• बुधबार, ३१ भाद्र २०८३
  • ग्लोबल कोडिङ प्रतिस्पर्धामा नेपाली विद्यार्थीलाई ऐतिहासिक सफलता

    ग्लोबल कोडिङ प्रतिस्पर्धामा नेपाली विद्यार्थीलाई ऐतिहासिक सफलता

    सबलनेपाल संवाददाता
    चैत्र १४ २०८१, बिहिबार

    काठमाडौं – दुरशिक्षा एजुकेशन नेटवर्कको आयोजना तथा डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेक इन्डियाको सहकार्यमा भएको ‘इन्टरनेसनल कोडिङ कम्पिटिसन २०२४’ मा नेपाली विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् । नेपालसहित भारत, हङकङ, मिडल इस्ट, यूके, अमेरिका, अष्ट्रेलिया लगायत देशका सहभागीबीच भएको प्रतिस्पर्धामा नेपालका स्कुले विद्यार्थीले उच्च प्रदर्शन गरेका हुन् ।

    नेपालबाट ग्लोबल प्रतिस्पर्धाका लागि ९ जना विद्यार्थी छनोट भएका थिए । यसअन्तर्गत, जुनियर ब्लक(आधारित कोडिङमा एक्सेल्सियर स्कुलका कक्षा ४ का विद्यार्थी विनायक पंगेनीले ग्लोबल दोस्रो स्थान हासिल गरे । त्यस्तै, सिनियर ब्लक(आधारित कोडिङमा मेरिडियन इन्टरनेसनल स्कुलका कक्षा ५ का विद्यार्थी श्रेयश खड्गीले ग्लोबल दोस्रो स्थान प्राप्त गरे । पाइथन कोडिङ विधामा हाई न्यू भिजन एकेडेमीका कक्षा ८ का विद्यार्थी कृष्ण रिजालले ग्लोबल पहिलो स्थान हासिल गर्दै नेपाललाई गौरवान्वित बनाए ।

    प्रतियोगितामा विजयी नेपाली विद्यार्थीहरूको सम्मानका लागि दूरशिक्षाले एक विशेष सम्मान समारोह आयोजना गर्ने भएको छ । कार्यक्रममा विद्यार्थीका अभिभावक, विद्यालयका प्रधानाध्यापक तथा अन्य विशेष अतिथिहरूलाई निमन्त्रणा गरिने दूरशिक्षा एजुकेशन नेटवर्कका प्रमुख कार्यकारी अधिकृत कृण्ण प्रसाद पाण्डेले जानकारी दिए ।

    ‘इन्टरनेशनल कोडिङ कम्पिटिसन २०२४’ का लागि नेपालमा डस्कभरी एजुकेसन यूके, एडुटेक इन्डियासँग सहकार्य गरी दूरशिक्षाले अनलाइन तथा भौतिक प्रतिस्पर्धा सञ्चालन गरेको थियो । उक्त कार्यक्रमका लागि ईन एसोसिएसन विथ पार्टनरमा आईसीटी फ्रेम रहेको थियो । ४०० भन्दा बढी विद्यार्थीले अनलाइनबाट परियोजना पठाएको उक्त प्रतियोगितामा भौतिक प्रतिस्पर्धाका लागि ८० जना छनोट भएका थिए । तीमध्ये ९ जना विद्यार्थी अन्तिम चरण अर्थात् ग्लोबल प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

    प्रतियोगितामा कक्षा २ देखि ४ सम्मका विद्यार्थीहरूले जुनियर ब्लक(आधारित कोडिङ, कक्षा ५ का विद्यार्थीहरूले सिनियर ब्लक(आधारित कोडिङ तथा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले पाइथन कोडिङ विधामा विभिन्न थिममा प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिताले सहभागीहरूलाई आफ्नो कोडिङ सीप सुधार्न र समस्याहरूको समाधान गर्ने कुशलता अभिवृद्धि गर्न मद्दत पुर्‍याएको दूरशिक्षाले जनाएको छ ।

    नेपालमा विद्यालय लक्षित विभिन्न आईटी तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको दूरशिक्षाले यो प्रतियोगिताले विद्यार्थीहरूको कोडिङ सीप सुधार्न, सिर्जनात्मक सोच अभिवृद्धि गर्न तथा समस्या समाधान गर्ने क्षमतामा निखार ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ । नेपालका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नु गौरवको विषय भएको भन्दै क्यान महासंघ नेपालकी अध्यक्ष सुनैना पाण्डेले खुशी व्यक्त गरिन् । डिजिटल युगका भावी नेतृत्वकर्ताहरूका रूपमा रहेका विद्यार्थीलाई उत्कृष्टताको खोजी गर्न र प्रत्येक अवसरलाई आत्मसात गर्न उनले प्रेरित गरिन् ।

    त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञ एवम् सीएसआरआई नेपालका अध्यक्ष डा। शालिग्राम पराजुलीले नेपालको सूचना प्रविधि क्षेत्रलाई अनुसन्धान र नवीनतामार्फत अघि बढाउन विद्यालय स्तरबाटै रचनात्मक कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिए । नेपालका बालबालिकालाई प्रविधि क्षेत्रमा प्रेरित गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने आईसीटी फ्रेम म्यागजिनकी अध्यक्ष मीना अर्याल बताउँछिन् । कोडिङ प्रतियोगिता एउटा प्रतिस्पर्धा मात्र नभई नेपालको भविष्यका प्रविधि नेतृत्वकर्ता निर्माण गर्ने आधार पनि रहेको उनले सुनाइन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij