• बिहिबार, १ असोज २०८३
  • घरमै पुगेर स्वास्थ्य सेवा: काठमाडौं महानगरले ७० वर्षमाथिका र अशक्त ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम सुरु

    घरमै पुगेर स्वास्थ्य सेवा: काठमाडौं महानगरले ७० वर्षमाथिका र अशक्त ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम सुरु

    सबलनेपाल संवाददाता
    माघ १८ २०८२, आइतबार

    काठमाडौं, माघ १८ – काठमाडौं महानगरपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त अवस्थामा रहेका नागरिकलाई लक्षित गर्दै घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ कार्यक्रम आजदेखि सुरु गरेको छ।

    यस कार्यक्रम अन्तर्गत महानगरका स्वास्थ्यकर्मीहरू घरघरमै पुगेर आधारभूत स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य परामर्श दिने तथा आवश्यक औषधि उपलब्ध गराउनेछन्। बिरामीको अवस्था जटिल देखिएमा सम्बन्धित अस्पतालसम्म पुर्‍याउने र उपचार प्रक्रियामा सहजीकरणसमेत महानगरपालिकाले गर्ने व्यवस्था मिलाइएको छ।

    महानगरका अनुसार यो सेवा विशेषगरी ओछ्यानमै बस्न बाध्य, दीर्घ रोगबाट पीडित, आर्थिक रूपमा कमजोर तथा परिवारको पर्याप्त सहयोग नपाइरहेका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर सञ्चालन गरिनेछ।

    स्वास्थ्य टोलीले घरमै रक्तचाप (ब्लड प्रेसर), नाडी गति, अक्सिजन स्तर, सामान्य शारीरिक अवस्था जाँच लगायत आधारभूत परीक्षण गर्नेछ। आवश्यक औषधि तत्काल उपलब्ध गराइनेछ भने थप जाँच वा उपचार आवश्यक परे अस्पताल रेफर गरिने व्यवस्था छ।

    महानगरपालिकाले यो कार्यक्रमलाई “घरदैलोमै स्वास्थ्य सुरक्षा” अभियानको रूपमा अगाडि बढाएको जनाएको छ। अस्पताल जान नसक्ने वा जान गाह्रो हुने ज्येष्ठ नागरिकलाई लक्षित गरी स्वास्थ्य सेवा पहुँचमै ल्याउने उद्देश्यले यो पहल गरिएको हो।स्थानीय तहबाट प्रत्यक्ष रूपमा घरमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको यो कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij