• शुक्रबार, २ असोज २०८३
  • नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउन अध्यक्ष ढकालको आग्रह

    नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउन अध्यक्ष ढकालको आग्रह

    सबलनेपाल संवाददाता
    जेष्ठ ९ २०८२, शुक्रबार


    काठमाडौँ –
    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई प्रभावकारी बनाउँदै सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आजदेखि यहाँ सुरू भएको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)को उद्घाटन कार्यक्रममा उनले कनेक्टिभिटीका लागि नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउँदै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
    
    उनले भने, “हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको सङ्ख्या बढी छ । उनले पनि यहाँ आउन इच्छुक हुनुहुन्छ । हामीले छिमेकी मुलुकबाट पर्यटक यहाँ सोहीअनुसार योजना बनाउनुपर्छ । यहाँका उत्पादनको ‘ब्रान्डिङ’ गर्नुका साथै पर्यटक लक्षित ‘प्याकेज’हरू तयार गर्नुपर्छ ।”
    
    पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकाससँगै कनेक्टिभिटी बढाउन पनि सरोकार भएका निकायलाई अध्यक्ष ढकालले आग्रह गर्नुभयो । मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै उहाँले मार्टलाई परिस्कृत गरी ब्रान्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । 
    
    उहाँले बौद्ध पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थलहरू तथा भारतमा रहेका तीर्थस्थलहरूसँग जोडेर ‘बौद्ध सर्किट’ विकास गर्नुपर्ने बताए । अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोहीअनुरूप पर्यटक आगमन बढाउन सकेमा नेपाल आर्थिक रूपमा सबल हुनुका साथै पर्यटनको आयाम परिवर्तन गर्न सकिने धारणा राखे । 
    
    अध्यक्ष ढकालले नेपालको हवाई भाडा महँगो हुँदाहुँदै सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो हुन गएको बताउँदै यसमा समीक्षा गर्न आग्रह गरे। नेपालमा पर्यटनको सम्भावना अत्यधिक रहेको बताउँदै उहाँले सरकार र निजी क्षेत्रले सहकार्य तथा समन्वय गरी यसबाट लाभ उठाउनसक्ने उल्लेख गरे। विदेशी लगानीकर्तालाई पनि यहाँको पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ढुक्कसँग लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij