हुन्छु । रहरै रहरमा सुरु गरिएको फूल खेतीले आम्दानीसमेत दिन थालेको छ, पछिल्लो समय फूलका बिरुवा खरिद गर्न ग्राहकहरु दैनिक आउन थालेका छन् । यसले मलाई व्यवसायिक बन्न प्रेरणा मिलेको छ’, उनले भने ।

    तीनवटा प्लाष्टिक टनेल बनाएर व्यावसायिक फूल खेती सुरु गरेका सविनालाई उनका श्रीमान इन्द्र कसजूले सहयोग गर्दै आएका छन्। फूलका बिरुवा खरिद गर्ने ग्राहक जिल्लाभित्र र बाहिरका समेत छन् । आधिकारिक रुपमा फर्म दर्ता गरेर फूलको बिरुवा उत्पादन गरेर बिक्री गर्नेगरी व्यवसायिक खेती सुरु गरेको पहिलो वर्षबाटै नर्सरीले आम्दानी दिन थालेको सविनाले बताए। हाल उनले वार्षिक खर्च कटाएर रु एक लाख जति बचत गर्न थालेका । विस्तारै आम्दानी वृद्धि हुने अनुमान उनको भनाई छ ।

    दुई वर्षअघि इलाम र पाँचथरबाट खरिद गरेर ल्याइएका फूलका बिरुवालाई मूल बोटको रुपमा विकास गर्दै बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेका छन्। केही समययता जिल्लामा हुने विभिन्न कार्यक्रममा उनकै नर्सरीमा उत्पादित फूलको प्रयोग गर्ने गरिएको छ । सदरमुकाम दिक्तेल बजारमै पक्की घरहरु धमाधम बनिरहेकाले घरहरुमा सजाउन पनि स्थानीयले फूलका बिरुवा खरिद गर्नेक्रम बढ्दै गएको छ । नर्सरीको आम्दानीले छोराको पढाइ तथा घर खर्च टार्ने गरेको सविनाले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij