• बिहिबार, १ असोज २०८३
  • माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन

    माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन

    सबलनेपाल संवाददाता
    बैशाख १३ २०८२, शनिबार

    कञ्चनपु -शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका अनिता चौधरीले माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन गर्नुभएको छ । माछासँगै उनले पोखरीमा घोँगीपालन गर्नुभएको हो ।

    छ महिनामा उनले घोँगीपालनबाट एक लाख ५० हजार आम्दानी भएको जानकारी दिए । वर्षमा दुई पटक पोखरीमा उत्पादन भएका घोँगी बिक्री हुने चौधरीले बताए । ‘माछाका भुरा हालिएको पोखरीमा सुरुमा एक÷दुई किलो घोँगी राख्ने गरेका छौँँ’, उनले भने । ‘माछालाई जस्तै घोँगीलाई पनि दाना हाल्ने गरेका छौँ ।’

    दाना हाल्ने गरेपछि घोँगी निकै फस्टाउने गरेका छन् । चैतमा पोखरी सुकाएपछि घोँगी बेच्नका लागि तयार हुन्छ । त्यसअघि पनि घोँगी बिक्री हुने गरेको छ,’ चौधरीले । उनका अनुसार यस वर्षको छ महिनामा १२ क्विन्टल ५० किलो घोँगी प्रतिकिलो रु एक सयदेखि रु एक सय २० का दरले बिक्री भएको छ ।

    पोखरीबाटै केही घोँगी स्थानीयले खरिद गरेर लैजाने गरेका छन् । ‘धनगढी, महेन्द्रनगरलगायत बजारमा मौलिक थारु समुदायको परिकार पस्कने होटलमा घोँगीको माग बढी छ’, चौधरीले भने, ‘माग अनुसार उत्पादन गर्न सकेका छैनौँ, जति उत्पादन गरेपन सहजै बिक्री हुन्छ ।’ घोँगी बेचेर आएको रकमबाट घरखर्च सहज रूपमा चल्ने गरेकोउनले भने ।

    तीन वर्षदेखि तीन ठूला र एक सानो पोखरीमा माछासँगै घोँगीपालन गरिँदै आइएको चौधरीले जानकारी दिए । गत वर्ष रु ९० हजार जतिको मात्रै घोँगी उत्पादन भएकामा यस वर्ष दोब्बर बढी उत्पादन भएको उनले बताए । घोँगीसँगै पोखरीमा माछापालन गरी चौधरीले वर्षमा रु १० लाख बढी आम्दानी गर्दै आएको जानकारी दिए ।

    पहिले थारु समुदायको मौलिक परिकारका रूपमा मात्रै घोँगी पकाउने गरिन्थ्यो । हाल व्यापारिक मेला, होटेलमा नयाँनयाँ परिकारको माग आउन गनलेपछि सबै समुदायको रोजाइमा घोँगीका परिकार पर्ने गरेका छन् । एक अध्ययन अनुसार घोँगी खाँदा डिप्रेसन कम हुने र मस्तिष्कको विकासमा मद्दत पुग्ने गर्दछ ।
    घोँगीको सेवनबाट हड्डी बलियो बनाउने कार्यसँगै प्रजनन क्षमता बढाउनुका साथै यसमा ओमेगा फ्याट्री एसिड, क्याल्सियम, जिङ्क, पोटासियम, सोडियकलगायत पोषकतत्व पाइने भएकाले रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्ने चिकित्सक बताउँछन् ।

    कोलेस्ट्रोर कम हुने भएकाले मुटु र मिर्गौलाका लागि घोँगीका परिकार फाइदाजनक हुने चौधरीले बताए । ‘काँचो घोँगी खाँदा टाउको, घाँटी दुख्ने कार्यसँगै केहीलाई एलर्जिको समस्या भने देखिन्छ । पहिले पानी जमेका धान खेत, पानीले भरिएका खाल्डाखुल्टी, तलाउमा थारु समुदायका महिलाले घोँगी सङकलन गरी परिकार बनाएर साँझ, बिहानको खानामा पस्कने गर्दथे’, उनले भने ।

    हाल माछासँगै पोखरीमा घोँगीपालनको कार्य हुन थालेपछि खोज्नका लागि अन्य क्षेत्र पुग्नुपर्ने झन्झट हटेर गएको चौधरीले बताए। । उनका अनुसार परापूर्वकाल देखि थारु समुदायको मुख्य खान्कीका रूपमा अरु परिकार झै घोँगी पनि पर्दछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij