• बिहिबार, १ असोज २०८३
  • असार १५: नेपाली संस्कृति र समृद्धिको साझा पर्व

    असार १५: नेपाली संस्कृति र समृद्धिको साझा पर्व

    सबलनेपाल संवाददाता
    असार १५ २०८२, आइतबार

    काठमाडाैं । नेपाल चाडपर्व, रितिरिवाज र मौलिक परम्पराको धनी मुलुक हो। हाम्रा चाडपर्वहरू केवल धार्मिक वा सांस्कृतिक उत्सव मात्र होइनन्, जीवनशैली, खानपान, व्यवसाय, कृषि र आपसी मेलमिलापको प्रतिबिम्ब हुन्। यस्तैमध्ये एक विशेष पर्व हो—असार १५, जसलाई हामी ‘मानो रोपेर मुरी फलाउने दिन’ भनेर मनाउँछौं।

    खानपानमै संस्कृति झल्किन्छ

    दही चिउरा, खिर, घिउ-चाकु, तरुल, पिँडालु, कन्दमूल, सखरखण्ड, सेल र मासुजस्ता परिकारसँग गासिएको हाम्रो सांस्कृतिक पहिचान अद्वितीय छ। कुनै समय यस्ता परिकार सुलभ थिएनन्, तर चाडपर्वले सन्तुलित आहार र पोषण प्राप्त गर्न ठूलो भूमिका खेलेको थियो। आज हामी आफ्ना मौलिक परम्परा बिर्सेर बाहिरी चलन पछ्याउने प्रवृत्तिमा लागिरहेका छौं, जुन अत्यन्तै चिन्ताजनक विषय हो। हामीले आफ्नो मौलिक संस्कृति बचाएर मात्रै भावी पुस्तालाई समुचित पहिचान हस्तान्तरण गर्न सक्छौं।

    दुग्ध क्षेत्रको भूमिका र अवसर

    नेपालको अर्थतन्त्र र सामाजिक संरचनामा कृषि र दुग्ध क्षेत्रको विशेष स्थान छ। असार १५ ले कृषकका श्रमको सम्मान र दुग्ध संस्कृतिको समृद्ध विरासतलाई जोड्ने कार्य गरेको छ। तर, यस क्षेत्रमा नीतिगत प्राथमिकता अझै कमजोर छ। राज्यको योजनामा दुग्ध उद्योग र कृषकको हित समेट्न सके, यो क्षेत्र दीर्घकालीन आर्थिक समृद्धिको आधार बन्न सक्छ।

    नेपाल डेरी एसोसिएसनले प्रत्येक वर्ष असार १५ मा आयोजना गर्ने दही-चिउरा प्रवर्द्धन कार्यक्रमले यस पर्वको सामाजिक, सांस्कृतिक र आर्थिक महत्त्वलाई उजागर गर्दै आएको छ। यस वर्ष मात्रै करिब ८० लाख लिटर दही खपत भएको अनुमान गरिएको छ, जसबाट १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यो तथ्य स्वयंमा दही–चिउरासँग जोडिएको अर्थतन्त्रको शक्ति देखाउँछ।

    स्वास्थ्य र सामाजिक पक्ष

    दही–चिउरा स्वादमा मात्र होइन, स्वास्थ्यका दृष्टिकोणले पनि अत्यन्त उपयोगी छ। दहीमा पाइने प्रोबायोटिक्स र चिउरामा हुने फाइबरले पाचन प्रणाली सुधार्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, हड्डी र दाँतलाई मजबुत बनाउने, छालाको चमक बढाउने र मानसिक सन्तुलन कायम राख्ने गुण हुन्छन्।

    साथै, दही–चिउराले विवाह, व्रतबन्ध, पूजाआदिमा सामाजिक एकता र संस्कारको प्रतिनिधित्व गर्दै आएको छ। असार १५ का अवसरमा गाऊँ–सहरका समुदायबीचको आत्मीयता, मेलमिलाप र सहकार्यको भावना अझ प्रगाढ बन्छ।

    स्मृतिमा बाल्यकालका रमाइला दिनहरू

    हामी सानो हुँदा छाता र प्लास्टिक ओढेर खेतमा रोपाइँ गर्न जान्थ्यौं। गाउँभरिका आफन्त, नातागोता, साथीभाइ भेला भएर बाजा बजाउँदै, असारे गीत गाउँदै, हिलोमा नाच्दै, रोपाइँ गर्ने दृश्य जीवनको अविस्मरणीय स्मृति बनेका छन्। खेतको बीचमै बसेर खाएको दही–चिउरा र अचारको स्वाद आज पनि मुखमै आइहाल्छ। आज ती ‘बाउसे’, ‘हली’ र ‘रोपार’ शब्दहरू केवल बोलीमा सीमित हुँदै गएका छन्। अब समय आएको छ—यी मौलिकता जोगाउने, जीवन्त राख्ने र भावी पुस्तालाई हस्तान्तरण गर्ने।

    उत्पादन, खपत र बजार व्यवस्थापन

    हाल नेपालमा दैनिक ७२ लाख लिटर दूध उत्पादन भइरहेको छ, तर यसको करिब ५० प्रतिशत मात्र बजारमा आइपुगेको छ। बाँकी दूध अझै गाउँमै खपत हुँदै आएको छ। यदि बाँकी दूधको बजार पहुँच सुनिश्चित गर्न सकियो भने, स्वदेशी उत्पादन खपत बढ्ने, आयात घट्ने र निर्यातको बाटोसमेत खुल्नेछ। अब आवश्यकता छ—दुग्धजन्य पदार्थहरूको प्रवर्द्धन, प्रशोधन र बजार विस्तारमा नीति निर्माणकर्ता, उद्योगी तथा किसानबीच सहकार्यको।

    असार १५ केवल रोपाइँको दिन होइन, यो हाम्रो संस्कृतिको गौरव, कृषकप्रति कृतज्ञता, स्वास्थ्यप्रति सरोकार र स्वदेशी उत्पादनको प्रवर्द्धनको अवसर हो। यस पर्वको सहि व्यवस्थापन र प्रवर्द्धनबाट हामीले केवल सांस्कृतिक धरोहर बचाउने होइन, दुग्ध क्षेत्रको समृद्ध भविष्य सुनिश्चित गर्ने मार्ग पनि प्रशस्त गर्न सक्छौं।

    हाम्रो संस्कृति, स्वास्थ्य, उत्पादन र पर्यटन—यी सबैलाई एउटै सूत्रमा बाँध्न सक्ने पर्व हो असार १५। यसको सही संरक्षण र प्रवर्द्धनमा हामी सबैको सहभागिता जरुरी छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij