• बुधबार, ३१ भाद्र २०८३
  • काठमाडौं टेक्निकल स्कुलको उद्घाटन दक्ष जनशक्ति उत्पादनमा आइएमई ग्रुपको नयाँ अभियान

    काठमाडौं टेक्निकल स्कुलको उद्घाटन दक्ष जनशक्ति उत्पादनमा आइएमई ग्रुपको नयाँ अभियान

    सबलनेपाल संवाददाता
    चैत्र १३ २०८१, बुधबार

    काठमाडौं – काठमाडौं टेक्निकल स्कुल ९केटीएस०को उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राविधिक शिक्षाको महत्वलाई जोड दिँदै नेपालमा दक्ष जनशक्ति उत्पादनको खाँचो रहेको बताए।

    उनले उद्घाटन कार्यक्रममा बोल्दै आइएमई ग्रुपले प्राविधिक शिक्षा र सीपमूलक तालिममा लगानी गर्दै एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको बताए। “नेपालमा बेरोजगारी र युवा पलायन ठूलो चुनौती बनेको छ। अबको समाधान भनेको सीपमूलक शिक्षा हो,” ढकालले भने।

    उनका अनुसार आइएमई ग्रुपले बैंकिङ, बीमा, जलविद्युत, उत्पादनमूलक उद्योग लगायतका क्षेत्रमा ठूला लगानी गर्दै २५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। अब यो अभियानलाई प्रविधि र सीप विकासतर्फ केन्द्रित गरिने उनको भनाइ थियो।

    नेपालमा प्राविधिक शिक्षाको माग बढ्दै गएकाले सरकारले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए। “अब डिग्री मात्र काफी छैन, सीप नै रोजगारी र उद्यमशीलताको प्रमुख आधार हो,” उनले थपे।

    केटीएसले तीन दर्जनभन्दा बढी रोजगारीमूलक तथा स्वरोजगारमूलक तालिम प्रदान गर्ने जनाएको छ। सीपयुक्त युवा तयार गर्नका लागि निजी क्षेत्रले सरकारसँग सहकार्य गर्नुपर्नेमा पनि ढकालले जोड दिए।

    नेपालबाट दैनिक हजारौं युवा रोजगारीका लागि विदेश जान बाध्य भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले दक्षता वृद्धि भए वैदेशिक रोजगारीको गुणस्तर वृद्धि हुने र स्वदेशमै अवसर सिर्जना गर्न सकिने धारणा राखे।

    उद्घाटन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विभिन्न सरकारी निकायका उच्च पदस्थ अधिकारी, उद्यमी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij