• बिहिबार, १ असोज २०८३
  • नेपाल चलचित्र विकास बोर्डद्वारा सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई सम्मान

    नेपाल चलचित्र विकास बोर्डद्वारा सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई सम्मान

    सबलनेपाल संवाददाता
    असार १६ २०८२, सोमबार

    काठमाडौं — नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित विशेष कार्यक्रममा देशको फिल्म इतिहासमै सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई सम्मान गरिएको छ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथि रहनुभएको थियो। उहाँसँगै सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, बोर्डका अध्यक्ष दिनेश डिसी र प्रथम नेपाली अभिनेत्री भुवन चन्दले चलचित्रका निर्माता, निर्देशक र कलाकारलाई सम्मान प्रदान  गरे ।

    कार्यक्रममा पछिल्लो समय नेपाली फिल्म क्षेत्रमै कीर्तिमान कायम गरेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’लाई विशेष सम्मान प्रदान गरियो। १७ लाखभन्दा बढी टिकट बिक्री गर्दै झन्डै ४६ करोड ८७ लाख रुपैयाँ व्यापार गर्न सफल यस चलचित्रका कलाकार विजय बराल, निर्देशक सरोज पौडेल र निर्माता विनोद पौडेलले सम्मान ग्रहण गरे।

    त्यसैगरी, चलचित्र ‘कवड्डी–४’ले २१ करोड ४० लाखको व्यापार गर्दै दोस्रो स्थान हासिल गर्‍यो। चलचित्रका प्रमुख कलाकार दयाहाङ राई, विजय बराल र बुद्धी तामाङलाई सम्मान गरिएको थियो। तेस्रो स्थानमा ‘१२ गाउँ’ रहेको छ, जसले १९ करोड ९२ लाख रुपैयाँको व्यापार गरेको थियो। चौथो स्थानमा ‘छक्का पञ्जा ४’ र पाँचौँ स्थानमा ‘जारी’ चलचित्र परेका छन्, जसले क्रमशः १७ करोड ५३ लाख र १७ करोड ४८ लाख रुपैयाँको व्यापार गरेका थिए।

    छक्का पञ्जा श्रृंखलाका अन्य चलचित्रहरू पनि सूचिमा छन्। ‘छक्का पञ्जा १’, ‘छक्का पञ्जा २’, ‘छक्का पञ्जा ३’ र ‘छक्का पञ्जा ५’ ले पनि उच्च व्यापार गर्दै सम्मान प्राप्त गरेका छन्। त्यस्तै, ‘महाजात्रा’, ‘कोहिनुर’, ‘शत्रु गते’, ‘ऊनको स्वीटर’, ‘कवड्डी–२’, ‘बोक्सीको घर’, ‘छ माया छपक्कै’, ‘दिमाग खराब’, ‘अञ्जली’, ‘परदेशी २’, ‘प्रेमगीत–३’, ‘कवड्डी कवड्डी कवड्डी’, ‘पुजार सार्की’, ‘महापुरुष’, ‘कवड्डी’ र ‘पशुपति प्रसाद २: भष्मे डन’ पनि सम्मानित चलचित्रमा परेका छन्।

    नेपाल चलचित्र विकास बोर्डको स्थापनालगत्तैदेखि हालसम्मको दुई दशक लामो यात्रामा यी चलचित्रहरूले व्यावसायिक सफलता मात्र होइन, नेपाली समाजमा मनोरञ्जन र सन्देश पुर्‍याउने काम गरेका छन्। बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म उद्योगले पछिल्लो समय लिएको व्यावसायिक उचाइ उत्साहजनक भएको बताउँदै अझ व्यवस्थित र गुणस्तरीय चलचित्र निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सरकार चलचित्र क्षेत्रको समृद्धिका लागि आवश्यक नीति तथा संरचना निर्माण गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

    कार्यक्रमले नेपाली चलचित्र क्षेत्रको व्यावसायिक र सृजनात्मक सफलतालाई औपचारिकरूपमा मान्यता दिएको छ। यसले आगामी दिनमा अझ सिर्जनशील, व्यवसायिक र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी चलचित्र निर्माण गर्न कलाकार, निर्माता र निर्देशकहरूलाई थप प्रेरणा दिने विश्वास गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij