नगरकोट, भक्तपुर —नगरकोटको उकालो बाटो जस्तै उनका जीवनका पाइलाहरु पनि कहिले उकालो, कहिले ओरालो भए। तर त्यो यात्रा थालिएको थियो सानो चिया पसलबाट, जहाँ प्रतिगिलास पाँच रुपैयाँ चिया बेचेर उनले भविष्यको सपना देख्न थालेकी थिइन्। त्यो सपना सजिलो थिएन, त्यो बाटो पर्खालजस्तो अग्लो चुनौतिहरुले घेरेको थियो। १२ वर्षको नाजुक उमेरमै आमाबाबा गुमाएकी, बाल्यकालमै जीवनका तीतामीठा अनुभूति चाख्न बाध्य भएकी रेनु तामाङले बाँच्नका लागि लड्नैपर्ने परिस्थितिबाट आफूलाई बलियो बनाउँदै लगिन्। कहिलेकाहीँ एउटा चिया पसल पनि भविष्यको विशाल सपना बोक्ने मञ्च बन्न सक्छ। र, त्यो सपना तब पूरा हुन्छ, जब त्यो चियामा पसिनाको स्वाद मिसिन्छ, आँसुलाई मुस्कानले ढाकिन्छ र आत्मबलको चुस्की हर बिहान जीवनमा हालिन्छ। भन्ने कुराको गतिलो उदाहरण हुन् महिला पर्यटन उद्यमी रेनु तामाङ।


रेणु तामाङको जीवन यही चुस्कीले भरिएको हो। सानो चिया पसलबाट सुरू गरेर आज नगरकोटजस्तो पर्यटकीय गन्तव्यमा उनले “बर्गहाउस क्याफे एण्ड होटल” स्थापना गरिसकेकी छन्। सधैँजसो शान्त र हरियालीले ढाकिएको नगरकोटमा, रेनुको यो होटल केवल व्यवसाय मात्रै होइन—यो ती सपना, संघर्ष र न्यानोपनको थलो हो, जुन उनले सिङ्गो जीवन साटेर बनाएकी हुन्।
रेणुको बाल्यकाल खासै सहज थिएन। काठमाडौंमा जन्मिए पनि उनले १२ वर्षको उमेरमै आफ्ना बुबा-आमा गुमाइन्। त्यो उमेर जहाँ बच्चाले हात समाइदिने अभिभावक खोज्दछ, त्यही बेला उनले जीवनसँग साक्षात्कार गरिन्—कठिन, चिसो र निस्सङ्ग। न पढाइका भरपुर अवसर थिए, न साथ दिने परिवारको थाती। उनी भन्छिन्, “त्यो समय सम्झिँदा अझै पनि मन भक्कानिन्छ, तर त्यही दुःखहरूले मलाई अगाडि बढ्ने हिम्मत पनि दिए।”
१८ वर्षको उमेरमा मागी विवाह भयो र नगरकोट आइन्। यहाँको चिसो हावा र हरियालीभन्दा बढी चिसो थियो जीवनको बाटो। श्रीमान् सँगै एक सानो चिया पसल चलाइन्। दिनभर पाहुनालाई चिया बेच्ने र राति सपनालाई ताक्ने। प्रति गिलास ५ रुपैयाँ लिने चिया पसलबाट सुरू भएको यात्रा आज करोडौंको होटलसम्म आइपुगेको छ। त्यो यात्रा केवल आर्थिक उन्नतिका लागि नभई आत्मसम्मान, आशा र आत्मविश्वासका लागि थियो।
“शुरुमा चिया मात्र बेचेको थिएँ, पछि त्यही चिया पसल रेस्टुरेन्टमा बदलियो, अनि त्यसैलाई होटेलको रूपमा विस्तार गरें,” उनी गर्वका साथ भन्छिन्। एक्काइसौँ शताब्दीको यो दौडमा, जहाँ थुप्रै योजना र लगानी पनि असफल हुन्छन्, रेणु तामाङको कथा उल्टो छ—थोरै लगानी तर धेरै मिहिनेत, थोरै शिक्षा तर अपार व्यवहारिक बुद्धि। रेणुका अनुसार, व्यवसाय भनेको केवल पैसा कमाउने साधन होइन—यो त आत्मबलको परीक्षा हो। त्यो आत्मबल उनले लकडाउनको पीडादायक समयमै अझ बढी अनुभूत गरिन्। “त्यो बेला त व्यवसाय बन्द गर्ने सोच पनि आयो, तर मन बुझाएँ—धैर्य गर, समय फेरिन्छ। अन्ततः फेरियो पनि,” उनी मुस्कुराउँछिन्।

आज उनको होटल नगरकोटका उत्कृष्ट गन्तव्यहरूमध्ये एक हो। अर्गानिक खाना, गाउँका बासमती चामल र स्थानीय परिकार उनका गेस्टको रोजाइ बनेका छन्। पाहुनाहरू सन्तुष्ट छन्—किनभने यहाँ स्वाद मात्र होइन, मनले सेवा गर्ने भावना मिसिएको छ। उनी भन्छिन्, “पर्यटकहरू सस्तोमा राम्रो सेवा खोज्छन्, र म त्यही दिन चाहन्छु। त्यसैले त होटल सधैं भरिभराउ नै हुन्छ।”
उनी सम्झन्छिन्, एकजना अमेरिकी पाहुना होटलमा बसेका थिए।
फर्कँदा छोरीको पढाइका लागि भन्दै ५०० डलर टिप्स दिए। “त्यो पल मेरो जीवनको सबैभन्दा भावुक क्षण थियो। कहिल्यै बिर्सिन सक्दिन,” उनी भनिन्। आज उनका दुई छोरी छन्—एक छोरी अष्ट्रेलिया पढ्न गएकी छिन्, अर्की छोरी एसईई सकेर आमासँगै होटलमा काम गरिरहेकी छन्। रेनु भन्छिन्, “यही व्यवसायले मेरा छोरीहरूको भविष्य बनायो, घर चलायो, र परिवारलाई एक ढिक्का बनायो।” उनीहरूको संयुक्त परिवारका सात सदस्य सँगसँगै व्यवसायमा समर्पित छन्। त्यसैमा दुई जना बाह्य कर्मचारी पनि छन्—अझ दुई परिवारहरू पनि यही व्यवसायले पालिरहेको छ।
रेणुको कथामा आँसु पनि छन्, मुस्कान पनि। दुःखका दिनहरू छन्, तर हार छैन। उनी भन्छिन्, “जीवनमा आत्मविश्वास नै सबैभन्दा ठूलो कुरा हो। महिला भएर कहिल्यै लाज मान्नुपर्दैन। मेहनत गर्यो भने एकदिन अवश्य सफल भइन्छ। मलाई त लाग्छ दुःखपछि आउने सुख नै मिठो हुन्छ।” उनको चिया पसल, रेस्टुरेन्ट हुँदै होटेल बन्ने यो यात्रा, र त्यसमाथि परिवारको साथ, पाहुनाको माया र जीवनसँगको असल सम्बन्ध—यी सबै मिलेर रेनु तामाङ आज नगरकोटका एक प्रेरणादायी महिला उद्यमी बनेकी छिन्।
नगरकोटकी सफल महिला उद्यमी रेनु तामाङ आफूजस्तै सपना देख्ने र संघर्ष गरिरहेकी महिलाहरूका लागि सजीव प्रेरणाको स्रोत हुन्। उनले अनुभवका आधारमा भन्न चाहन्छिन्—महिला भएर पनि आत्मबल र आँट भए पछि संसार जित्न सकिन्छ।
उनी भन्छिन्, “हामी महिलाहरूले धेरैचोटि डराउँछौं, लाज मान्छौं, र सुरु नै गर्न हिच्किचाउँछौं। तर एउटा कुरा बुझ्नुपर्छ—सपना देख्नुअघि ठूलो हुनुपर्दैन, सपना देखेर अघि बढ्नुपर्छ। मेरो पनि सुरु सानो चिया पसलबाट भएको थियो, तर त्यही सानो सुरुवात आज मेरो संसार बन्यो।”
महिला उद्यमीहरूलाई उनी आत्मविश्वास र धैर्य नै सबैभन्दा ठूलो पुँजी ठान्न आग्रह गर्छिन्। “सुरुमा अनेकन चुनौतीहरू आउँछन्—समाजको नजर, आर्थिक अभाव, परिवारको अपेक्षा—तर यी सबै पार गरेर अगाडि बढ्न सकिन्छ, यदि तपाईंले आफूमा भरोसा गर्न सक्नुभयो भने।”उनी भन्छिन्, “कुनै काम सानो हुँदैन, तपाईंको ईमानदार प्रयास नै ठूलो हो। लाज मान्नु हुँदैन। आफूले सुरु गरेको कामलाई माया गर्नुस्, अनि लगनशीलताका साथ दिनरात खटिनुस्, एक दिन तपाईं पनि सफलताको एउटा सुन्दर कथा बन्न सक्नुहुन्छ।”
उनको कथा एउटा सफल व्यापारको मात्र होइन, एउटा नारीको जीवन–संघर्षको सजीव दस्तावेज हो। जसले थुप्रै महिलाहरूलाई आफूभित्रको सामर्थ्य चिन्न र आफूलाई पुनः परिभाषित गर्न प्रेरणा दिनेछ। रेणु तामाङ—चिया बेच्ने एउटी महिलादेखि नगरकोटको सम्भावना सम्हाल्ने व्यवसायी बन्नेसम्मको जीवन यात्रा। एक कप चियाबाट सुरू भएको सपना, जुन आज सिङ्गो समाजका लागि एउटा सन्देश बनेको छ : “सपना ठूला हुनु पर्दैन, आँट ठुलो हुनु पर्छ।”
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग