• बुधबार, ३१ भाद्र २०८३
  • शान्तिको सन्देश बोकेर वैशाख १५ देखि ‘टुर डे लुम्बिनी’ सुरु हुँदै, युवा सहभागितामा जोड

    शान्तिको सन्देश बोकेर वैशाख १५ देखि ‘टुर डे लुम्बिनी’ सुरु हुँदै, युवा सहभागितामा जोड

    सबलनेपाल संवाददाता
    बैशाख १० २०८३, बिहिबार

    काठमाडौँ — नेपाललाई विश्वमाझ ‘शान्ति क्षेत्र’ (Peace State) का रूपमा स्थापित गर्ने र दिगो पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी वैशाख १५ गतेदेखि ‘टुर डे लुम्बिनी शान्तिका लागि साइकल यात्रा’ (TDL-P4P) को २०२६ संस्करण आयोजना हुने भएको छ । काठमाडौँदेखि भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म सञ्चालन हुने यो पाँच दिने साइकल यात्रा वैशाख १९ गते (अप्रिल २८ देखि मे २) सम्म चल्नेछ ।
    सामाजिक उद्यमी एवं अशोका फेलो मेघ आलेको अवधारणामा सन् २०१२ देखि सुरु भएको यस अभियानले दशक लामो सशस्त्र द्वन्द्वपछिको संक्रमणकालीन अवस्थामा शान्ति र पुनर्निर्माणको मार्गलाई अघि बढाउन निरन्तरता दिँदै आएको छ । यस वर्षको संस्करणमा विशेषगरी ‘जेन जी’ (Gen Z) पुस्ताका युवाहरूको सक्रिय सहभागितालाई प्राथमिकता दिइएको आयोजकले जनाएका छन् ।
    साहसिक पर्यटनका अभियन्ता एवं टुर डे लुम्बिनीका अध्यक्ष मेघ बहादुर आलेले यस पटकको यात्रालाई युवा र प्रविधिसँग जोड्न खोजिएको बताए ।  उनका अनुसार, “डिजिटल युगमा युवाहरूको सक्रियतालाई केवल ग्याजेटमा मात्र सीमित नगरी उनीहरूको शारीरिक सहनशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो, पारदर्शी र शान्तिपूर्ण भविष्यका लागि आवाज उठाउने मञ्चका रूपमा यो यात्राले काम गर्नेछ ।”
    हालको विश्व परिवेशमा रुस-युक्रेन युद्ध तथा मध्यपूर्वमा देखिएको तनावका कारण बढ्दो अस्थिरताबीच यस्ता स्थानीय स्तरका शान्ति अभियानहरूको महत्त्व झन् बढेको आयोजकको ठहर छ । यात्रामा स्वदेशी तथा विदेशी साइकल यात्री, कर्पोरेट क्षेत्र र सञ्चारकर्मीहरूको सहभागिता रहनेछ ।
    विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा सुरु भएको यो अभियानले भविष्यमा शान्तिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने लक्ष्यसमेत राखेको छ । भारत र चीन जस्ता ठूला अर्थतन्त्रका बीचमा रहेको नेपालले विश्व शान्ति संवादको केन्द्रका रूपमा भूमिका खेल्न सक्ने विश्वासका साथ यो र्‍याली सञ्चालन हुन लागेको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij