• आइतबार, १४ भाद्र २०८३
  • रसुवा बाढी: टिमुरेबाट ११६ जनाको सकुशल उद्धार, राहत र उद्धार कार्य तीव्र पारिएको प्रधानमन्त्रीको भनाइ

    रसुवा बाढी: टिमुरेबाट ११६ जनाको सकुशल उद्धार, राहत र उद्धार कार्य तीव्र पारिएको प्रधानमन्त्रीको भनाइ

    सबलनेपाल संवाददाता
    भाद्र ११ २०८३, बिहिबार

    काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम तीव्र पारिएको छ। नेपाली सेनाको सहयोगमा रसुवाको टिमुरेबाट ११६ जनाको सकुशल उद्धार गरिएको र प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीहरू पुर्‍याउने काम भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्।

    बिहीबार बिहान ६:३० बजेदेखि सुरु भएको उद्धार कार्यमा हालसम्म १५ भन्दा बढी हेलिकोप्टर उडान भइसकेका छन् भने थप हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन्। सेनाले टिमुरेबाट उद्धार गरेकाहरूमध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक छन्। यसैगरी, टनेलमा फसेका थप ७ जना नेपालीको पनि सफलतापूर्वक उद्धार गरिएको छ। हेलिकोप्टरमार्फत गरिने उद्धारमा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई पहिलो प्राथमिकता दिइएको छ।
    बाढी प्रभावितहरूको आश्रयका लागि नुवाकोटमा खाना र पानीसहितको अस्थायी शिविर तयार भइसकेको छ। विपद्ग्रस्त क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट र फलाम तथा ढुङ्गा काट्ने मेसिन लगायतका अत्यावश्यक सामग्रीहरू पठाइँदै छ।
    प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको अवस्थालाई मध्यनजर गर्दै अस्थायी मोबाइल नेटवर्क र मोबाइल चार्जिङको व्यवस्था छिट्टै मिलाइनेछ। साथै, सम्पूर्ण क्षतिको र अवस्थाको यकिन गर्न ड्रोनमार्फत भइरहेको सर्भेक्षण कार्य पनि अन्तिम चरणमा पुगेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij