काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तिलगंगा काठमाडौँस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । परोपकारी संस्थाका रूपमा काम गरिरहेको यस संस्थाअन्तर्गत रहेका विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले उक्त सहयोग गरिएको बताइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले शैक्षिक सामग्री संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई बिहीवार हस्तान्तरण गरेका हुन् ।
बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरीब, जेहेनदार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शान्ति सेवा गृह काठमाडौँमा रहेका यी विद्यार्थीलाई गरिएको शैक्षिक सामग्री सहयोगले उनीहरूको शैक्षिक गुणस्तर बढ्नुको साथै आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।