तानसेन (पाल्पा- लामो समयदेखि वर्षा नपरेका कारण पाल्पाका अधिकांश वन क्षेत्रमा डढेलो फैलिएको छ । डिभिजन वन कार्यालयका अनुसार हालसम्म जिल्लाका ३६ वटा सामुदायिक तथा सरकारी वनमा लागेको डढेलोले करिब ७११ हेक्टर वनक्षेत्र नष्ट गरेको छ ।
डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले डढेलोका कारण वनमा दुई वर्षयता उम्रिएका नयाँ बिरुवासमेत खरानी भएको जानकारी दिए । उनका अनुसार डढेलोले वयस्क र पुराना रुख समेत नष्ट गरिरहेको छ । चैत लागेसँगै रुखले पालुवा फेर्न थालेको र पुराना पात सुकेका कारण आगो झनै चाँडो फैलिने गरेको उनले बताए ।
‘वन क्षेत्रमा दिनदिनै डढेलो बढिरहेको छ, जसले वनसँगै नजिकका बस्ती पनि उच्च जोखिममा पारेको छ,’ प्रमुख भट्टराईले भने ।
यसपालि हिउँदे वर्षा नभएका कारण वनभित्रका पातपतिङ्गर सुक्खा अवस्थामा रहेकाले आगो झन् फैलिएको स्थानीयवासीको भनाइ छ ।
हालैका दिनमा तिनाउ गाउँपालिका–३ को खुलखुले सामुदायिक वन, ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, रिभ्दीकोटको पालुङ सामुदायिक वन, रम्भा गाउँपालिकाको रिमिघा डाँडा, निस्दीको अरुणखोला र ज्यामिरे क्षेत्र लगायतका जङ्गलमा डढेलो लागेको वन कार्यालयले जनाएको छ ।
प्रमुख भट्टराईका अनुसार डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ भने १६ वटा घरगोठ जलेका छन् । ‘डढेलो निभाउने प्रयास भइरहे पनि तीव्र हावाहुरी र चुरे–महाभारत क्षेत्रको भू–बनोटका कारण नियन्त्रणमा कठिनाइ भएको छ,’ बताए ।
डढेलो नियन्त्रणका लागि स्थानीयवासी, सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका निकायले प्रयास गरिरहेका छन् । ‘हाल डढेलो नियन्त्रणका लागि वन क्षेत्रमा अग्निरेखा निर्माण र सरसफाइ कार्य तीव्र बनाइएको छ,’ प्रमुख भट्टराईले जानकारी दिए ।
रिब्दीकोटका भिमा कार्कीले भने, ‘अघिल्लो वर्ष नजिकैको जङ्गलमा लागेको आगो बस्तीमा पसेको थियो, अहिले पनि रातभर निदाउन सकिँदैन, कतै हाम्रो घर पो जल्ला भन्ने चिन्ताले सताउँछ ।’
डिभिजन वन कार्यालयका अनुसार पाल्पाका १० स्थानीय तह अन्तर्गत ८१ वडामध्ये ३९ वडा उच्च, २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेका छन् । ‘वन डढेलोबाट बच्न सबैले सतर्कता अपनाउन जरुरी छ,’ प्रमुख भट्टराईले आग्रह गरे ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि