काठमाडौँ। अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीलाई प्रवर्द्धन गर्ने मुख्य लक्ष्यका साथ नेपालकै सबैभन्दा ठूलो अटो तथा मोबिलिटी प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ आज (साउन २६ गते) देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको यो बृहत् एक्सपो आगामी साउन २९ गतेसम्म सञ्चालन हुनेछ।
नेपालको मोबिलिटी क्षेत्रलाई केवल व्यापारिक दायरामा मात्र सीमित नराखी भविष्यको स्पष्ट दिशा तय गर्ने र नवीनतम विकाससँग सर्वसाधारणलाई जोड्ने उद्देश्यसहित सुरु भएको यस प्रदर्शनीमा ४५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरूको सहभागिता रहेको छ। आयोजक नाइमाका अनुसार यस एक्सपोको औपचारिक उद्घाटन आज बिहान ९:०० बजे नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा हुँदैछ। उद्घाटन समारोहमा नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, कुटनीतिक नियोगका प्रतिनिधिहरू, प्रतिष्ठित संघसंस्थाका नेतृत्वकर्ता तथा अटो क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको विशेष उपस्थिति रहने तय भएको छ।
पाँच दिनसम्म चल्ने यस भव्य मेलामा अटोमोबाइल प्रविधिको उच्चस्तरीय प्रस्तुतिसँगै स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा सञ्चालन हुने विभिन्न लर्निङ सेसन, पोलिसी डाइलग (नीतिगत संवाद) र इन्डस्ट्री इन्टरयाक्सन (औद्योगिक अन्तरक्रिया) जस्ता विचारोत्तेजक कार्यक्रमहरू मुख्य आकर्षणका रूपमा रहेका छन्। विश्वबजारमा आइरहेका अत्याधुनिक प्रविधि तथा उत्पादनहरूलाई नेपाली उपभोक्तासमक्ष प्रत्यक्ष रूपमा चिनाउन र हरित मोबिलिटीको अभ्यासलाई बढावा दिन यो एक्सपोले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
नाइमाका अध्यक्ष रिदु सिंह वैद्यले यस एक्सपोलाई गाडी वा सवारी साधनको सामान्य प्रदर्शनी मात्र नभई नेपालको समग्र मोबिलिटी क्षेत्रको भविष्य निर्माण गर्ने एउटा महत्त्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्नुभएको छ। “हाम्रो मुख्य उद्देश्य केवल ब्राण्डहरूको प्रदर्शनी गर्नु मात्र होइन, प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीको क्षेत्रमा भएका नवीनतम विकासलाई आम नेपाली उपभोक्तासमक्ष पुर्याउनु हो,” अध्यक्ष वैद्यले भन्नुभयो, “यस पटक अटो क्षेत्रबाट देखिएको उत्साहपूर्ण सहभागिताले एक्सपोप्रतिको विश्वासलाई थप मजबुत बनाएको छ।”।
त्यसैगरी, एक्सपोका संयोजक गौरभ शारडाले नाइमा बोर्ड तथा विभिन्न समितिहरूको नेतृत्व र मार्गदर्शनमा सम्पूर्ण सरोकारवालाहरूसँग निरन्तर समन्वय गर्दै तयारीलाई पूर्णता दिइएको जानकारी दिनुभयो। प्रदर्शनीसँगै सिकाइ र नीतिगत संवादलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै संयोजक शारडाले भन्नुभयो, “यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगका नेतृत्वकर्ता र नीतिनिर्माताहरूलाई एकै ठाउँमा जोड्न मद्दत गर्नेछ। यसले ज्ञान आदानप्रदान गर्न, आवश्यक नीति निर्माणमा सघाउन र सुरक्षित एवं जिम्मेवार मोबिलिटीप्रति जनचेतना अभिवृद्धि गर्न ठूलो भूमिका खेल्नेछ।”।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले यो एक्सपो प्रदर्शनी, सिकाइ र लगानीको महत्त्वपूर्ण केन्द्रका रूपमा रहने बताउँदै अटो क्षेत्रका सम्पूर्ण उपभोक्ता, व्यवसायी तथा लगानीकर्ताहरूलाई ५ दिनसम्म आयोजना हुने विविध कार्यक्रममा सहभागी हुन अपिल गर्नुभएको छ।
मेलाको अवलोकन समयतालिका अनुसार उद्घाटन समारोह सम्पन्न भएपश्चात् आज दिउँसो २:०० बजेदेखि साँझ ५:०० बजेसम्म र बाँकी दिनहरूमा बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म एक्सपो सर्वसाधारणका लागि खुला रहने व्यवस्था मिलाइएको छ।
यस बृहत् एक्सपोलाई सफल बनाउन विभिन्न संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानहरूले साझेदारी गरेका छन्। जसअनुसार आईसीएफसी फाइनान्स लिमिटेड सह-प्रायोजकका रूपमा रहेको छ भने नेपाल प्रहरी रेसक्वि पार्टनरका रूपमा जोडिएको छ। त्यसैगरी बैंकिङ पार्टनरमा लक्ष्मी सनराइज बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् भने बीमा पार्टनरको जिम्मेवारी लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सानिमा) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्हालेका छन्।
त्यस्तै, एक्सपोको लुब्रिकेन्ट र टेक्नोलोजी पार्टनरमा बोस (BOSCH), एजुकेसन पार्टनरमा एभरेस्ट इन्जिनियरिङ कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी, इ-कमर्स पार्टनरमा दराज, राउण्ड पार्टनरमा महावीर इम्पेक्स, र मेडिकल पार्टनरमा काठमाडौँ मोबिलिटी हस्पिटल रहेका छन्। साथै, लजिस्टिक्स पार्टनरमा एक्सप्रेस फ्रेट एण्ड लजिस्टिक्स, मिडिया पार्टनरमा डिजिटल नेपाल, ब्रोडकास्ट पार्टनरमा नेपाल टेलिभिजन, म्यानेजमेन्ट पार्टनरमा इभेन्ट ग्यारेज र सेक्युरिटी पार्टनरमा जी४एस सेक्युरिटी सर्भिसेजले सहकार्य गरेका छन्।
नेपालमा सवारी साधनको व्यापार, पूर्वाधार विकास, प्राविधिक अभ्यास र नीतिगत सुधारलाई एकै ठाउँमा ल्याएर अटो क्षेत्रको सर्वाङ्गीण विकासमा यो एक्सपो ऐतिहासिक कोशेढुङ्गा साबित हुने आयोजकको दृढ विश्वास छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि