• बुधबार, ३१ भाद्र २०८३
  • विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो, विश्वका १९८२औँ धनी व्यक्ति

    विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो, विश्वका १९८२औँ धनी व्यक्ति

    सबलनेपाल संवाददाता
    फाल्गुन २७ २०८२, बुधबार

    काठमाडौं,  नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको कुल सम्पत्ति करिब २ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ। अमेरिकी पत्रिका फोर्ब्स ले सार्वजनिक गरेको विश्व अर्बपतिको सूची अनुसार उनी विश्वका १९८२औँ धनी व्यक्ति बनेका छन्।

    फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति नेपाली रुपैयाँमा करिब ३ खर्ब २ अर्ब पुगेको छ। एक वर्षअघिको तुलनामा उनको सम्पत्ति करिब १० करोड अमेरिकी डलरले वृद्धि भएको हो।

    सन् २०२५ मा चौधरी विश्वका १७६३औँ धनी व्यक्ति थिए। त्यसबेला उनको सम्पत्ति करिब २ अर्ब डलर रहेको फोर्ब्सले जनाएको थियो। पछिल्लो वर्ष उनको सम्पत्ति बढे पनि विश्व वरियतामा भने केही तल झरेका छन्।

    दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका मुलुकमध्ये भारतीय अर्बपतिहरू बाहेक नेपालबाट अर्बपतिको सूचीमा पर्ने एकमात्र व्यक्ति चौधरी हुन्। सार्कका अन्य सदस्य राष्ट्रका कुनै पनि व्यवसायी हाल फोर्ब्सको अर्बपतिको सूचीमा समावेश छैनन्।

    यसअघि सन् २०१९ मा चौधरी विश्वका १३४९औँ धनी व्यक्ति थिए। कोभिड–१९ महामारीका क्रममा उनको सम्पत्तिमा केही गिरावट आएको थियो। पछिल्ला वर्षहरूमा भने उनले आफ्नो व्यवसाय विस्तार गर्दै सम्पत्तिमा पुनः वृद्धि गर्न सफल भएका छन्।

    फोर्ब्सको अर्बपतिको सूचीमा यस वर्ष पनि अमेरिकी उद्यमी एलन मस्क पहिलो स्थानमा रहेका छन्। त्यसैगरी प्रविधि तथा अन्य क्षेत्रका धनी व्यक्तिहरूमा अमेरिकाका ल्यारी पेज लगायतका अर्बपतिहरू शीर्ष स्थानमा रहेका छन्।

    फोर्ब्सका अनुसार विश्वका अर्बपतिहरूको ठूलो हिस्सा अमेरिका, चीन र भारत जस्ता मुलुकबाट रहेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij