• बुधबार, ३१ भाद्र २०८३
  • निजी सम्पत्तीमाथि भएको आगजनी र तोडफोडले राेजगारीमा असर परेकाे छः ढकाल

    निजी सम्पत्तीमाथि भएको आगजनी र तोडफोडले राेजगारीमा असर परेकाे छः ढकाल

    सबलनेपाल संवाददाता
    असोज ४ २०८२, शनिबार

    लगानीको वातावरण बिग्रन नदिऔं ः अध्यक्ष ढकाल

    काठमाण्डौं ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन आग्रह गरेका छन् ।

    भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा आागजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको निरिक्षण गर्दै उनले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै सरोकारवाला सबैलाई गम्भीर हुन आग्रह गरेका हुन् ।

    उनले जेएनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट देशैभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यीक्तको निजी सम्पत्तीमाथि भएको आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन र रोजगारीमा असर परेको बताए ।

    नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाहरूले दीर्घकालीन असर पार्ने अध्यक्ष ढकालले बताए । ‘नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ । यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दलहरू र सरोकारवालाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु । ’ अध्यक्ष ढकालले भने ।

    अध्यक्ष ढकालले नेपालका वैदेशिक लगानी भित्र्याउन तथा आन्तरिक लगानी प्रर्वद्धन गर्न महासंघले निरन्तर पहल गरेपनि यस्ता घटनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै क्षेत्रमा नकारात्मक सन्देश जाने धारणा राखे ।

    नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा निजी क्षेत्रले ८६ प्रतिशत भन्दा बढि योगदान दिएको अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीहरूको शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उहाँले बताउनु भयो । उहाँले यो घटनाले सरकारको समेत राजस्व समेत गुम्ने अवस्था आएको बताए ।

    महासंघका अध्यक्ष ढकाल सहित उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ कोषाध्यक्ष भरतराज आचार्य र केन्द्रीय सदस्यहरु सैलेन्द्र गुरागाई, डा।राशरण थपलिया, पशुपतिदेव पाण्डे र कमला श्रेष्ठ लगायतले क्षतिग्रस्त संरचनाहरुको निरिक्षण गर्दै आगजनीबाट भएको क्षतिबारे जानकारी लिएका थिए ।

    महासंघले यस अघि अर्थमन्त्री तथा गृहमन्त्रीसंग भेट गरेर निजी क्षेत्रले अझै पनि शान्ति सुरक्षाको अनुभूति गर्न नसकिरहेकोले सो को प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्ती माथी भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूमाथि कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । महासंघले निजी क्षेत्रको संरक्षण, सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गर्दै आएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij