• बुधबार, ३१ भाद्र २०८३
  • १३ दिनपछि ओली रिहा, अस्पतालमै परिवारको जिम्म

    १३ दिनपछि ओली रिहा, अस्पतालमै परिवारको जिम्म

    सबलनेपाल संवाददाता
    चैत्र २६ २०८२, बिहिबार

    काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले १३ दिनपछि रिहा गरेको छ। उनलाई त्रिवि शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    प्रहरीका अनुसार ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अस्पतालमै राखेर परिवारको जिम्मा लगाइएको हो। उनको थप उपचार र अवस्थाबारे निर्णय चिकित्सकको सल्लाहमा हुने बताइएको छ।

    ओलीलाई चैत १४ गते जेनजी आन्दोलनमा दमन गरेको आरोपमा निवासबाट पक्राउ गरिएको थियो। पक्राउपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

    यसबीच, ओलीकी पत्नी राधिका शाक्यले गैरकानूनी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २६ गतेभित्र अनुसन्धान टुंग्याउन आदेश दिएको थियो।

    अदालतले तोकेको समयभित्र अनुसन्धान पूरा नभए शर्तसहित रिहा गर्न निर्देशन दिएको थियो। सोही आदेशअनुसार प्रहरीले उनलाई नियन्त्रणमुक्त गरेको हो।

    रिहाइपछि ओलीलाई लिन उनकी पत्नी अस्पताल पुगेकी थिइन्। हाल उनी चिकित्सकको निगरानीमा उपचाररत छन्।

    ओलीको रिहाइसँगै पछिल्लो राजनीतिक घटनाक्रममा नयाँ मोड आएको विश्लेषण गरिएको छ भने अनुसन्धान प्रक्रिया अझै जारी रहने प्रहरीको भनाइ छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij