• आइतबार, ३१ साउन २०८३
  • यात्रुसँगको कुराकानी र अपशब्द प्रयोग गरी भिडियो बनाउने राइडरलाई प्रहरीको चेतावनी

    यात्रुसँगको कुराकानी र अपशब्द प्रयोग गरी भिडियो बनाउने राइडरलाई प्रहरीको चेतावनी

    सबलनेपाल संवाददाता
    बैशाख १० २०८३, बिहिबार

    काठमाडौँ — जिल्ला प्रहरी परिसर काठमाडौंले राइड शेयरिङका क्रममा सेवाग्राहीको गोपनीयता भंग गर्ने र अमर्यादित भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीले आज एक सूचना जारी गर्दै यस्ता भिडियो तथा भ्लगहरू तुरुन्त हटाउन निर्देशन दिएको छ।

    पछिल्लो समय केही राइडरहरूले राइड शेयरिङका क्रममा यात्रुसँग भएका व्यक्तिगत कुराकानी रेकर्ड गर्ने, अपशब्द प्रयोग गर्ने र ती दृश्यहरूलाई भ्लगको रूपमा युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति बढेको पाइएको छ। यस्ता कार्यले यात्रुको गोपनीयताको हक हनन हुनुका साथै सामाजिक सद्भाव र मर्यादामा समेत आँच पुगेको प्रहरीको ठहर छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेवाग्राहीसँगको व्यक्तिगत कुराकानी र अमर्यादित व्यवहार समेटिएका भिडियोहरू सामाजिक सञ्जालमा राख्नु गैरकानुनी हो। यस्ता सामग्रीहरू तुरुन्त हटाउन र आगामी दिनमा यस्तो कार्य नगर्न सचेत गराइन्छ।”

    प्रहरीले यो चेतावनीको अवज्ञा गरी भिडियो नहटाउने वा निरन्तर यस्ता कार्यमा संलग्न हुनेहरूलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने समेत स्पष्ट पारेको छ। यात्रुहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्नका लागि यस्तो कदम चालिएको प्रहरीले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij