दीपा रेग्मी। बिहानै ओछ्यानबाट ब्युँझिएर मोबाइलमा फेसबुक र टिकटक हेर्दै गर्दा मेरो अगाडि एकजना चर्चित ‘कन्टेन्ट क्रिएटर’ (भिडियो बनाउने मान्छे) को भिडियो आइपुग्यो। ती भिडियो बनाउने भाई बडो नाटकीय रूपमा भन्दै थिए। “करेन्ट चाउचाउ त २२ वटा देशमा बिक्ने ठूलो ब्रान्ड हो। सरकारी प्रयोगशालाले खराबी देखाएको त केवल एउटा ब्याच (लट) मा मात्र हो, अरू चाउचाउ त सबै एकदमै राम्रा छन्। त्यसैले ढुक्क भएर मज्जाले खाए हुन्छ!”
कम्पनीबाट पैसा पाएपछि ती भिडियो बनाउनेहरूले जसरी “एउटा ब्याच मात्र खराब हो, अरू सब राम्रो छ” भन्दै चाउचाउको बचाउ गरिरहेका छन्, त्यसले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो। सरकारी कार्यालय ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग’ ले करेन्ट चाउचाउको ब्याच ०४A र लाली चाउचाउको ब्याच ०२A मा खानै नहुने बिग्रिएको तेल फेला पारेर बजारबाट तत्काल फिर्ता गर्न र बिक्री रोक्न आदेश दिएको कुरा सत्य हो।
तर कम्पनीले आफ्नो गल्ती बाहिर आएपछि देशका ठूला पत्रपत्रिका अनलाइनहरूलाई लाखौँ रुपैयाँको ‘ज्याकेट विज्ञापन’ दिएर समाचार दबाउने प्रयास गर्यो। मिडियालाई विज्ञापनको प्रलोभनमा पारेर चुप लगाइसकेपछि अहिले सामाजिक सञ्जालका भिडियो बनाउनेहरूलाई अगाडि सारेर “अरू सामान ठिक छ” भन्ने नयाँ प्रचार गराइँदै छ।
यहाँनेर मेरो सिधा र कडा प्रश्न छ । यदि कम्पनी र भिडियो बनाउनेहरू अरू सामान राम्रो छ भन्दै दिनरात विज्ञापन गर्न सक्छन् भने, त्यो खराब भनिएको चाउचाउको वास्तविक हिसाबकिताब र विवरण चाहिँ किन लुकाउँछन्? त्यही लुकाइएको यथार्थ र जनताको स्वास्थ्यमाथिको खेलबाडलाई लिएर उत्पादक कम्पनी यशोधा फुड्स प्रा.लि. लाई मेरा प्रश्नहरू:
खराब चाउचाउ कति उत्पादन भयो र कहाँ-कहाँ बेचियो?
यशोधा जी, टिकटक रिल , र फेसबुक जस्ता सामाजिक सञ्जालमा भिडियो बनाउनेहरू मार्फत “अरू सामान राम्रो छ” भनेर प्रचार गर्न मिल्ने, तर त्यो खराब भनिएको चाउचाउको विवरण लुकाउने?
त्यो खराब भनिएको ब्याच अन्तर्गत कुल कति लाख प्याकेट चाउचाउ उत्पादन गरिएको थियो?सरकारले रोक लगाउनुअघि त्यसमध्ये कति लाख प्याकेट बजारमा पठाइएको थियो र कुन-कुन जिल्ला वा गाउँका पसलमा बेचियो? यो वास्तविक हिसाब जनतालाई किन नभनेको?
पसलबाट कति चाउचाउ फिर्ता ल्याइयो? कि मान्छेले खाइसके?
तपाईंहरूले ठूला मिडियालाई विज्ञापन दिएर चुप राख्नुभयो, तर गाउँ-गाउँका साना पसलेहरू अझै पनि अन्धकारमा छन्। जब हामी पसलमा पुगेर सोध्छौँ, पसलेहरू भन्छन् “हामीकहाँ कोही पनि सामान फिर्ता माग्न आएका छैनन्। सामान त ग्राहकले उहिल्यै किनेर खाइसके।” जब बजारका पसलमा सामानै बाँकी छैन भने तपाईंहरूले बजारबाट कहिले र कति चाउचाउ फिर्ता लिएर आउनुभयो? त्यसको वास्तविक संख्या कति हो? कि सामान उपभोक्ताका छोराछोरीको पेटमा पुगेर पचिसकेपछि केवल कागजमा मात्र ‘फिर्ता ल्यायौँ’ भन्दै हुनुहुन्छ?
‘जनहितमा जारी सन्देश’ मा बिक्री रोक्न किन भन्नुभएन?
तपाईंहरूले ‘जनहितमा जारी सन्देश’ भन्दै मिडियामा जुन रंगीन सूचना छाप्नुभयो, त्यसले तपाईंहरूको गैरजिम्मेवारीपन झन् छताछुल्ल पारेको छ।
सरकारी प्रयोगशालाले चाउचाउ फ्राइ गर्ने तेल बिग्रिएर खराब भएको फेला पारेको हो। तर तपाईंहरूले आफ्नो सूचनामा बडो चलाखीपूर्वक फ्याक्ट्रीको गल्ती लुकाउँदै लेख्नुभयो “चर्को घामको कारणले उद्योगको उत्पादनको गुणस्तरमा फरक पर्न जान्छ।” फ्याक्ट्रीभित्रै बिग्रिएको तेलको दोष गर्मी, घाम र खुद्रा व्यापारीको टाउकोमा हाल्न अलिकति पनि लाज लागेन?
त्यो भन्दा ठूलो बदमासी, तपाईंको पूरै सूचनामा सरकारले रोक लगाएको चाउचाउको ब्याच नम्बर कतै लेखिएको छैन। तपाईंले सूचनामा “गुणस्तरमा फरक पर्यो” भनेर त स्विकार्नुभयो, तर व्यापारीहरूलाई “यो सामानको बिक्री वितरण रोक्नुस् र ग्राहकले नखानुस्” भनेर कतै पनि किन लेख्नुभएन? उल्टै पसलेहरूलाई “सामान राम्रोसँग राखेर बिक्री वितरण जारी राख्नुस्” भन्दै अपिल गर्नु सरकारी आदेशको ठाडो उल्लङ्घन र जनस्वास्थ्यमाथिको खेलबाड होइन?

खराब सामान फिर्ता गर्ने आधिकारिक सूचना किन लुकाइयो?
यशोधा जी, जब तपाईंहरूलाई नयाँ चाउचाउ बजारमा ल्याउनु पर्ने हुन्छ वा आफ्नो बचाउ गर्नु पर्ने हुन्छ, तब करोडौँ खर्च गरेर पत्रिकाहरूमा ठूला-ठूला विज्ञापन छाप्न सक्नुहुन्छ। तर, जब सरकारले तपाईंको सामान खान अयोग्य छ भन्यो, तब उपभोक्तालाई सचेत गराउन र “हाम्रो यो नम्बरको चाउचाउ जहाँ छ, त्यहीँ रोक्नुस् र हामीलाई फिर्ता गर्नुस्” भन्दै पत्रपत्रिकामा स्पष्ट सूचना किन जारी गरिएन? कि सूचना ठूलो अक्षरमा छाप्दा बजारमा बदनामी हुन्छ र चुपचाप भिडियो बनाउनेहरू मार्फत कुरा सामसुम पार्दा नाफा जोगिन्छ भन्ने सोच्नुभयो?
तपाईं र तपाईंका भिडियो बनाउनेहरू यो ब्रान्ड २२ देशमा बिक्छ भन्दै राष्ट्रवादको कार्ड खेल्नुहुन्छ। विदेश सामान पठाउँदा त्यहाँका कडा जाँचका कारण गुणस्तरमा अलिकति पनि सम्झौता नगर्ने कम्पनीले आफ्नै देशका नेपाली उपभोक्ता र अबोध बालबालिकालाई चाहिँ बिग्रिएको तेलको चाउचाउ किन ख्वाएको? के नेपाली नागरिकको ज्यान विदेशीको भन्दा सस्तो छ? यो खराब सामान नेपालका लागि मात्र बनाइएको थियो कि विदेश पठाउन? त्यो पनि प्रस्ट पारियोस्।
भिडियो बनाउने क्रिएटरहरूलाई प्रश्न: कम्पनीको बचाउ गर्नुअघि यो हिसाब किन माग्नुभएन?
पैसाको बिटो पाउने बित्तिकै “एउटा ब्याच मात्र त खराब हो, अरू ढुक्कले खानुस्” भन्दै भिडियो बनाउने क्रिएटर ज्यूहरू, तपाईंले कम्पनीको बचाउ गर्नुअघि एकपटक कम्पनीलाई यो प्रश्न किन गर्नुभएन कि “तपाईंहरूले त्यो खराब चाउचाउ कति उत्पादन गर्नुभएको थियो र बजारबाट कति फिर्ता ल्याउनुभयो, त्यसको लिखित प्रमाण खोइ?” जनतालाई सही सूचना दिनुको साटो पैसाका लागि अन्धो बनेर ब्रान्डको वकालत गर्दा भोलि सोझा मानिस बिरामी परे त्यसको नैतिक जिम्मेवारी तपाईंहरू लिनुहुन्छ कि हुन्न?
राज्य र उपभोक्ता ब्युँझनै पर्छ
यो केवल एउटा ब्रान्ड ‘करेन्ट’ को मात्र कुरा होइन, बरु नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने सम्पूर्ण कम्सल र गैरजिम्मेवार कम्पनीहरूको प्रवृत्तिमाथिको साझा प्रश्न हो। व्यापार गर्नु र नाफा कमाउनु अपराध होइन, तर नाफाका लागि तेलको गुणस्तर बिगारेर उपभोक्ताको पेटमा खराब तत्व पठाउनु र त्यसलाई ढाकछोप गर्न मिडिया र भिडियो बनाउनेहरू किन्नु घोर सामाजिक अपराध हो। यो अराजकता रोक्न अब निम्न कदम चाल्नैपर्छ:
सामान बजारमा जानुअघि नै अनिवार्य जाँच हुनुपर्छ: सरकारी खाद्य विभागले सामान बजारमा गएर मान्छेले खाइसकेपछि ४ महिनापछि मात्र “बजारबाट फिर्ता ल्याऊ” भन्दै सूचना जारी गर्ने सुस्त काम बन्द गर्नुपर्छ। अबदेखि उद्योगबाट कुनै पनि सामान बजारमा निस्किनु अघि नै अनिवार्य रूपमा सरकारी ल्याबबाट पास भएको प्रमाणपत्र चाहिने नियम राज्यले लागू गर्नुपर्छ।
वेबसाइटमा हिसाबकिताब राख्न अनिवार्य गरियोस्: सरकारले कारबाही गरिसकेपछि, कम्पनीले बजारबाट वास्तवमै कति सामान फिर्ता ल्यायो भन्ने कुराको विवरण बकाइदा आफ्नो आधिकारिक वेबसाइटको पहिलो पानामा सार्वजनिक रूपमा राख्नैपर्ने कानुनी बाध्यता बनाउनुपर्छ। जफत गरिएको सामान कुन सरकारी अधिकारीको रोहवरमा, कहाँ नष्ट गरियो, त्यो पनि सार्वजनिक गरिनुपर्छ। भित्रभित्रै सेटिङ गरेर फाइल बन्द गर्ने परिपाटीको अन्त्य हुनैपर्छ।उपभोक्ता सचेतना र बहिष्कार: व्यापारी त केवल नाफा कमाउन बसेका हुन्, उनीहरूलाई हाम्रो स्वास्थ्यसँग कुनै सरोकार छैन। हामी नागरिकले सामान किन्दा उत्पादन मिति र म्याद नाघेको मिति हेर्ने बानी बसाल्नै पर्छ। र सबैभन्दा ठूलो कुरा गल्ती लुकाउन झुटो विज्ञापनको खेती गर्ने, मिडियाको मुख थुन्ने र उपभोक्तालाई मूर्ख सम्झिने यस्ता गैरजिम्मेवार ब्रान्डहरूले जबसम्म आफ्नो वास्तविक हिसाब सार्वजनिक गर्दैनन्, तबसम्म यस्ता उत्पादनहरूलाई आफ्नो भान्छा र पसल दुवैबाट पूर्ण रूपमा बहिष्कार (Boycott) गर्ने हिम्मत नेपाली उपभोक्ताले देखाउनै पर्छ।
चेतना होस्, जनस्वास्थ्य पहिलो सर्त हो, व्यापार र विज्ञापन दोस्रो!
-
नाईमा मोबिलिटी एक्स्पोमा बैंकहरुको विशेष अफर: सस्तो ब्याजदरमा अटो कर्जा लिन ग्राहकको घुइँचो
-
नाइमा मोबिलिटी एक्सपोमा दुई दिनमै ६५ हजार अवलोकनकर्ता, सवारी बुकिङ उत्साहजनक
-
नर्भिक र हेल्थ एट होमबीच सहकार्य : अब विशेषज्ञ स्वास्थ्य सेवा घरमै
-
नाइमा मोबिलिटी एक्स्पो सुरु: पहिलो दिनमै २१ हजार दर्शक, अटो क्षेत्रलाई ‘स्थिर नीति’ को माग
-
सुस्त अटो बजार उकास्ने लक्ष्यसहित भदौ ९ देखि १८औँ ‘नाडा अटो शो’, प्रदर्शनीमा ५० ब्रान्डका सवारीसाधन
-
ग्लोबल आइएमई बैंकद्वारा न्यूनतम ५.२५% ब्याजदरमै अटो लोन, ३ दिनमै कर्जा स्वीकृति
-
सुजुकीको ‘मनसुन नि:शुल्क सर्भिस क्याम्प’ साउन २७ देखि, लेबर र पार्ट्समा विशेष छुट
-
नेपालकै सबैभन्दा ठूलो ‘नाइमा मोबिलिटी एक्सपो’ आजदेखि भृकुटीमण्डपमा सुरु, ४५ भन्दा बढी ब्राण्डको सहभागिता
-
विलासिता होइन उत्पादक पूँजी निर्माण र हरित अर्थतन्त्रको नयाँ यात्रा: भोलिदेखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो’को सम्पूर्ण तयारी पूरा
-
म्याग्दीको माटोदेखि ‘भ्वाइस किड्स’को फाइनलसम्म: गण्डकी प्रदेशको शान क्रिएसनलाई अब तपाईंको भोटको खाँचो