• बुधबार, ३१ भाद्र २०८३
  • एनसेलको ‘सधैं अन करोडपति’ योजनामा धादिङकी पार्वती कार्कीले जितिन् एक करोड रुपैयाँ

    एनसेलको ‘सधैं अन करोडपति’ योजनामा धादिङकी पार्वती कार्कीले जितिन् एक करोड रुपैयाँ

    सबलनेपाल संवाददाता
    साउन ९ २०८२, शुक्रबार

    काठमाडौं– धादिङको गंगाजमुना गाउँपालिका–६ स्थित बांगेपिपलकी पार्वती कार्कीले एनसेलको ‘सधैं अन करोडपति’ योजनामा बम्पर पुरस्कारस्वरूप एक करोड रुपैयाँ जितेकी छन्। पारिवारिक जिम्मेवारी, संघर्ष र कठिन परिस्थितिसँग जुध्दै आइरहेकी कार्कीका लागि यो जित नयाँ आशा र सम्भावनाको संकेत बनेको छ।

    एनसेलले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन गरेको योजनामा ‘बेसिक रिन्युअल’ प्याक रु ९९ को खरिदमार्फत सहभागी भएकी कार्की विजेतामा परेकी हुन्। झण्डै आठ वर्षअघि एनसेलको सिम खरिद गरेकी उनले सानो प्याकमार्फत भाग्य परीक्षण गरेकी थिइन्, जसको प्रतिफल उनले जीवन परिवर्तन गर्ने पुरस्कारको रूपमा पाएकी छन्।

    शुक्रबार एनसेलको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा कम्पनीका चिफ फाइनान्सियल अफिसर (CFO) इनामुल कबिरले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे। पुरस्कार प्राप्त गरेपछि कार्कीले भनिन्, “मैले जीवनमा कैयौँ दुःख भोगेकी छु तर कहिल्यै हार मानिनँ। यो पुरस्कार मेरा संघर्ष र आशाको परिणाम हो भन्ने विश्वास लागिरहेको छ।”

    २०७२ सालको विनाशकारी भूकम्पमा कार्कीले आफ्ना एक महिनाका छोरा र नयाँ बनाइएको घर गुमाएकी थिइन्। त्यसपछि आर्थिक समस्याले ग्रस्त बनेकी उनले श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएकी थिइन्। हाल उनका श्रीमान बहराइनमा कार्यरत छन् भने छोरा काठमाडौंमा प्लस टु अध्ययन गर्दैछन्।

    विगतमा व्यापारमा घाटा व्यहोरेपछि थप ऋण लिएर श्रीमानलाई पुनः विदेश पठाएकी कार्कीले अब भने त्यो ऋण तिर्ने र श्रीमानसँगै नेपालमै केही उद्यम गर्ने योजना सुनाइन्। “अब श्रीमानको स्वास्थ्य पनि ठीक छैन, हामीले नेपालमै केही गर्ने सोच बनाएका छौं। छोरोको भविष्यमा पनि लगानी गर्नेछौं,” उनले भनिन्।

    एनसेलका सीएफओ इनामुल कबिरले भने, “पार्वती कार्कीको कथा आशाको कथा हो। यो पुरस्कारमार्फत हामीले ग्राहकप्रति गरेको वाचा पूरा गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं। उहाँको यात्रा हामी सबैका लागि प्रेरणादायी छ।”

    एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा १२ हप्ताका लागि यो योजना सुरु गरेपनि पाँचौं हप्तामै (साउन १ गते) अभियान बन्द गरिएको थियो। कार्कीले बम्पर पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक रूपमा जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्। हालसम्म ३६ जना विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको र बाँकी विजेताहरुलाई प्रमाणिकरण प्रक्रिया पूरा गरेपछि नगद हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।

    एनसेलले आफ्ना सेवाग्राहीहरूप्रति प्रतिबद्धता जनाउँदै यस्ता योजनाहरू भविष्यमा पनि सञ्चालन गर्ने बताएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij