• बिहिबार, १ असोज २०८३
  • अनेरास्ववियु सचिव पदमा रेखा न्यौपानेको उम्मेदवारी, ‘विचारले समाज परिवर्तन हुन्छ’ भन्ने अडान

    अनेरास्ववियु सचिव पदमा रेखा न्यौपानेको उम्मेदवारी, ‘विचारले समाज परिवर्तन हुन्छ’ भन्ने अडान

    सबलनेपाल संवाददाता
    जेष्ठ २८ २०८२, बुधबार

    काठमाडौं –अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनिरहेको छ। यही क्रममा रेखा न्यौपानेले पनि केन्द्रिय सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

    लामो समयदेखि विद्यार्थी आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी न्यौपानेले महाधिवेशनका प्रतिनिधिहरूसँग समर्थनको अपील गरेकी छन्। उनले आफ्नो उम्मेदवारी घोषणामा विचारको स्थायित्व र संगठनको मजबूतीलाई जोड दिएकी छन्।

    उनले स्पष्ट रूपमा भनिन्,‘विप्लवले होइन, विचारले समाज परिवर्तन हुन्छ भन्ने अडान हो।’ विगतका आन्दोलनहरूमा अग्रपंक्तिमा रहँदै आएको स्मरण गराउँदै उनले अब सचिव पदमा पुगेर विचार, संगठन र समर्पणलाई अझ संस्थागत गर्दै अगाडि बढाउने अठोट व्यक्त गरिन्।

    रेखा न्यौपानेले प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनिन्,‘हिजोको आन्दोलनमा म थिएँ, आज पनि छु। भोलिको नेतृत्व तपाईँको साथमा हुनेछ, तर आज मत तपाईंले दिनु पर्नेछ।’

    उनले सचिव पद पाएको खण्डमा विचारधारालाई केन्द्रमा राखेर संगठन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भनिन्, ‘तपाईँको एक मतले विचारको लहरलाई सशक्त बनाउनेछ, र नेतृत्वमा स्पष्ट दिशा दिनेछ।’

    उनको उम्मेदवारीले अनेरास्ववियुमा नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र सुदृढ संगठन निर्माणको आशा पलाएको छ। महाधिवेशनको प्रतिनिधिहरूको मतले केवल नेतृत्व होइन, संगठनको भावी मार्गदर्शन पनि तय गर्ने अपेक्षा गरिएको छ।

    महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारीहरू घोषणाको सिलसिला तीव्र हुँदै गएको छ, र रेखा न्यौपानेको उम्मेदवारीले विचारप्रधान नेतृत्वको अपेक्षालाई नयाँ बहसमा ल्याएको छ।

     

     

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij