काठमाडौँ । काठमाडौँको टेकुस्थित जनस्वास्थ्य कार्यालयले विश्व स्तनपान सप्ताहको समापनको अवसर पारेर शुक्रबारदेखि आफ्नै कार्यालयमा स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । ‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानको लागि सबैको साथ’ भन्ने मूल नाराका साथ मनाइएको यस वर्षको स्तनपान सप्ताहको अन्तिम दिन पत्रकार तथा सरोकारवालाहरूसँगको अन्तरक्रियासहित उक्त कक्षको उद्घाटन गरिएको हो । कार्यालयमा स्थापना भएको यो कक्षको सुविधा जनस्वास्थ्य कार्यालयका कर्मचारीका साथै काठमाडौँका ११ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरूले लिन पाउनेछन् ।
स्तनपान प्रवर्द्धनलाई सरकारले विशेष प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको छ । सोही अनुरुप वि.सं. २०६९ सालदेखि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृहमा सञ्चालित ‘ब्रेस्ट मिल्क बैंक’ (आमाको दूध बैंक) यसै वर्षदेखि चितवनको भरतपुर अस्पतालमा पनि स्थापना गरिने भएको छ । यद्यपि, नेपालमा स्तनपानको अवस्थाबारे विश्लेषण गर्दा शिक्षा नभएका महिलाहरूको तुलनामा उच्च शिक्षा हासिल गरेका आमाहरूले नै बच्चालाई स्तनपान नगराई दूधदानी (बोत्तल) बाट दूध खुवाउने प्रवृत्ति बढेको भन्दै कार्यक्रममा गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा पोषण शाखा प्रमुख लिलाविक्रम थापाले स्तनपान प्रवर्द्धनमा सरकारले गरिरहेका प्रयास र भावी योजनाबारे जानकारी गराएका थिए । त्यस्तै, जनस्वास्थ्य कार्यालय काठमाडौँकी जनस्वास्थ्य अधिकृत अनिता खनालले स्तनपानमा गरिने खर्च खर्च नभएर भविष्यको सुनौलो लगानी भएको बताइन् । ‘सुनौलो हजार दिन’ का आमा र बच्चालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले स्तनपानले बच्चाको शारीरिक तथा मानसिक विकास हुने र भविष्यमा लाग्न सक्ने नसर्ने रोगको जोखिमसमेत कम गर्ने तथ्य औँल्याइन् । साथै, आमाको दूधलाई प्रतिस्थापन गर्ने अन्य वस्तुहरूको बिक्री वितरणमा जनस्वास्थ्य कार्यालयले कडा अनुगमन गरिरहेको पनि उनले जानकारी दिइन् ।
स्तनपानको महत्त्वलाई समुदायस्तरसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका अहम् हुने निष्कर्ष कार्यक्रमको थियो । नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखाका करिब दुई दर्जन पत्रकारहरूको सहभागिता रहेको उक्त अभिमुखीकरणमा महासंघका सहसचिव विक्रम रत्नले जनस्वास्थ्यका विषयमा सञ्चारकर्मीहरू थप संवेदनशील भएर कलम चलाउनुपर्ने बताए । पत्रकार महासंघ जनस्वास्थ्यसँग जोडिएका यस्ता महत्त्वपूर्ण विषयमा जनचेतना फैलाउन सदैव सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका थिए । हरेक वर्ष अगस्ट १ देखि ७ (साउन १६ देखि २२) सम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
विपदमा जोडिएको मानवीय नाता: छोटो सूचनामै १०७ जनाले दिए रगत
-
बाढीपहिरो प्रभावितलाई १५ लाख सहयोग गर्ने इक्यानको घोषणा, ३०औं स्थापना दिवसका कार्यक्रम स्थगित
-
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान
-
रसुवा बाढी: टिमुरेबाट ११६ जनाको सकुशल उद्धार, राहत र उद्धार कार्य तीव्र पारिएको प्रधानमन्त्रीको भनाइ
-
चीनको तिब्बतबाट आएको भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति : तटीय क्षेत्रमा उच्च सतर्कता, उद्धारमा सेनाको हेलिकप्टर
-
विदेश जाने विद्यार्थीलाई गन्तव्यसम्मै सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता
-
स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ सुरु: नीतिगत स्थिरता र स्वदेशी उत्पादनमा जोड
-
सवारी साधनलाई विलासिताको वस्तु नठान्न सरकारलाई व्यवसायीको आग्रह, अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको माग
-
नाडा अटो शो २०२६ को तयारी पूरा: भोलि उद्घाटन हुँदै, दुई स्थानमा पार्किङ
-
किस्ट र भारतको मेदान्ता अस्पतालको सहकार्यमा बाल शल्यचिकित्सासम्बन्धी अन्तरक्रिया सम्पन्न