• बुधबार, ३१ भाद्र २०८३
  • शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा वैशाख २१ बाट सुरू हुने

    शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा वैशाख २१ बाट सुरू हुने

    सबलनेपाल संवाददाता
    बैशाख ९ २०८२, मंगलबार

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षा सार्ने निर्णय गरेको छ। अब परीक्षा वैशाख २१ गतेदेखि सुरू हुने बोर्डले जनाएको छ।

    मंगलबार साँझ बसेको बोर्ड बैठकले परीक्षा सार्ने निर्णय गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार, पछिल्लो समय शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन चर्काएपछि नियमित अध्यापन कार्य अवरुद्ध भएको र त्यसले परीक्षालाई पनि प्रत्यक्ष असर पार्ने देखिएकाले यस्तो निर्णय गर्नुपरेको हो।

    विगत तीन हप्तादेखि आन्दोलनरत शिक्षक महासंघले परीक्षा बहिष्कार गर्ने चेतावनी दिँदै आएको थियो। सुरुवाती रूपमा बोर्डले परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने अडान राखेको थियो। कर्मचारी परिचालनमार्फत परीक्षा सञ्चालन गर्ने तयारीमा पनि थियो। तर निजामती कर्मचारी ट्रेड युनियनले त्यसको विरोध गर्दै शिक्षकका माग पूरा गर्नुपर्ने अडान राखेपछि परिस्थितिले नयाँ मोड लिएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पनि परीक्षा स्थगन गरी समस्याको समाधान खोज्न बोर्डलाई आग्रह गरेका थिए। त्यसपछि बसेको बोर्ड बैठकले वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी नयाँ तालिका ल्याउने निर्णय गरेको हो।

    राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीहरूलाई नयाँ तालिकाअनुसार तयारी गर्न अनुरोध गर्दै चाँडै संशोधित तालिका सार्वजनिक गर्ने जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij